मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई शतप्रतिशत मत
माघ ४, डोटी ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएकाे छ ।
आज बुधवारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुई जना सदस्यकै मत प्राप्त गर्नुभएको हो । सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो ।
मुख्यमन्त्री यादवलाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने दश वटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन् । मधेश प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का दुई प्रदेश सभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेश सभामा अहिले एक सय पाँच सदस्य रहेका छन् ।
गएकाे पुस २७ गते मुख्यमन्त्रीको दाबी पेस गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकाेमा आजकाे बैठकमा यादवले उपस्थित सबै सदस्यको मत प्राप्त गर्नुभयो ।
एक सय सात सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का सात, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका एक/एक र चार जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् । – उज्यालो अनलाइनबाट