महिलाले हिंसा लुकाएर बस्दा बढी समस्या

मंसिर २१, डोटी ।
महिलाहरुले हिंसा सहेर र लुकाएर बस्दा झन बढी समस्या रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
एनएनडिएसडब्ल्युओ र मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीको सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ डोटीको आयोजनामा सम्पन्न महिला समूह तथा आमा समूहसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै वडा नं. ६ मै रहेको शैलेश्वरी आमा समूह सदस्य लता जोशीले आफुलाई भईरहेको हिंसाबारे महिलाहरु मौन बस्दा झन समस्या भएको बताईन् । महिलाहरुले आफ्नै श्रीमानबाट अनिच्छित शारीरिक सम्पर्क हुने, अनिच्छित गर्भ बोक्नुपर्ने, भ्रुण हत्या गर्नुपर्ने, घरायसी कामको बोझ सहनुपर्ने, छोरा पाउने आशमा निरन्तर सन्तान जन्माउनुपर्ने, भन्ने बोल्ने महिलालाई समाजले नराम्रो दृष्टिले हेर्ने, छाउपडी लगाएतका समस्याहरु सहेर बस्ने गरेको उनले बताईन् ।
त्यस्तै महिलाहरुले आफु र समाजमा रहेका समस्याहरु बाहिर ल्याउन अप्ठ्यारो मान्ने गरेकाले भित्रभित्रै हिंसा लुकेर रहेको तेडीमाण्डौ स्वास्थ्य आमा समूहका चन्द्रा मलासीले बताईन् ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमूख सानुमाया लिम्बुले हिंसा न्युनिकरणका लागि कानुनी व्यवस्था गरिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताईन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष दीपा श्रेष्ठले विगतको तुलनामा हिंसाका घटना कम भएको र आगामी दिनमा पनि आफुहरुले खेल्ने भूमिकाका लागि प्रतिबद्धता व्यक्त गरिन् ।
त्यस्तै मानव अधिकारका लागि महिला एकल महिला समूह डोटी अध्यक्ष सरिता श्रेष्ठले हिंसाका घटनाहरु पूर्ण अन्त्य हुन नसके पनि न्युनिकरण गर्दै जानुपर्ने बताईन् ।
शिखर नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमूख गुरुङ सम्मानित
यसैबिच सोहि कार्यक्रममा डोटीको शिखर नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमूख सुमित्रा गुरुङ सम्मानित भएकी छन् ।
एकल महिला भएर पनि आयोग पास गरी शाखा प्रमूख बन्न सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो । उनलाई मानव अधिकारका लागि महिला एकल महिला समूह डोटी अध्यक्ष सरिता श्रेष्ठले दोसल्ला ओढाएर सम्मानित गरिन् । वि.सं. २०७१ सालमा श्रीमान गुमाएकी २८ वर्षीया गुरुङले गत वर्ष आयोग पास गरी अहिले शिखर नगरपालिका, महिला तथा बालबालिका शाखा प्रमूखको जिम्मेवारी सम्हालेकी छन् । सम्मानित भईसकेपछि प्रतिक्रिया दिंदै उनले महिला भएर जन्मनु नै झनै संघर्ष गर्नु परेता पनि आफुलाई घरपरिवारबाट प्राप्त सहयोगले यो स्थानमा पुगेको भन्दै सम्मान गर्नेप्रति धन्यवाद व्यक्त गरिन् ।