जोरायल महोत्सवको गीत सार्वजनिक (गीत सहित)
चैत २४, डोटी ।
“समृद्धिको अभियान, जोरायलको पहिचान” भन्ने मूल नाराका युनिक युथ स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको ‘दोस्रो जोरायल महोत्सव २०८०’ को गीत सार्वजनिक भएको छ ।
पत्रकार तथा कलाकार झलक पाली “झरना” को शब्दमा चर्चित कलाकार बिनोद बाजुराली र रेखा जोशीको आवाज रहेको गीत शनिबार नजर मिडिया प्रा.लि. युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
काठमाण्डौको मालश्री रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको सङ्गीत तथा एरेन्ज पनि बिनोद बाजुरालीले नै गरेका छन् ।
सुदूरपश्चिमको सुप्रसिद्ध ठाउँ डोटीको जोरायल क्षेत्रका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय विशेषताको चित्रण सहित कृषि, शिक्षा जस्ता विषयहरु गीतमा समेटिएको छ ।
महोत्सवको तयारी तिव्र पारिएको र करिब अन्तिम चरणमा पुगेको युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष एवं महोत्सव मूल व्यवस्थापन समिति संयोजक पवन शाहुले जानकारी दिए ।
नयाँ वर्षको अवसर पारेर यही चैत २८ देखि २०८१ वैशाख ३ गतेसम्म आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुका बेजोड प्रस्तुतिहरु, झुला, विभिन्न स्टलहरु, स्थानीय खाद्य परिकार लगाएत आकर्षणका रूपमा रहेको आयोजक समितिले जनाएको छ ।
महोत्सव जोरायल गाउँपालिका ३ रावतकट्टेस्थित रत्न आधारभूत विद्यालयको खेल मैदानमा आयोजना हुनेछ ।
महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु बद्री पङ्गेनी, पुश्कल शर्मा, ध्वज महरा, चक्र बम, लक्ष्मी आचार्य, सौगात ओझा, झलक पाली लगाएत दर्जनौं कलाकारका प्रस्तुति रहनेछन् ।
यद्यपि कलाकारहरुको सबै सूची सहितको पोस्टर अझै सार्वजनिक हुन बाँकी रहेको छ ।
गत वर्षको महोत्सवका सिकाइ सहित यस पटकको महोत्सव अझै प्रभावकारी रूपमा संचालन हुने आयोजकको विश्वास छ ।
जोरायल क्षेत्रको समग्र विकास, प्रचारप्रसार तथा पहिचानको लागि महत्त्वपूर्ण रहेकोे जोरायल महोत्सव सफल पार्न सबैको सहयोग आवश्यक रहेको महोत्सव मूल व्यवस्थापन समिति सह-संयोजक केशवनारायण जोशीले बताए । महोत्सवमा आर्थिक, भौतिक, नैतिक सबै सहयोग गरिदिन आम जोरायलबासीमा उनलेे आग्रह गरेका छन् ।
यस्तो छ गीत हेर्नुहोस् –