जोरायलको शिक्षा क्षेत्र र कोभिड–१९ को प्रभाव

1,009

– मिन बहादुर रोकाया

जोरायल गाउँपालिका डोटी जिल्लाको सदरमुकामदेखि करिब ६० किलोमिटर दक्षिण पश्चिम दिशातिर पर्ने एक सुन्दर एवं रमणिय गाउँपालिका हो । भू–बनावटको हिसाबले भित्री मधेश जस्तो देखिने यो ठाउँ प्राकृतिक सौन्दर्यताले निकै आकर्षक र मनमोहक देखिन्छ । प्रदेशको राजधानी कैलालीबाट डोटी जिल्लाकै प्रवेशद्वारका रुपमा रहेको यो गाउँपालिका साविकको घण्टेश्वर, छतिवन, लक्ष्मीनगर, सरस्वतीनगर, गडसेरा र निरौली गाविसहरुलाई समावेश गरी बनेको छ । कुल ६ वटा वडाहरुमा विभाजन गरिएको यस गाउँपालिकाको कुल क्षेत्रफल ४१९.०९ वर्ग किलोमिटर रहेको छ । देशमा रहेका ७५३ वटा स्थानीय तहहरु मध्ये ९ वटा डोटी जिल्लामा पर्दछन् । तिनिहरु मध्ये जोरायल गाउँपालिका पनि एक हो । यो गाउँपालिका नेपालकै अति प्रख्यात मानिने बासमती धान फल्ने गाउँपालिकाको रुपमा देशभर चिरपरिचित छ ।
जोरायल गाउँपालिका पाण्डवकालिन इतिहास र प्रभावहरुको राम्रो अध्ययन गर्न पाइने स्थानका रुपमा पनि परिचित छ । महाभारतको कथा अनुसार भिमले जरासन्ध नामक राक्षेशको दुइ तिघ्रा समातेर बिचोबिच च्यातेर फ्याँक्दा त्यसको एक भाग यस क्षेत्रमा परेको हुँदा जरासन्धबाट अपभ्रंस हुँदै जरायल हुदै जोरायल भएको हो भन्ने किंंवदन्ती पाइन्छ । विगत देखि वर्तमानसम्मको शैक्षिक इतिहासलाई नियालेर हेर्दा यो गाउँपालिकामा शिक्षा क्षेत्रमा पनि निकै प्रगति भएको मानिन्छ । यस गाउँपालिकाको वडा नं. ४ लक्ष्मीनगरमा वि.स. २०१२ मा स्थापित श्री घण्टेश्वर माध्यमिक विद्यालय, कुँडिकोट र वडा नं. ६ निरौलीमा सोही मितिमा स्थापित श्री रघुनाथ माध्यमिक विद्यालयले यहाँको शैक्षिक क्षेत्रमा निकै ठूलो योगदान पु¥याएका छन् । यी दुई वटा शैक्षिक धरोहरहरुको स्थापना भएको लामो समयपछि मात्र अन्य विद्यालय र क्याम्पसहरुको स्थापना भएको पाइ्न्छ । हाल गाउँपालिकामा कुल ६१ वटा विद्यालयहरु रहेका छन् । यीनिहरु मध्ये ५८ वटा सामुदायिक विद्यालयहरु रहेका हुन्, भने ३ वटा संस्थागत ।
त्यसै गरी यस गाउँपालिकामा नेपाल सरकारबाट स्वीकृत भइ संचालनमा रहेका बालविकास केन्द्रहरुको संख्या ४६ वटा र गाउँपालिकाबाट स्वीकृत भइ संचालनमा रहेका बाल विकास केन्द्रहरुको संख्या २३ गरी कुल ६९ वटा बालविकास केन्द्रहरु संचालनमा रहेका छन् । सामुदायिक सिकाइ केन्द्रहरुको संख्या ५ रहेको छ भने सिकाइ केन्द्रको संख्या एक मात्र रहेको छ । गाउँपालिका अन्तर्गत दुइ वटा बहुमुखी क्याम्पस पनि रहेका छन् । जोरायल गाउँपालिकाको वार्ड नं.२ मा श्री छहरा बहुमुखी क्याम्पस र वडा नं. ४ माश्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस रहेको छ । वि.स.२०६४ सालमा स्थापना भएको श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसले स्थापना कालमा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिएको भएता पनि हाल आएर यो क्याम्पस सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा संचालित छ । स्नातक तहसम्मको नियमित पठनपाठन भइरहेको यो क्याम्पस डोटी जिल्लाको एक तेस्रो सरकारी क्याम्पस पनि हो ।
