धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् सडकमा एक अर्ब बजेट, पहल गर्नेमा विभिन्न दल र नेताको दावी

1,152

माघ ३, डोटी ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ् दु्रतमार्गमा एक अर्ब बजेट परेको विषयले यतिबेला सामाजिक सञ्जाल तताएको छ ।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाबाट श्रोत सहमती प्रदान गरिएका योजनाहरुको विवरण सार्वजनिक भएसँगै विभिन्न दल र नेताहरुले आ–आफ्नो पहलमा बजेट विनियोजन भएको दावी गरेपछि सामाजिक सञ्जाल तातेको हो ।
उक्त बजेट नेपाली काँग्रेसका सुदूरपश्चिम सभापति तथा कैलाली क्षेत्र नं.४ बाट प्रतितिनिधी सभा सदस्य रहेका बिर बहादुर बलायरको पहलमा विनियोजन भएको काँग्रेसका नेता कार्यकर्ताको दावी छ ।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायर सँगै काँग्रेस डोटी सभापति नरेन्द्रबहादुर सिंहलगायतका नेताहरूको पनि यसमा भूमिका रहेको उनिहरुको दावी छ ।
यस विषयमा नेपाली काँग्रेस डोटीका सचिव एवं आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले ‘योजना पर्न कुन विधि प्रकृति हुन्छ, थाह छ कि छैन ? लेटरप्याड र संसदमा बोलेर योजना पर्दैन’ भन्दै राष्ट्रिय योजना आयोगमा ठूला योजना पास गराएर अनि मन्त्रालयमा पठाउने र ति योजना अकाट्य हुने भन्दै फेसबुक स्टाटस लेखेका छन् । उक्त स्टाटससँगै नेता बलायर सहितको टोलीले योजनाबारे माग गर्दै गरेको भिडियो समेत खड्काले पोस्ट गरेका छन् ।

May be an image of 3 people and text
यता नेकपा (एमाले) का नेता तथा डोटी निर्वाचन क्षेत्र ‘क’बाट सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लको पहलमा बजेट विनियोजन भएको अर्काे पक्षको दावी छ ।
नेता मल्लले प्रधानमन्त्री केपीशर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल लगाएतसँग योजना माग गरेको फोटो फेसबुकमा राख्दै ‘खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ्–ताक्लाकोट’ फास्ट ट्रयाकको निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर शिघ्र निर्माणका लागि श्रोत सहमति दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

May be an image of 15 people and text
एमाले डोटी जिल्ला कमिटि सदस्य बिरबहादुर बिष्टले आफ्नै पार्टीका प्रधानमन्त्री र अर्थमन्त्री भएको बेला उक्त फास्ट ट्रयाक बारे लामो दौडधुप गर्ने प्रदेश सभा सदस्य चक्र मल्ल र डोटी एमालेका पदाधिकारी टिमलाई धन्यवाद दिंदै प्रधानमन्त्री र अर्थमन्त्रीसँग माग पत्र पेश गर्दै गरेको फोटो सहित फेसबुकमा स्टाटस लेखेका छन् ।

May be an image of 12 people and text
त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता तथा डोटी निर्वाचन क्षेत्र ‘ख’बाट सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिं ओलीले उक्त योजनाको बजेट सडक योजनाले प्रस्ताव गरेको र अर्थ मन्त्रालयले श्रोत सुनिश्चितता गरेको बताएका छन् । जुन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटसँग सम्बन्धित कुरा हो भन्दै फेसबुक स्टाटस लेखेका छन् ।

May be an image of 1 person and text
उता नेकपा एकिकृत समाजवादीका नेता तथा डोटीबाट प्रतिनिधि सभा सदस्य प्रेम बहादुर आलेको पहलमा बजेट परेको एकथरी दावी रहेको छ । पूर्व मन्त्री तथा सांसद आलेका प्रमूख स्वकिय सचिव रहेका हेमन्त रेग्मीले प्रेम बहादुर आलेको मेहनतले उक्त सडकमा २०८१ जेठ १५ मै वाषिक बजेट परेको गत जेठमै आफुले फेसबुकमा लेखेको जनाएका छन् । अहिले आएर अर्थ मन्त्रालयले बहुवर्षिय श्रोत सुनिश्चितताका सहमती दिएपछि सडक डिभिजन कार्यालयले कार्यान्वयनका लागि ठेक्का लगाएको रेग्मीले बताएका छन् । यस विषयमा विभिन्न राजनीतिक दल र नेताहरुले पहल गरेको दावी गरिरहेको सन्दर्भमा ‘लाज नभएका राजनीतिक दलका केहि झोलेहरुलाई प्रक्रियाका कुरा थाहा छ कि छैन’ भन्ने प्रश्न सहित ‘फेसबुकमा हाम्रा नेताले पहल गरेको हो भन्नु कुकुर भुके झैं कराईरहेको’ भन्दै फेसबुकमै प्रतिक्रिया लेखेका छन् । उनले प्रेम बहादुर आलेले संसदमा उक्त योजनाबारे बोल्दै गरेको भिडियो समेत पोस्ट गरेका छन् ।

May be an image of 2 people and text
यता राष्ट्रिय स्वतन्त्र पार्टीका डोटी संयोजक केशव बलायरले पनि उक्त योजनामा बजेट परेको विषयमा फेसबुक पोष्ट लेखेका छन् । आफ्नो पार्टी, नेता र आफुले बजेट हालेको प्रत्यक्ष नलेखे पनि रास्वपाका सांसद तोषिमा कार्कीले सदनमा उक्त फास्ट ट्रयाकबारे बोलेको भिडियो समेत पोष्ट गर्दै घुमाउरो तरिकाले आफुहरुले बजेट हालेको दावी प्रस्तुत गरेका छन् । यद्यपी बलायरले फास्ट ट्रयाकमा बजेट विनियोजनका लागि पहल गर्नुहुने सम्पूर्ण राजनीतिक दलका नेतृत्वलाई पनि धन्यवाद भने दिएका छन् ।

May be an image of 3 people and text
उता नेकपा एमाले बझाङका नेताहरुले प्रधानमन्त्रीलाई योजना माग गरेकोमा सुनावाई भएर बजेट विनियोजन भएका समाचार पनि यसैबेला आइरहेका छन् ।

May be an image of 8 people, dais and text
यसरी एउटै योजनामा बजेट विनियोजन गराउन विभिन्न राजनीतिक दल र नेताका आ–आफ्ना आधार सहित दावी रहेको देख्न सकिन्छ ।  तर कुनै एउटा दल वा नेताले जस लिनेभन्दा पनि सबैको पहललाई सम्मान गर्दै हरेक विकासका काममा सकारात्मक सोच राखी साझा धारणा बनाउन जरुरी छ ।

Leave A Reply

Your email address will not be published.