सुदूरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा गौरा पर्वको शुभकामना व्यक्त
भाद्र १०, कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिमेलीहरुको मौलिक, धार्मिक, साँस्कृतिक पहिचान बोकेको गौरा पर्वको बुधबार शुभकामना प्रदान गरेका छन् ।
गौरा पर्वको अवसरमा आज मुख्य दिन अर्थात अठ्याबाली पर्वका दिन शुभकामना सन्देश सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले यस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गरोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना वक्तव्यमा मुख्यमन्त्री भट्टले भनेका छन् –‘हाम्रो प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहु साँस्कृतिक विशेषताको अनुपम संगम स्थल हो । परापूर्व कालदेखि मनाउँदै आएको गौरा पर्व यस प्रदेशको विशिष्ट पहिचान समेत हो ।’
देश विदेशमा रहेका सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिंदै उनले सदीयौंदेखि मनाउँदैआएको यो पर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको जनाएका छन् ।
अहिले कोरोना भाइरसबाट उत्पन्न जटिल परिस्थितिमा स्वास्थ्य सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई गौरा पर्वलाई खुशीयालीकासाथ मनाउनु हुनेछ भन्ने बिश्वास लिएको मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
गौरा पर्वका अवसरमा संघीय सरकारले आज बुधबार गौरा मनाईने क्षेत्रमा सार्वजनिक विदा दिएको छ ।