एमाले डोटीको “वडा केन्द्रित जिल्ला दौडाहा” आजबाट शुरु

816

माघ २०, डोटी ।
नेकपा (एमाले) डोटीले वडा केन्द्रित जिल्ला दौडाहा अभियान आज आइतबारदेखि शुरु गरेको छ ।
गत पुष २१ देखि २३ गतेसम्म सम्पन्न एमाले केन्द्रिय बैठकको निर्णय सहितको अन्तर पार्टी निर्देशन (अपानी ११) का आधारमा एमाले डोटीको माघ १७ गतेको जिल्ला कमिटि बैठकको निर्णय र कार्ययोजना अनुसार अभियान शुरु गरेको हो ।
वडा केन्द्रित अभियान र पालिका तथा वडाका अधिवेशन सम्पन्न गर्न पहिलो चरणमा एमालेले जिल्लाका ९ वटै पालिकाहरुमा तयारी बैठक गर्न लागेको नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा डोटी इन्चार्ज गौरी ओलीले जानकारी दिइन् ।
पालिकाहरुमा तयारी बैठक आयोजना गर्ने कार्यतालिका अनुसार आज आइतबार सायल गाउँपालिकामा आयोजना गरिएको बैठक अहिले जारी रहेको छ । बैठकमा एमाले पोलिट ब्युरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओली, निवर्तमान जिल्ला अध्यक्ष एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल, जिल्ला कमिटिका पदाधिकारी र निवर्तमान पदाधिकारी लगाएत सायल गाउँपालिका भूगोलका प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्य र गाउँपालिका कमिटिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

No photo description available.
यसै गरी भोलि माघ २१ गते आदर्श गाउँपालिका, २२ गते पूर्वीचौकी गाउँपालिका, २३ गते शिखर नगरपालिका, २४ गते के.आई.सिंह गाउँपालिका, २५ गते बोगटान फुड्सिल गाउँपालिका, २६ गते बडिकेदार गाउँपालिका, २७ गते जोरायल गाउँपालिका र २८ गते दिपायल सिलगढी नगरपालिकाको पालिका कमिटि बैठक तोकिएको छ ।

