सुदूरपश्चिममा मानव अधिकारको अवस्था सम्बन्धी अन्तरक्रिया सम्पन्न

278

जेठ ५, डोटी ।
सुदूरपश्चिम प्रदेशको मानव अधिकार अवस्था तथा मानव अधिकार संरक्षणमा सरोकारवालाहरूको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम बुधबार सिलगढीमा सम्पन्न भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले इन्सेकले मानव अधिकारका सवालमा सरकारसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै मानव अधिकार संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि सरकारी तथा गैरसरकारी निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
त्यसै गरि जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र नेपालले नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउदै नेपाल प्रहरी हर प्रहर जनाताको सेवामा समर्पित रहेको बताउनुभयो ।
त्यस्तै, इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले अझै पनि द्वन्द्वपीडित, अपांगता भएका व्यक्ति, दलित, महिला लगायतका समुदायको मानव अधिकार पूर्ण रूपमा सुनिश्चित हुन नसकेको बताउनुभयो। उहाँले यस्ता सवालमा सबै पक्षबीच सहकार्य र हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्ण बहादुर विश्वकर्माले सुदूरपश्चिमको मानव अधिकार अवस्था सहित प्रस्तुति गर्नुभएको थियो। प्रस्तुतीकरणमा प्रदेशमा देखिएका मानव अधिकारका चुनौती, प्रभावित वर्गको अवस्था तथा समाधानका उपायबारे जानकारी गराइएको थियो।
सुदूरपश्चिम प्रदेशको मानव अधिकारको वर्तमान अवस्था, चुनौती तथा संरक्षणका लागि सरोकारवालाहरूको जिम्मेवारीबारे विस्तृत छलफल गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मानव अधिकार सम्बन्धी जिज्ञासा, अनुभव तथा सुझावहरू आदानप्रदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा प्रहरी उपरीक्षक महेन्द्र नेपाल, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा अधिवक्ता लगाएतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.