भौतिक मन्त्री सुनिल लम्साललाई पत्रकार रामहरि ओझाका ८ सुझाव

`बानेडुंग्रीसैन–सातनाली पुलमा अनुगमन होइन, एक्सन चाहिन्छ’

343

साउन २९, डोटी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीका सभापति केशव बलायरले डोटीमा निर्माणाधीन तथा रुग्ण अवस्थामा रहेका विकास आयोजनाको अनुगमन गर्न नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल डोटी आउने सूचना सार्वजनिक गरेपछि पत्रकार रामहरि ओझाले मन्त्रीसमक्ष डोटीका ८ महत्वपूर्ण पूर्वाधार आयोजनाका विषयमा ध्यानाकर्षण गराएका छन्।
मन्त्री लम्सालको भ्रमणका क्रममा रास्वपाले ज्ञापनपत्र बुझाउने कार्यक्रम समेत रहेकाले पत्रकार ओझाले जिल्लाका संघीय सरकारसँग सम्बन्धित महत्वपूर्ण आठ वटा आयोजनालाई ज्ञापनपत्रमा समेट्न सुझाव दिएका छन्।
१. सहजपुर–गाणेबाज सडक मर्मतपछि मात्र प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने
सहजपुर–बोगटान–दिपायल सडकको सहजपुरदेखि गाणेबाज (अत्तरकाँडा) खण्ड सुदूरपश्चिम प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अघि बढेको र टिप्पणीसमेत खडा भएको जानकारी आएको भन्दै ओझाले औपचारिक हस्तान्तरण अघि संघीय सरकारले जीर्ण सडकको आवश्यक मर्मत गर्नुपर्ने बताएका छन्।
२. गाणेबाज–धारी सडक कालोपत्रेको प्रक्रिया अघि बढाउनुपर्ने
गाणेबाजदेखि धारीसम्मको सडक कालोपत्रेका लागि २०८० सालमै वातावरणीय प्रभाव अध्ययन भई प्रतिवेदनसमेत तयार भइसकेको भए पनि हालसम्म थप प्रक्रिया अघि नबढेको भन्दै ओझाले कालोपत्रेको प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन्।
३. गलागाड पुल निर्माण सम्पन्न गर्नुपर्ने
बोगटान फुड्सिल गाउँपालिका–१ र २ जोड्ने गलागाड पुल पाँच वर्षदेखि अलपत्र रहेको भन्दै उनले पुल निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।
४. जारीमघाट पुल निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने
खुटिया–दिपायल द्रुतमार्गअन्तर्गत जोरायल गाउँपालिका ६ को जारीमघाट खोलामा पुल निर्माण गर्न ढिलाइ भएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने दिनुपर्ने ओझाको सुझाव छ।
५. पाँच स्थानीय तहका आधारभूत अस्पतालका भवन सम्पन्न गर्नुपर्ने
जोरायल, सायल, बोगटान फुड्सिल, बडीकेदार र केआई सिंह गाउँपालिकाका आधारभूत अस्पतालका भवन निर्माण पाँच वर्षदेखि अलपत्र रहेको भन्दै ओझाले ती आयोजना तत्काल सम्पन्न गर्ने गरी आवश्यक पहल गर्न मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
६. शिखरका सडक कालोपत्रेको काममा गति दिनुपर्ने
शिखर नगरपालिकाअन्तर्गत तलकोट–धुर्कोट र बानेडुंग्रीसैन–उच्चाकोट सडक कालोपत्रेको काममा भइरहेको ढिलाइ अन्त्य गरी निर्माण कार्यलाई तीव्रता दिनुपर्ने उनको सुझाव छ।
७. भिमदत्त राजमार्गको भात्काँडा–गैरा खण्डको मर्मत गुणस्तरीय हुनुपर्ने
सुदूरपश्चिमका सात पहाडी जिल्लाको ‘लाइफलाइन’ मानिने भिमदत्त राजमार्गअन्तर्गत भात्काँडा–गैरा खण्डको मर्मत कार्यको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने ओझाले बताएका छन्। मर्मतमा गुणस्तर कायम गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिनुपर्ने उनको भनाइ छ।
८. खप्तड इन्जिनियरिङ क्याम्पसको पूर्वाधार निर्माण अघि बढाउनुपर्ने
डोटी सदरमुकाम सिलगढी स्थित खप्तड इन्जिनियरिङ क्याम्पसको पूर्वाधार निर्माणसम्बन्धी प्रक्रिया हालसम्म अघि बढ्न नसकेको भन्दै ओझाले त्यसलाई पनि प्राथमिकताका साथ अगाडि बढाउन माग गरेका छन्।

‘बानेडुंग्रीसैन–सातनाली पुलमा अनुगमन होइन, एक्सन चाहिन्छ’

पत्रकार ओझाले बानेडुंग्रीसैन–सातनाली पुलका विषयमा भने मन्त्री लम्साललाई विशेष रूपमा गम्भीर बन्न आग्रह गरेका छन्। उक्त पुलको विगतमा धेरै मन्त्रीले अनुगमन गरेर निर्माण गर्ने प्रतिबद्धता जनाए पनि आफूहरू १२ वर्षदेखि आश्वासनमै ठगिएको उनको भनाइ छ।
‘१२ वर्षसम्म ठगिएको एक उपभोक्ताको तर्फबाट मन्त्रीज्यूलाई स्वागत छ। तर यो पुलको अनुगमन होइन, निर्माणका लागि एक्सन चाहिएको हो,’ ओझाले भनेका छन्।
पछिल्लो समय नयाँ ठेकेदारले निर्माण कार्य सुरु गरेको र कामसमेत सन्तोषजनक देखिएको भन्दै उनले निर्माणलाई निरन्तरता दिनुपर्ने बताएका छन्। साथै, सम्बन्धित निकायबाट झिनामसिना बहाना खोजेर फेरि पनि निर्माण कार्य अल्झाउने अवस्था आउन नदिन मन्त्रीले कडा निर्देशन दिनुपर्ने उनको माग छ।
ओझाले आफूले संघीय सरकारसँग जोडिएका र आफ्नो जानकारीमा रहेका आयोजना मात्र सुझावका रूपमा प्रस्तुत गरेको बताएका छन्। डोटीका अन्य अलपत्र तथा निर्माणाधीन महत्वपूर्ण आयोजनालाई समेत मन्त्रीसमक्ष प्रस्तुत गरी अनुगमनलाई निर्णय र कार्यान्वयनसँग जोड्नुपर्ने उनको सुझाव छ।
आज बिहान ११ बजे डोटीको विपिनगर हुँदै भदौ २ गतेसम्म सुदूरपश्चिम भ्रमणमा रहने मन्त्री लम्सालले बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम लगाएत जिल्लामा स्थलगत अवलोकन गर्ने कार्यसुची रहेको छ ।

Leave A Reply

Your email address will not be published.