डोटीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड
माघ १३, डोटी ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई डडेल्धुरालाई डोटीमा कार्यक्षेत्र थप विस्तार गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।
उक्त कार्यालयले सिलगढीमा आयोजना गरेको स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट÷ब्लक विकास कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमूखिकरणका सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
डोटीमा जोरायल, बडिकेदार र बोगटान फुडसिल गाउँपालिकामा मसला बाली, फलफूल, तरकारी, पशुपालन लगाएतमा काम गर्दै आएको भए पनि अन्य पालिकाहरुमा पनि क्षेत्र विस्तार गरिनुपर्ने उनिहरुको जोड छ ।
सुन्तला पकेट क्षेत्रका रुपमा के.आई.सिंह गाउँपालिका र शिखर नगरपालिकामा पनि सेवा विस्तार गर्नुपर्ने तथा के.आई.सिंह गाउँपालिकाको वडा नम्बर ५, ६ र ७, दिपायल सिलगढी नगरपालिकाको वडा नं. १ देखि ५ सम्मका क्षेत्रमा तरकारी जोन वा सुपर जोनका रुपमा कार्यक्रम लागु गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमूख नरेन्द्र पनेरुले बताए ।
त्यस्तै जोरायल, बडिकेदार र बोगटान फुडसिल गाउँपालिकामा बाख्रा जोनका रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि सहभागिहरुले सुझाव दिएका छन् ।
यसैगरी आफु डोटीमा आएको ८ महिना पुग्दासम्म प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालयले बैठक समेत नराखेको भन्दै प्रमूख जिल्ला अधिकारी कल्पना श्रेष्ठले कम्तीमा तीन महिनामा बैठक राख्नुपर्ने सुझाइन् ।
उक्त कार्यालयले मसला बालीका क्षेत्रमा अदुवा प्रशोधन केन्द्र स्थापनासँगै अदुवा क्यान्डी जस्ता विशेष ब्राण्ड बनाएर बजार प्रवद्र्धन गर्ने खालका कार्यक्रम लागु गर्नुपर्ने पनि प्रजिअ श्रेष्ठले औंल्याईन् ।
कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका कार्यक्रमसँग डुप्लीकेशन (दोहोरोपना) नहुने गरी काम सञ्चालन गर्न पनि उनको सुझाव छ ।
कार्यक्रममा बोल्दै प्रमूख अतिथी एवं जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले कुनै पनि बाली विरुवा लगाउनु पूर्व माटो परिक्षण अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन् । साथै देशको विकासका लागि कृषि महत्वपूर्ण भएकाले विदेशीने युवाहरुलाई रोकेर स्वदेशमै आधुनिक तवरले कृषि कर्म गर्ने वातावरण सिर्जना गरिनुपर्ने पनि उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय डडेल्धुराका निमित्त बरिष्ठ कृषि अधिकृत ध्रुवराज जोशीले परियोजनाबारेमा संक्षिप्त प्रस्तुतीकरण पनि गरेका थिए ।
त्यस्तै सहभागिहरुबाट आएका सुझाव सल्लाहका आधारमा कार्य क्षेत्र विस्तार, निरन्तर समन्वय, अनुगमन, त्रैमासिक बैठक लगाएतमा आगामी कार्यक्रम तय गरिने अगाडी बढ्ने जोशीले प्रतिबद्धता पनि जनाएका छन् ।
शनिबारसम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा जिसस डोटी प्रमूख सिंह, प्रजिअ श्रेष्ठसँगै कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, परियोजना क्षेत्र लागु भएका स्थानीय तहका कृषि विकास शाखा, पशु सेवा शाखाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको छ ।