आज महाअष्टमी : धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदै

366

कार्तिक ८, डोटी ।
आज आश्विन शुक्ल अष्टमी अर्थात महाअष्टमी पर्व धार्मिक शक्तिपीठ तथा मठमन्दिरमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।
बडादशैंको आठौं दिन आज दशैंघर, कोत लगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने गरिन्छ ।
आजकै दिन राती कालरात्री पनि मनाइन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरमा पनि भीड लाग्ने गर्दछ । तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विधिपूजा मात्रै हुने जनाईएको छ ।
यस्तै डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको निङ्गलाशैनी, नुवाकोटको जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायत देशभरका विभिन्न शक्तिपीठमा पनि विशेष पुजाआजा गरी महाअष्टमी मनाईन्छ ।
महाष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा हुने विशेष कालरात्री पूजा यसपालि स्थगन गरिएको हनुमानढोका हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन छ ।

Leave A Reply

Your email address will not be published.