विद्युतका करार कर्मचारी : पूरा तलब दिइएन, कम्पनी भन्छ : नियमानुसार भुक्तानी भएको छ

1,000

भाद्र ३१, डोटी ।

सुदूरपश्चिममा नेपाल विद्युत प्राधिकरण अन्तरगत सेवा करारका कर्मचारीले सम्झौता अनुसार तलब नपाउने गरेको गुनासो गरेका छन् ।

सरकारले तोकेको न्युनतम तलब रु.१९ हजार ५ सय भए पनि आफुहरुलाई १६ हजार १ सय ९ रुपैयाँ ८० पैसा मात्रै भुक्तानी पाएको विद्युत प्राधिकरण डडेल्धुरा मातहतका प्राविधिक पदमा कार्यरत एक सेवा करार कर्मचारीले बताए । २०७५ साल मंसिरदेखि करारमा काम गर्दै आएको र कहिल्यै पूरा तलब नपाएको नाम नखुलाउने शर्तमा उनले सुनाए ।

नेपाल सरकारले तोकेको पूरा तलब सुविधा सङ्गै ओभर टाइमको थप सुविधा, इपिआर र पोसाक खर्च पनि पाउनुपर्ने उनको भनाइ छ । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएको बेलादेखि करार कर्मचारीहरुलाई ठेकेदारको मातहत काममा लगाएको र तोकेको तलब समेत नपाएको हुँदा अब उर्जामन्त्री समेत भएको अवस्थामा आफ्नो गुनासो सम्बोधन गरिनुपर्ने उनको माग छ ।

हालसम्म यस बारेमा आफुसङ्ग कुनै गुनासो सिकायत नआएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख जङ्ग बहादुर चन्दले बताए । चन्दले भने-“हालसम्म कुनै गुनासो सिकायत आएन । कर्मचारीको नियुक्ति होला । सम्झौता होला । सबि भुक्तानी बैंकबाट हुन्छ । बैंक रेकर्ड होला । अफिसियल रूपमा आएमा सम्बन्धित विषयमा कारवाही गरिन्छ ।”

२०७६ सालदेखि प्राधिकरणले आफ्नो आर्थिक प्रशासन विनियमावलीमा टेकेर बोलपत्रमार्फत सेवा करारको ठेक्का दिदै आएको र हाल डिलक्स सेक्युरिटी/गोल्डेन सपोर्ट जे.भि.काठमाडौंंले उक्त जिम्मेवारी पाएको प्रादेशिक प्रमुख चन्दले जानकारी दिए ।

ठेकेदारसँग स्वयं आफुले नै सम्झौतामा हस्ताक्षर गर्ने तर सेवा करारका कर्मचारीले ठेकेदारसँग सम्झौता गर्ने उनलेे बताए । यद्यपि ठेकेदारले प्राधिकरण मातहत काम गर्ने भएकोले कुनै कर्मचारी नियमानुसार तलब सुविधा नपाएको भए कारवाही गरिने चन्दले प्रतिवद्धता जनाए ।

नेपाल विद्युत प्राधिकरणको तर्फबाट सम्झौता अनुसार पूरा रकम भुक्तानी हुँदै आएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरीया कैलालीको प्रशासन शाखाका कर्मचारी हरिलाल भट्टले बताए ।

यस गुनासो सम्बन्धि डिलक्स सेक्युरिटी/गोल्डेन सपोर्ट जे.भि.का प्रतिनिधि प्रमोद आचार्यसङ्ग बुझ्दा सम्झौतामा १७ हजार ३ सय तलब तोकिएको र त्यसमा १० प्रतिशत सामाजिक सुरक्षा कर काटेर भुक्तानी दिने गरिएको बताए । आचार्यले तलब १९ हजार ५ सय हो भन्ने व्यक्तिको कुरा नसुन्न र त्यस्तालाई इच्छा नभए काम नगर्न भनेका छन् ।

उनलेे भने अनुसार नै हो भने १७ हजार ३ सयको १० प्रतिशत रकम १ हजार ७३० रुपैयाँ घटाउदा १५ हजार ५३० भुक्तानी हुनुपर्ने देखिन्छ । तर कर्मचारीले १६ हजार १०९ रुपैयाँ ८० पैसा भुक्तानी भएको प्रमाण नै पेश गरेका छन् ।

सुदूरपश्चिममा डिलक्स सेक्युरिटी/गोल्डेन सपोर्ट जे.भि.का १४८ जना कर्मचारीहरु रहेको र उनीहरुको हाजिरी विवरण सङ्कलन गर्नमा ढिलाइ भएको हुँदा रकम निकासामा ढिलाइ भएर तलब निकासामा भने केही ढिलो भएको आचार्यले बताएका छन् ।

 

 

Leave A Reply

Your email address will not be published.