डोटीका सरकारी कार्यालय समेत तिर्दैनन् खानेपानी महशुल, सिलगढी खानेपानीको झण्डै ३२ लाख बक्यौता रकम उठ्न बाँकी
असोज १२, डोटी ।
डोटीमा केहि प्रमूख सरकारी कार्यालयहरुले नै खानेपानीको महशुल नतिर्ने गरेको पाईएको छ ।
जिल्ला सदरमुकाम सिलगढीमा सञ्चालित सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ग्राहक बनेर खानेपानी उपभोग गरिरहेका सरकारीदेखि व्यक्तिगत ग्राहकसम्म हेर्दा झण्डै ३२ लाख रकम खानेपानी महशुल वक्यौता रहेको पाईएको हो ।
सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयले नजर अनलाईनलाई उपलब्ध गराएको विवरण अनुसार सरकारी र सँस्थागत वक्यौता महशुल २० लाख ४१ हजार ७४७ रुपैंयाँ ३५ पैंसा र व्यक्तिगततर्फ ११ लाख ४९ हजार १८२ रुपैंयाँ ५२ पैंसा गरी जम्मा ३१ लाख ९० हजार ९२९ रुपैंया ८७ पैंसा वक्यौता रकम उठ्न बाँकी रहेको छ ।
सरकारी र सँस्थागततर्फका ५ हजार रुपैंयाँभन्दा माथि महशुल वक्यौता रहेका कार्यालयहरु ३० वटा रहेका छन् भने व्यक्तिगततर्फका १ हजार रुपैंयाँभन्दा माथि महशुल वक्यौता रहेका १२७ ग्राहकहरु रहेको सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।

सरकारी र सँस्थागततर्फका ५ हजार रुपैंयाँभन्दा कम महशुल वक्यौता रहेका र व्यक्तिगततर्फका १ हजार रुपैंयाँभन्दा कम महशुल वक्यौता रहेका ग्राहकहरुको समेत वक्यौता रकम जोड्ने हो भने अँझै धेरै महशुल रकम वक्यौता रहेको उक्त कार्यालयका कर्मचारी सुजित खड्काले बताए ।
वि.सं. २०७८ चैत्र २२ गते निर्वाचित सिलगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १५० दिनको अवधीमा गरेका काम, तिनको उपलब्धि र आगामी योजनाबारे बुधबार पत्रकार सम्मेलन पनि आयोजना गरेको छ । उक्त पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष जगत बहादुर खड्काले समितिको कार्यालय प्रमूखदेखि अन्य सबै पदमा कार्यरत १४ जना कर्मचारीहरु करार र ज्यालादारीमा काम गरिरहेको तर व्यक्तिगत र सरकारी ग्राहक समेतले महशुल नबुझाउँदा प्रशासनिक खर्च व्यवस्थापनमा नै समस्या भएको बताए ।

अरुलाई सुशासनको पाठ सिकाउनुपर्ने सरकारी कार्यालयहरु, सामाजिक संघसँस्थाहरु र व्यक्तिहरुले समेत खानेपानी उपभोग गरेवाफतको महशुल नतिर्नु दुःखद भएको उक्त समितिका सदस्य देवेन्द्र गुरुङ्ले बताए ।
समयमै महशुल नबुझाउने ग्राहकहरुका लागि समितिको नियम अनुसार समय अवधीका आधारमा जरिवानाको समेत व्यवस्था रहेकाले महशुल तिर्न जति ढिला गर्यो दिनानु दिन थपिंदै जाने उक्त समितिका कार्यालय प्रमूख रामचन्द्र धामीले बताए । महशुल वक्यौता रहेका ग्राहकहरुबाट अशुली गर्न कार्यालयबाट निरन्तर पहल भईरहेको र केहि ग्राहकले छिट्टै चुक्ता गर्ने तयारी रहेको पनि उनले बताए ।
कार्यक्रममा सहभागि पत्रकारहरुले आ–आफ्ना जिज्ञासा तथा सुझावहरु औंल्याएका थिए ।
वि.सं. २०१५ सालमा निर्माण भएको उक्त खानेपानी योजना अन्तरगत हाल सरकारी कार्यालय र सँस्थाका धारा संख्या ७०, व्यक्तिगत धारा संख्या ७६४ र सार्वजनिक धारा १२ गरी जम्मा उपभोक्ता धारा संख्या ८४६ रहेका छन् ।
