`डोटी महोत्सव´ र `डोटी आइडल´ एकसाथ आयोजना हुँदै
पुस २८, डोटी ।
डोटीमा आगामी फाल्गुनमा `डोटी महोत्सव´ र `डोटी आइडल´ एकैसाथ आयोजना हुने भएको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजनामा दिपायलमा फाल्गुन १ गतेदेखि १० गतेसम्म डोटी महोत्सव २०८२ को आयोजना गरिने र सोही अवसरमा जिल्लामै पहिलोपटक `डोटी आइडल´ आयोजना हुने भएको हो ।
महोत्सव बारे अहिले विभिन्न सरोकारवालासङ्ग समन्वय, सुझाव संकलन लगाएत तयारी भैरहेको र आगामी माघ ६ गते पत्रकार सम्मेलन गरि विस्तृत जानकारी दिइने डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम बहादुर साउँदले नजर अनलाइनलाई बताए ।
महोत्सवकै अवसर पारेर सुमधुर स्वर भएर पनि औपचारिक रूपमा गीत रेकर्ड गर्ने अवसर नपाएका डोटी जिल्लाका लुकेका गायन प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले इतिहासमै पहिलो पटक “डोटी आइडल” आयोजना हुन गइरहेको डोटी उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार, डोटी आइडल एवं प्रचारप्रसार संयोजक मोहन शाहीले जानकारी दिए ।
डोटी आइडलमा १२ देखि ४० वर्ष उमेर समूहका नव–प्रतिभा गायक गायिकाहरूलाई समावेश गराइनेछ ।
आइडल प्रतियोगितामा भाग लिन इच्छुकले माघ १५ गतेभित्र नाम दर्ता गराउन सकिने र नाम दर्ता भएका प्रतियोगीहरूले दुईवटा फरक–फरक विधाका गीत गाएको भिडियो रेकर्ड गरेर पठाउनुपर्ने जनाइएको छ।
अडिसनको पहिलो चरणमा डोटीका ९ वटै पालिकाबाट ३/३ जना प्रतियोगी छनोट गरिनेछ । छनोटमा परेकाहरूलाई महोत्सव स्थल दिपायलमा नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकर्मीहरू सम्मिलित निर्णायक मण्डलद्वारा फाइनल चरणमा प्रवेश गराइनेछ।
प्रतियोगितामा टप थ्रीमा पर्न सफल गायक गायिकाहरूकाे गीत रेकर्ड गर्ने देखि प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ। आन्तरिक तयारीमै रहेकोले पुरस्कार बारे औपचारिक टुङ्गो लगाउन बाँकी रहेको बुझिएको छ ।
महोत्सव र आइडल बारे मूल समिति सङ्गै उपसमिति समेत गठन गरि कार्य विभाजन गरिसकिएको डोटी उद्योग वाणिज्य संघका कोषाध्यक्ष आइजङ्ग कुवरले जानकारी दिए ।
कला, संस्कृती, पर्यटनको प्रवर्द्धन, स्थानीय उत्पादनको बजार प्रवर्द्धन सङ्गै मनोरञ्जन गर्ने उद्देश्यले डोटी उद्योग वाणिज्य संघले थुप्रैपटक डोटीमा महोत्सव आयोजना गरिसकेको छ ।