‘छोरी दिंदा र पैंसा लगानी दिंदा ध्यान दिनुपर्छ’ – उपाध्यक्ष बोहरा

627

भाद्र ४, डोटी ।
छोरी पराई घर दिंदा ध्यान दिनु र वित्तीय संस्थाले पैंसा ऋण लगानी गर्दा ध्यान दिनु उत्तिकै महत्त्वपूर्ण भएको नेपाल लघुवित्त बैंकर्स एशोशिएशनका केन्द्रीय उपाध्यक्ष मीन बहादुर बोहराले बताएका छन् ।
लघुवित्त कर्मचारी मञ्च डोटीले दिपायलस्थित घटाल होटलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बाग्लुङका प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यक्ष बोहराले यस्तो बताएका हुन् ।
देशभरका ६६ वटा लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स एशोशिएशनका केन्द्रीय उपाध्यक्ष बोहराले कुनै पनि लघुवित्त संस्थाले गरेको लगानी डुब्ने अवस्था देखिएमा प्रक्रियागत ढंगले कानुनी उपचार खोज्नुपर्नेमा जोड दिए ।
डोटीको बडिकेदार गाउँपालिका १ रिसेडीमा जन्मिएका सिईओ बोहराले कार्यक्रममा सहभागीले उठाएका जिज्ञासा तथा गुनासो बारे प्रष्ट पारेका थिए ।
विशेषत: लघुवित्तको लगानी विभिन्न ठाउँमा फसेको गुनासो आए पनि अवस्था हेरेर कानुनी कठ्घरामा उभ्याउनु पर्ने उनको जोड थियो ।
लघुवित्तीय क्षेत्रमा काम गर्ने व्यक्तिहरुले आफ्नो जागीर मात्रै नसम्झिएर यसलाई साझा अभियानको रूपमा लिदै अगाडि बढ्न बोहराले सबैलाई सुझाव दिए ।
खासगरी लघुवित्त क्षेत्रमा काम गर्ने कर्मचारीहरुबाट आउने गरेको गुनासो बैंक र वित्तीय कर्मचारी बिचको विभेदबारे स्पष्ट पार्दै लघुवित्तीय क्षेत्र नेपाल राष्ट्र बैंकको अनुमति प्राप्त बैंक नै भएकाले निर्धक्क ढंगले जिम्मेवार भएर काम गर्न सहभागी सबैलाई उनलेे जोड दिए ।
कार्यक्रममा बोल्दै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सिलगढी डोटीका शाखा प्रवन्धक एवं अन्तरक्रिया कार्यक्रमका अध्यक्ष मान बहादुर भण्डारीले समाजमा कमर्सियल बैङ्क र लघुवित्तलाई हेर्ने दृष्टिकोण फरक रहेकोे गुनासो सुनाए ।
कार्यक्रमका सहभागीले विशेशत: लघुवित्तको एउटै कार्यक्षेत्र भएर डुप्लिकेशन वा दोहोरोपना भएको, समुदायमा कसरी ऋण लगानी गर्ने र असुली कसरी गर्ने बारे कानुनी र नीतिगत प्रावधानमा समस्या रहेको, कर्मचारीले एकातिर लक्ष्य पूरा गर्नुपर्ने बाध्यता र अर्कोतिर समाजको बुझाई र परिस्थिति फरक रहेको, ऋण लिनेे व्यक्तिलाई अन्तिम कार्वाही के गर्ने भन्नेबारे अलमल रहेको लगायतका समस्या रहेका बताएका थिए ।
सहभागीका जिज्ञासा र सुझाव बारे कार्यक्रममा बोल्दै लघुवित्त क्षेत्रका अगुवा एवं लघुवित्त कर्मचारी मञ्च डोटीका अध्यक्ष भण्डारीले लघुवित्त क्षेत्रका समस्याका बारेमा आफुहरु सांगठनिक रूपमा संघर्ष गर्ने प्रतिवद्धता जनाए ।
यसैबीच आजै लघुवित्त कर्मचारी मञ्च डोटीको तदर्थ कार्यसमितिले पनि पूर्णता पाएको छ ।
जसको उपाध्यक्षमा चेतमान बोहरा, सचीवमा टंक ढुंगाना, कोषाध्यक्षमा इश्वरी भण्डारी र सदस्यहरुमा चन्द्रकला कुमारी खड्का, राम सिं बोहरा र चन्द्र प्रकाश माल चयन भएका छन् ।
उक्त कार्यक्रममा डोटीमा क्रियाशील विभिन्न १२ वटा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु सहभागी रहेका थिए ।

Leave A Reply

Your email address will not be published.