मुलुकको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षा क्षेत्रको विकासका लागि जोरायल गाउँपालिकामा पनि अन्यत्रको झैं विगतदेखि वर्तमानसम्म निकै राम्रा राम्रा प्रयासहरु भएका देखिन्छन् । गाउँपालिकाका विभिन्न ठाउँमा वाचनालय, पुस्तकालय, विद्यालय, क्याम्पस, बालविकास केन्द्र, सामुदायिक सिकाइ केन्द्र र सिकाइ केन्द्र आदिको स्थापना यसका उदाहरणहरु हुन् । जसको स्थापनाका लागि यस गाउँपालिका अन्तर्गतका विभिन्न व्यक्तित्वहरुले पटक–पटक उदाहरणीय प्रयासहरु गरेका छन् । देश संघीयतामा गएर तीन वटै तहको निर्वाचनपश्चात गठन भएका संघ, प्रदेश र स्थानीय तहका सरकारहरुले देशका विभिन्न क्षेत्रमा दु्रत गतिमा विकासको थालनी गरेसँंगै शिक्षा क्षेत्रको विकासमा पनि प्रशस्तै प्रयासहरु भएका छन् । यसै सन्दर्भमा जोरायल गाउँपालिकाले पनि पालिका स्तरमा शिक्षा क्षेत्रमा प्रत्यायोजन गरेका अधिकार र निर्धारण गरेका कार्यहरुलाई कार्यान्वयन गर्ने क्रममा छोटो समयमा धेरै कार्यहरु सम्पन्न गरेको पाइन्छ । सामान्यतया यस गाउँपालिकामा पछिल्लो समयमा शिक्षा क्षेत्रमा भए गरेका कार्यहरुलाई सम्झिनु पर्दा गाउँपालिका स्तरमा गाउँ शिक्षा समितिको गठन, पालिकाको शाखाको रुपमा शिक्षा युवा तथा खेलकुद शाखाको स्थापना, शाखामा आवश्यक शिक्षा अधिकृत, प्राविधिक सहायक, खेलकुद प्रशिक्षक र कार्यालय सहायकको व्यवस्था गरेको छ । त्यसैगरी गाउँपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालयहरुमा १५ वटा नयाँ विद्यालय भवनहरुको निर्माण, २३ वटा बालविकास केन्द्रहरुको स्थापना, ३२ वटा विद्यालयहरुमा शिक्षकहरुलाई अनुदान रकम वितरण, १० वटा विद्यालयहरुमा पुस्तकालय र कम्प्युटर कक्षा व्यवस्थापन, ७ वटा विद्यालयहरुमा नयाँ शौचालयहरुको निर्माण, ९ वटा विद्यालयहरुमा विज्ञान प्रयोगशालाको स्थापना, ६ वटा विद्यालयहरुमा आइसिटी ल्याव स्थापना र १० वटा विद्यालयहरुमा खानेपानीको वयवस्था गरिएको छ । यति मात्रै नभइ २० वटा विद्यालयहरुमा शिक्षक तथा कर्मचारीहरुका दैनिक उपस्थित जनाउने प्रयोजनका लागि विद्युतीय हाजिरीको जडान पनि गरिएको छ । यसका साथै प्रधानाध्यापकहरुको नियमित बैठक, विद्यालयका दैनिक तथा नियमित कार्यको निरीक्षण तथा अनुगमन, विभिन्न तहका परीक्षा समितिको गठन, परीक्षा संचालन, नतीजा प्रकाशन आदि कार्यहरुनियमित जसो भइरहेका छन् ।
