एमाले डोटीको नवौं जिल्ला अधिवेशन आगामी मंसिर २८ र २९ मा हुने

787

कार्तिक १२, डोटी
नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन आगामी मंसिर २८ र २९ का लागि तोकिएको छ ।
सोमबार डोटीको जोरायल गाउँपालिका २ बुडरमा आयोजित एमाले जिल्ला कमिटीको बैठकले डोटीको राजपुरस्थित सेती सभा हलमा अधिवेशन आयोजना गर्ने गरी उक्त मिति तय गरेको हो ।
अधिवेशनका लागि मंसिर २१ गते वडालाई भूगोल मानेर तथा अधिवेशन सम्पन्न भएका १६ वटा जनवर्गीय संगठनको एकै दिन प्रतिनिधि छनौट गरिने भएको छ ।
प्रतिनिधि छनौट गर्दा खुल्लातर्फ १५ जना बराबर १ जना, समावेशीतर्फ १० जना बराबर १ जना, जनवर्गीय संगठनको हकमा अनुसूची १ अन्तरगतका संगठनको हकमा ३ जना र अनुसूची २ अन्तरगतका संगठनको हकमा २ जना छनौट गर्ने मापदण्ड तय भएको छ । जसमा २ जना प्रतिनिधि छनौट हुँदा १ महिला अनिवार्य र ३ जना प्रतिनिधि छनौट हुँदा १ महिला अनिवार्य गरिने निर्णय भएको छ ।
एमाले डोटीमा अहिले ५ हजार ३४ जना सदस्य संख्या रहेको जनाइएको छ ।
त्यस्तै अधिवेशनको लागि विभिन्न १० वटा उपसमितिको संयोजक पनि तोकिएको छ ।
जस अन्तरगत प्रतिनिधि व्यवस्थापन संयोजकमा अध्यक्ष मन्जु मलासी, प्रतिवेदन लेखन संयोजकमा उपाध्यक्ष शेर बहादुर मल्ल, आवास व्यवस्थापन संयोजकमा सचिव लक्ष्मण मलासी, मन्च व्यवस्थापन संयोजकमा उपसचिव तेज बहादुर डुम्रेल, सांस्कृतिक संयोजकमा अर्का उपसचिव कृष्ण कुमार खड्का, आर्थिक व्यवस्थापन संयोजकमा धर्म बहादुर रोकाया, यातायात व्यवस्थापन संयोजकमा रमेश खडायत, प्रचारप्रसार संयोजकमा झलक पाली, अतिथि सत्कार संयोजकमा बिस्ना सिंह, स्वयंसेवक परिचालन संयोजकमा डम्मर सिं डौडीलाई जिम्मेवारी तोकिएको छ ।
नेकपा (एमाले) जिल्ला संगठन कमिटी डोटीका अध्यक्ष मन्जु मलासीको अध्यक्षता एवं केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा एमाले पोलिट ब्यूरो सदस्य तथा निवर्तमान डोटी इन्चार्ज लीला भण्डारीको बिदाई र पोलिट ब्यूरो सदस्य तथा नयाँ डोटी इन्चार्ज गौरी ओलीलाई स्वागत पनि गरेको छ ।
बैठकमा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिट ब्यूरो सदस्य तथा डोटी इन्चार्ज गौरी ओली, पोलिट ब्यूरो सदस्य तथा निवर्तमान डोटी इन्चार्ज लीला भण्डारी, केन्द्रीय सल्लाहकार परिषद सदस्य नारद मलासी, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसी, नेताहरु तारा लामा तामाङ, चक्र मल्ल, निर्मला साउद, दुर्गा ओझा, दीर्घ बोगटी लगाएतका प्रदेश कमिटी सदस्यहरु, प्रदेश सल्लाहकार परिषद सदस्यहरु, जिल्लाका पदाधिकारी एवं सदस्यहरु, पालिका कमिटी अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

बैठकमा नेताहरूले पार्टी एक ढिक्का भएर जिल्ला अधिवेशन सम्पन्न गर्न र पार्टी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला अधिवेशनका थप मापदण्ड पार्टी केन्द्रको जिल्ला अधिवेशन सम्बन्धि कार्यविधि, अन्तर पार्टी निर्देशन अनुसार लागू हुने र जिल्ला कमिटीका थप निर्णयहरु तत्कालै जिल्लाका सबै पालिका कमिटीहरुलाई सर्कुलर जारी गर्ने एमाले डोटीले जनाएको छ ।

गत वर्ष चैत २ र ३ का तोकिएको जिल्ला अधिवेशनको मुखैमा पार्टीको आन्तरिक विभिन्न विषयमा केन्द्रित भएर उजुरी परेपछि जिल्ला अधिवेशन हुन सकेको थिएन ।

यस बीचमा एमाले पार्टी केन्द्रले जिल्ला अध्यक्ष चक्र मल्लको ठाउँमा उपाध्यक्ष मन्जु मलासीलाई अध्यक्षको नेतृत्वमा पदाधिकारी हेरफेर गरेको थियो ।

जुन समितिलाई यही कार्तिक मसान्तसम्म जिल्ला अधिवेशन गर्न निर्देशन गरेको थियो । तर त्यो समयसीमा पनि नाघेर अधिवेशन गर्ने निर्णय भएको हो ।

आगामी मंसिर १६ गते डोटीको पुर्वीचौकी गाउँपालिका ६ मा वडा अध्यक्ष पदका लागि हुन लागेको उप निर्वाचनका कारण पनि अधिवेशन पछाडी धकेलिएको एमाले श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.