भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल अलपत्र पूर्वाधार आयोजना अनुगमनमा डोटी आउँदै

640

साउन २८, डोटी ।
सुदूरपश्चिम भ्रमणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल डोटीमा पनि आउने भएका छन् । लामो समयदेखि अलपत्र तथा निर्माणमा ढिलाइ भइरहेका पूर्वाधार आयोजनाको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम आउन लागेका मन्त्री लम्साल डोटीमा पनि आउन लागेका हुन् ।

मन्त्री लम्सालले डोटी भ्रमणका क्रममा जिल्लाका महत्वपूर्ण सडक, पुल लगायतका पूर्वाधार आयोजनाको स्थलगत अनुगमन गर्नुका साथै सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी डोटी सभापति केशव बलायरले आफ्नो फेसबुकमार्फत जानकारी दिए अनुसार भोलि साउन २९ गते बिहान ११ बजे बिपीनगरमा मन्त्री लम्सालको उपस्थितिमा कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, भदौ २ गते बेलुका ५ बजे लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको शिखर नगरपालिकाको सातनाली मोटरेबल पुलको स्थलगत अनुगमन गरिने जनाइएको छ।
अनुगमनपछि डोटीमा लामो समयदेखि अलपत्र तथा निर्माणमा ढिलाइ भइरहेका सडक, पुल लगायतका पूर्वाधार आयोजना शीघ्र सम्पन्न गर्न माग गर्दै मन्त्रीसमक्ष जिल्लाको तर्फबाट ज्ञापनपत्रसमेत पेश गरिने रास्वपा सभापति बलायरले उल्लेख गरेका छन् ।
ज्ञापन पत्रमा अलपत्र आयोजनाको वर्तमान अवस्था, ठेक्का व्यवस्थापनमा देखिएका समस्या, आवश्यक बजेट तथा स्रोत सुनिश्चितता, निर्माण कार्यमा भइरहेको ढिलाइ तथा आयोजना प्रभावकारी रूपमा अघि बढाउन आवश्यक पहल लगायतका विषय समेटिने बताइएको छ।
जिल्लाको समग्र पूर्वाधार विकासलाई गति दिन र वर्षौंदेखि अलपत्र आयोजनालाई शीघ्र सम्पन्न गराउन मन्त्रीको भ्रमणलाई महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, निर्माण व्यवसायी, सरोकारवाला निकाय तथा आम नागरिकलाई सहभागी भई जिल्लाको विकासका सवालमा ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।
भदौ २ गतेसम्म सुदूरपश्चिम भ्रमणमा रहने मन्त्री लम्सालले बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम लगाएत जिल्लामा स्थलगत अवलोकन गर्ने कार्यसुची छ ।

Leave A Reply

Your email address will not be published.