बाल विवाह रोकिएकी गंगा अहिले ‘सामाजिक अभियन्ता’

356

मंसिर २२, डोटी ।
डोटीको शिखर नगरपालिका वडा नं. २ मुडेगाउँमा गंगा पार्की अहिले सबैले चिन्ने नामभित्र पर्दछ । भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसइइ) पास गरेकी उनलाई गाउँमा सामाजिक अभियन्ताकै रुपमा सबैले चिन्दछन् ।
उमेरले वर्ष १८ कि गंगाको जीवन कथा फरक छ । वि.सं. २०७४ सालमा उनि कक्षा ८ मा पढ्दै थिइन् । त्यतिबेला उनि १५ वर्षकी थिइन् । यति सानै उमेरमा उनलाई विवाहका लागि माग्न भनी डडेल्धुराबाट मानिस आएका थिए । घर परिवारले उनको विहे गर्ने तयारी गर्दै गरेको उनलाई थाहा थिएन । उनले आफ्नो विहे हुन लागेको कुरा गाउँकै साथिहरुबाट सुनिन् । भन्छिन्–‘मेरो विवाह हुने अरे, त्यो पनि साथिहरुबाट मैले थाहा पाउनुपर्ने ?’
यो कुरा सुनेर आफु निकै चिन्तित बनेको उनले सुनाईन् । आफुले बिहे नगर्ने भनेर उनले आफ्ना आमा(बुबालाई आग्रह गरिन् तर आमा(बुबाले उनको कुरा मान्दै मानेनन् । उनले आफ्नो विवाह गर्ने भएमा आत्महत्या गरिदिने आमा–बुबालाई भनिन् । र पनि उनकी आमाको एकोहोरी ढिपीका कारण गंगाको विहेको कुरा चल्यो । जन्मदिने आमा–बुबाको योजनाका सामु उनी निरिह बनिन् ।
त्यो समयमा उनि एक्शन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले सञ्चालन गरिरहेको स्थानीय अधिकार कार्यक्रम अन्तरगत गठन गरेको परिवर्तनशील किशोरी समूहमा आवद्ध थिइन् । त्यति मात्रै नभएर उक्त किशोरी समूहको संयोजक पनि आफै थिइन् ।
१५ वर्षकै उमेरमा र पढ्दापढ्दै आमा–बुबाले आफ्नो विहे गरिदिन लागेको कुरा सो किशोरी समूहमा छलफलमा राखिन् । उनि सहित किशोरी समूहका १३ सदस्यहरु मिलेर उनको विवाह रोक्न उनको घरमा गएर उनका आमा–बुबालाई इच्छा विपरित र उमेर नपुग्दै विवाह नगर्न दवाव दिए । गंगाले किशोरी समूहमा खबर गर्दा मात्रै यति धेरै मानिसहरु आफ्नो पक्षमा आएको र घरपरिवारले नमाने प्रहरीमा केश गरेर धेरै मानिसहरु ल्याउने घरपरिवारलाई चेतावनी पनि दिइन् ।
यसका साथै आफ्नो पढाई बिग्रने, विहे गरेपछि कलिलै उमेरमा सन्तान जन्माउनुपर्ने भएका कारण स्वास्थ्यमा समस्या आउने, आर्थिक समस्या झेल्नुपर्ने विषयमा सम्झाईबुझाई गरिन् । यति गर्दा पनि आमा–बुबाले कलिलो उमेरमा छोरीको विहे गरिदिएमा पुण्य कमाईने र स्वर्गबास हुने अन्धविश्वासका कुरा सुनाए । उनले त्यसपछि अब आफ्नो आत्महत्या गरी मर्नुको विकल्प नभएको घरपरिवारलाई बताएपछि हुनै लागेको उनको विवाह रोकियो ।
त्यसपछि उनले एसइइसम्म आफ्नो जन्मघरमै पढेकी छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण पढाई रोकिएको भए पनि अब उनको नेपाली विषयमा उच्च शिक्षा हासिल गर्ने धोको छ । टाढा र सुविधा सम्पन्न ठाउँमा गएर पढ्न नसके पनि गाउँमै रहेको महाकाली उच्च माध्यमिक विद्यालयमा पढ्ने उनि बताउँछिन् । सानै उमेरमा आफ्नो विवाह भैदिएको भए अहिले मेरो हालत के हुन्थ्यो होला भन्दै उनि भावुक बन्छिन् । अहिले उनीसँगै उनले नेतृत्व गरेको परिवर्तनशील किशोरी समूहले बाल विवाह, बहु विवाह, छाउपडी प्रथा, महिला हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक सवालमा सडक नाटक, साँस्कृतिक कार्यक्रम, घरदैलो अभियान लगाएतका काम गर्दै आएको छ ।
किशोरी समूहमा पनि नियमित बैठक बसेर यस्तै सामाजिक विषयमा उनिहरु छलफल गर्ने गर्दछन् । उनिहरुले सञ्चालन गरेका अभियानबाट गाउँमा सकारात्मक प्रभाव परेको शिखर नगरपालिका वडा नं. २ मुडेगाउँका वडा अध्यक्ष ऋषिराज जोशी बताउँछन् । किशोरी समूहलाई अहिले पनि आफुहरुले सहयोग गरिरहेको इडिसीका सामाजिक परिचालक शेर बहादुर भुलले बताए ।
आफु एक्लैले अठोट गरेर हुनै लागेको विवाह रोक्न सफल भएकोमा ‘आँट गरे सम्भव छ’ भन्ने भनाईलाई चरितार्थ पेश गरिदिएकी छन् गंगाले । समाजमा अन्याय, हिंसा, अत्याचार, शोषण, दमन कसैले पनि सहेर नबस्न उनि सबैलाई अपील गर्छिन् ।
सम विकास केन्द्र नेपालले आफुलाई किशोरी समूहमा आबद्ध गराई भन्न बोल्न सक्ने बनाएकोमा र हुनै लागेको बाल विवाह रोकिएकोमा धन्यवाद दिंदै आफ्नो भोगाईलाई अरुले पनि सिकाईका रुपमा लिन गंगाको सबैमा अनुरोध पनि छ ।

Leave A Reply

Your email address will not be published.