भागरथी हत्याका अभियुक्तको बयानः घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरे
फाल्गुन ५, बैतडी ।
गत माघ २१ गते बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका किशोरले घरायसी रिसिबीका कारण बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।
भागरथीले अध्ययन गर्ने दोगडाकेदारको सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने १७ वर्षकै भट्ट थरका ती अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा भागरथी र आफ्नो परिवारबीच पहिलेदेखि घरायसी रिसिबी भएकोले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बताएका हुन् ।
भागरथीको हत्या गर्ने आफ्नो एकल योजना पहिल्यैदेखि रहेको उल्लेख गर्दै उचित मौकाको पर्खाइमा बसेको समेत ती युवाले प्रहरी समक्ष बताएको जनाइएको छ ।
भागरथी र उनी छिमेकी समेत हुन् । बलात्कार र हत्या स्विकार्ने ती अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनलाई मंगलबार राति नै खोचलेक प्रहरी चौकीबाट जिल्लामा ल्याइएको प्रहरीले जनाएको छ।
बुधबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गर्ने प्रहरीको तयारी छ।विद्यालयबाट घर फर्किने क्रममा माघ २१ गते बेपत्ता भएकी भागरथीको शव भोलीपल्ट माघ २२ गते हत्या गरेको अवस्थामा स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो।
घटनाको अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी आफै घटनाको अनुुसन्धानमा खटिएका थिए । अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । दर्जनौं व्यक्तिमाथी अनुसन्धान गरेको प्रहरीले ती अभियुक्तलाई यसपूर्व सामान्य सोधपुछ गरेर छोडेको थियो । ति युवा भागरथीको हत्याराको खोजी गर्न विद्यार्थीहरुले गर्दै आएको आन्दोलनमा समेत सहभागी हुने गरेको खुल्न आएको छ ।