११ महिनादेखि अमेरिकामा रहेका सांसद देउवा पदमुक्त, तलब भने ११ महिनाकै भुक्तानी

352

सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् ।

लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन् ।

उक्त निर्णय भोलि १ बजेको बैठकमा सभामुखले जानकारी गराउने छन् ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकामै बसेका छन्। अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्।

छैटौँ अधिवेशनका क्रममा लगातार पाँच बैठकमा अनुपस्थित भएपछि देउवाले चैत २३ गते प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए।

सभामुखलाई सम्बोधन गरी पठाइएको पत्रमा उनले व्यक्तिगत कामका सिलसिलामा अमेरिका पुगेको र त्यसपछि स्वास्थ्य समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा रहनुपरेको बताएका थिए। स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएर संसदीय जिम्मेवारीमा सक्रिय हुने प्रतिबद्धता पनि उनले जनाएका थिए।

तर, उक्त पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि देउवा नेपाल फर्किएका छैनन्। उनको उपचारको अवस्था र नेपाल फर्किने मितिबारे नेपाली कांग्रेसका नेताहरूलाई समेत स्पष्ट जानकारी नरहेको बताइएको छ।

नेपालको संविधानमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ। धारा १८० को (घ) मा सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था उल्लेख गरिएको छ। यही व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो।

सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० मा पनि यससम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।

छैटौँ अधिवेशनमा २५ वटा बैठक बसेकामा देउवा आठ दिन मात्रै उपस्थित भएका थिए। त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा उनी उपस्थित भएनन्। पछिल्लो २७ वटा बैठकमा उनको हाजिरी नरहेको प्रदेश सभा सचिवालयको अभिलेखमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म १२८ वटा बैठक बसेका छन्। तीमध्ये देउवा ६० वटा बैठकमा मात्रै उपस्थित भएका छन्।

११ महिनामा ७ लाख ५३ हजारभन्दा बढी भुक्तानी

अमेरिकामा रहेका देउवाको खातामा प्रदेश सभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापतको रकम पठाउँदै आएको छ।

सचिवालयका अनुसार ११ महिनामा मात्रै देउवाले ७ लाख ५३ हजार ५ सय रुपैयाँ बुझिसकेका छन्। उनको खातामा मासिक पारिश्रमिक, धारा–बिजुली, सञ्चार र अतिथि सत्कारलगायतका शीर्षकमा रकम पठाइँदै आएको थियो।

प्रदेश सभा सचिवालयले पारिश्रमिकबापत ५६ हजार ५ सय रुपैयाँ, धारा–बिजुलीबापत २ हजार, सञ्चार सुविधाबापत ३ हजार र अतिथि सत्कारबापत ७ हजार रुपैयाँ गरी मासिक ६८ हजार ५ सय रुपैयाँ देउवाको खातामा जम्मा गर्दै आएको जनाएको छ।

यसैगरी, गत जेठमा निजी आवास मर्मत शीर्षकमा थप ३५ हजार रुपैयाँसमेत उनको खातामा पठाइएको थियो।

यसअघि माघमा देउवा नेपालमा नरहेको भन्दै सचिवालयले उनको सेवा–सुविधा रोक्का गरेको थियो। तर, कानुनअनुसार प्रदेश सभा सदस्य पद कायम रहेसम्म सेवा–सुविधा रोक्न नमिल्ने भएपछि जेठमा चार महिनाको रकम एकमुस्ट भुक्तानी गरिएको थियो

देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

लामो समयदेखि आफ्नो निर्वाचित प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताले समेत असन्तुष्टि जनाउँदै आएका छन्।

एकातिर प्रदेश सभा बैठकमा लामो समयदेखि अनुपस्थित रहेका सांसदले राज्यबाट नियमित सेवा–सुविधा पाइरहेका थिए भने अर्कोतर्फ उनी कहिले नेपाल फर्किन्छन् भन्ने विषय अनुत्तरित रहँदै आएको थियो। अब भने प्रदेश सभा सचिवालयले उनको पद नै रिक्त गरिदिएको छ। – नेपाल प्रेसबाट

 

Leave A Reply

Your email address will not be published.