May be an image of text
एमाले श्रोतका अनुसार जिल्लाभित्रका ६५ वटै वडाका टोल बस्ति केन्द्रित रही पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्दै एमाले र एमाले नेतृत्वको सरकारले गरेका कामको प्रचारप्रसार, पार्टीका नीति तथा उद्धेश्यहरु आम जनताले बुझ्ने गरी अभियान चलाउने तयारी छ । जसका लागि पार्टी केन्द्रिय निकाय, प्रदेश कमिटि, प्रदेशका विभिन्न विभाग, पूर्ववत जिम्मेवारीमा रहेका नेता कार्यकर्ता र सबै जनवर्गीय संगठनहरुलाई आ–आफ्नो भौगोलिक कार्यक्षेत्रमा खटिनका लागि परिपत्र नै जारी गरिएको छ ।
जिल्ला कमिटि बैठकबाट जिल्लाका ६५ वटै वडामा सम्बन्धित र छिमेकी भूगोल हेर्ने गरी जिल्ला कमिटी सदस्यहरुलाई इन्चार्ज तोकिसकेको छ । त्यस्तै गत मंसिर २८ देखि पुस २ गतेसम्म सम्पन्न एमाले जिल्ला अधिवेशनमा पालिकाका कमिटिका नेताहरु जिल्ला कमिटिमा आएसँगै भएका रिक्त पदमा सम्बन्धित पालिका कमिटिको पदाधिकारीमध्येबाटै अधिवेशन हुँदासम्म नेतृत्व गर्ने जिम्मेवारी तोकिएको छ ।
२०८१ सम्मका एमालेका संगठित सदस्यका आधारमा ९ वटै पालिका कमिटिका अधिवेशन आगामी फाल्गुन मसान्त र वडाका अधिवेशन आगामी चैत्र २० गतेभित्र सम्पन्न गर्ने गरी तयारीमा जुट्न मातहतका कमिटिहरुलाई एमालेले निर्देशन गरिसकेको छ ।
त्यसैगरी जिल्लामा क्रियाशील रहेका अवधी पुगेका जनवर्गीय संगठनहरुको जिल्ला अधिवेशन पनि फाल्गुन मसान्तभित्र र पालिका अधिवेशन चैत्र २० गतेभित्र सम्पन्न गर्ने समयसिमा तोकिएको छ ।
पार्टीको वडा, पालिका अधिवेशन र जनवर्गीय संगठनका अधिवेशनहरु सम्पन्न गरेसँगै चैत्र मसान्तभित्र जिल्ला स्तरीय र पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने एमालेको आन्तरिक तयारी छ । यसका साथै नयाँ सदस्यता वितरण र पूरानो सदस्यता नविकरण पनि चैत्र मसान्तभित्र गरिसक्ने गरी तिव्रता दिइने जनाईएको छ ।
माघ १७ गतेको बैठक अनुसार एमालेले सांगठनिक कामलाई व्यवस्थित र प्रभावकारी बनाउन संगठन विभाग प्रमूखमा सचिव पदमराज भट्ट र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमूखमा उप–सचिव डम्मर सिं डौडीलाई जिम्मेवारी तोकिएको छ ।
त्यस्तै पार्टी अध्यक्ष मन्जु मलासी सहित सबै पदाधिकारीहरु र ८ जना जिल्ला कमिटि सदस्यहरु समेतको १३ सदस्यीय सचिवालय पनि गठन भैसकेको छ ।
लेखा व्यवस्थापनका लागि लेखा कमिटीको अध्यक्षमा रविन्द्र जोशी र सदस्यमा सुनलाल थापा, गणेश पार्की र दिल बहादुर बि.क.रहने निर्णय भएको छ । यद्यपी प्रस्तावित नामहरु आगामी जिल्ला प्रतिनिधी परिषदको पहिलो बैठकबाट अनुमोदन हुने जनाईएको छ ।
मुलुकमा संघियता लागु भएपश्चात २०७४ को स्थानीय तहको निर्वाचनमा डोटीका ९ पालिकामध्ये ५ वटा पालिकाको प्रमूख र उप–प्रमूख तथा अध्यक्ष र उपाध्यक्ष पद र एक पालिकामा उपाध्यक्ष पदमा जीत हासिल गरेको एमालेले २०७९ मा जोरायल गाउँपालिकामा मात्रै अध्यक्ष, उपाध्यक्ष सहित कार्यपालिका बहुमत बनाउन सकेको थियो ।
प्रतिनिधी सभा निर्वाचनमा २०७४ मा एमाले–माओवादीबिच गठबन्धन थियो । तत्कालीन एमाले नेता हाल एकिकृत समाजवादीमा रहेका प्रेम बहादुर आलेले प्रतिनिधी सभामा जित हात पारेका थिए ।
प्रदेश सभा सदस्यमा डोटी निर्वाचन क्षेत्र ‘२’ मा माओवादी केन्द्रका त्रिलोचन भट्टले जीत हासिल गरे पनि निर्वाचन क्षेत्र ‘क’ मा भने एमाले उम्मेदवार चक्र मल्ल पराजित भएका थिए । तर २०७९ मा भने उनै चक्र मल्ल प्रदेश सभा सदस्यमा विजयी भए ।
यता प्रतिनिधी सभा सदस्यका लागि २०७९ मा काँग्रेस–माओवादी सहितको गठबन्धनमा एकिकृत समाजवादीका प्रेम बहादुर आलेसँग एमाले उम्मेवार गौरी ओली पराजित हुनुपरेको र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ‘ख’ मा काँग्रेस–माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार शिव सिं ओलीसँग एमाले उम्मेदवार टेक बम पराजित हुनुपरेको पीडा डोटी एमालेलाई छ ।
यसपछि हुने आम निर्वाचन २०८४ निर्वाचन जित्न फेरी पनि एमालेलाई सकस देखिन्छ ।
एकातिर अहिले अधिकांश पालिकाहरु नेपाली काँग्रेसको कब्जामा छन् भने अर्कातिर हालै सम्पन्न एमाले नवौं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसक्नु अर्को चुनौतिका रुपमा रहेको आन्तरिक र बाह्य विश्लेषण छ ।
यद्यपी तल्लो तहमा एमाले नेता, कार्यकर्ता र समर्थकहरु भने पार्टीप्रति प्रतिवद्ध देखिने भएकाले नेताहरुबिच सम्बन्ध सुधार गरी सबैलाई भूमिका दिएर सँगसँगै जाने वातावरण तयार भए आगामी निर्वाचन जित्न एमालेलाई उत्तिकै अवसर पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.