जननेता मदन भण्डारीको जन्मजयन्तीमा बिरामीलाई फलफुल वितरण

357

असार १४, डोटी ।

नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीको अवसरमा विहीबार जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

एमालेको लोकप्रिय सिद्धान्त तथा कार्यक्रम जनताको बहुदलीय जनवादका प्रवर्तक स्व. भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशन डोटीले बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।

नेकपा एमाले पोलिट ब्युरो सदस्य एवं डोटी इन्चार्ज लिला भण्डारी, एमाले डोटी उपाध्यक्ष मन्जु मलासी, सचिव शेर बहादुर मल्ल, उपसचिव कृष्ण कुमार खड्का लगाएतको टिमले अस्पतालमा बेड भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको मदन भण्डारी फाउण्डेसन डोटीका अध्यक्ष लक्ष्मण मलासीले बताए ।

स्वर्गीय भण्डारीलाई स्मरण गर्दै एमाले पोलिट ब्युरो सदस्य एवं डोटी इन्चार्ज लिला भण्डारीले मदन भण्डारी जिवित रहेको भए उहाँको विचार र योगदानले नेकपा एमालेको मात्रै नभएर समग्र कम्युनिस्ट आन्दोलनकै नेतृत्व गर्दै बाम एकीकरण भएर बलियो शक्ति स्थापित हुने विश्वास व्यक्त गरिन । उनलेे थपिन् – “उहाँ स्व.कमरेड मदन भण्डारी रहनुभएको भए देशले अहिलेको अस्थीर राजनीतिक संकट व्यहोर्नुपर्ने अवस्था आउने थिएन ।”

जन्मजयन्तीकै अवसरमा बिम्ब नेपाली साप्ताहिकका सम्पादक रामहरि ओझाले एक सुत्केरी महिलालाई रक्तदान पनि गरेका छन् ।

जिल्ला अस्पतालमा अप्रेसन गरि सुत्केरी भएकी सायल गाउँपालिका १ छपालीकी कल्पना पुजारालाई ‘एबि पोजेटिभ’ एक पिन्ट रक्तदान गरेका हुन् ।

मदन भण्डारी फाउन्डेसनले नेकपा एमाले डोटीको पार्टी कार्यालयमा आजै विचार आदानप्रदान गोष्ठी समेत आयोजना गर्दैछ ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

सो दुर्घटनामा परी भण्डारीसङ्गै एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रीतको पनि निधन भएको थियो ।

तर जीप दुर्घटनामा चालक अमर लामा जिवित रहेका थिए ।दुर्घटनाकै कारण पाँच वर्ष कैद सजाय भोगेर रिहा भएपछि पत्रकारितामा आबद्ध भएका लामा २०६० साउन १२ गते डिल्लीबजारको कालिकास्थानबाट अपहरणमा परे र किर्तिपुरको नयाँबजारमा लगेर गोली हानेर हत्या गरिएको थियो ।

नेपाली राजनीतिमा छोटो समयमै प्रभावशाली नेताको परिचय बनाएका भण्डारीको निधनको घटना अहिलेसम्म पनि रहस्यकै गर्भमा रहेकोे छ ।

Leave A Reply

Your email address will not be published.