विगत ३ वर्षदेखि आफ्नो गतिमा निरन्तर गतिशिल बन्दै गइरहेको यस गाउँपालिकाले कोरना भाइरस (कोभिड–१९) को संक्रमणको अवधिमा भने विकास निर्माणका अन्य गतिविधिहरुलाई निरन्तर गति दिन सफल देखिएता पनि शिक्षा क्षेत्रमा भने गति दिन सकेन । देशमा कोरोनाको संक्रमणको आशंका बढ्दै गएपछि गत २०७६ चैत्र ६ गते देखि २०७७ साउन ११ गते सम्मको समय बन्दाबन्दीमा बित्यो । देश बन्दाबन्दीमा रहेको यस समय अवधिमा देशैभरीका शिक्षालयहरु बन्द नै रहे । यस बेला यस गाउँपालिका अन्तर्गत पनि विद्यालय, क्याम्पस, बालविकास केन्द्र र सिकाइ केन्द्र कुनै पनि खुल्दै खुलेनन् ।
कोभिडको संक्रमणको कारण नेपाल सरकारले गत चैत्रमा एक्कासी स्थगित गरेको एस.इ.इ.परीक्षा समेत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानी नतीजा प्रकाशन गर्यो । सरकारका पटक–पटकका विभिन्न प्रकारका निणर्यका कारण कहिले केही त कहिले केही सभावनाहरुको आशै आशमा बन्दाबन्दीको समय वित्न पुग्यो । बन्दाबन्दीका कारण चारैतिर सुनशान छाइरहकै बेला गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरु क्वारिन्टीनकारुपमा प्रयोग भइरहेका थिए । यतिबेला पनि यो क्रम चलिरहेकै छ । गाउँपालिकाका विभिन्न वडाबाट विशेष गरी भारतका विभिन्न शहरहरुमा कामको खोजीमा जानेहरु नेपालतिरको कृषि कार्यका बेला गाउँघरतिर फर्किने र अरु बेला कामकै शिलसिलामा भारततिरै ओहरदोहर गरी रहने भएकोले यो वर्ष पनि त्यो निरन्तर चलिरह्यो । लाहुरेहरुको यस वर्षको आवागमन कोरोना प्रभावका कारण निकै शंकास्पद रह्यो । गाउँपालिकाका प्रमुख विद्यालयहरुमा गौरी शंकर मा.वि.गैरा, रामपुर मा.वि.बुडर, घण्टेश्वर मा.वि.कुँडिकोट, रत्न आ.वि.रावतकट्टे, शिवपुर मा.वि.चन्कट्टे, नबोदय मा.वि.गडसेरा, महेन्द्र आ.वि.गडसेरा र केदार मा.वि. खसरे आदिमा पालिकाले क्वारिन्टीनको व्यवस्था गरेको थियो । भारतबाट घर फर्किएका लाहुरेहरुलाई निर्धारित गाडी मोटरको सहायताले ओसारपोसार गरी क्वारिन्टीनमा राख्दा कतै १० देखि २० जना त कतै ५० देखि ८० जना र कतै १०० देखि १६० जना सम्मलाई एकै ठाउँमा राख्ने गरियो । गाउँपालिकाले कयौं विकासका शिर्षकहरुबाट बजेटको रकमान्तर गरेर आफ्नै व्यवस्थापनमा खाने, बस्ने, ओड्ने र ओछ्याउने सहितको सबै सुविधा दिइ निर्धक्क कसैलाई ७ दिन त कसैलाई १५ दिनसम्म सुविधा सम्पन्न बासहरुको बसाइ बसायो । देश बन्दाबन्दीको मारमा परेका बेला नेपाल र भारतको सिमा नाकामा आइपुगेका लाहुरेहरुलाई पालिकाले आफ्नै लगानीमा गाडी रिजर्व गरी पालिकासम्म सुरक्षित साथ ओसारेर ल्याउने र क्वारेन्टीनमा राख्ने काम गर्यो । यो क्रम हालसम्म पनि जारी नै छ । जोरायल गाउँपालिकामा गत २०७६ साल चैत्र देखि २०७७ साल असोज २९ गतेसम्म अन्यत्रबाट भित्रिएका मानिसहरु मध्ये ८४ जना नेपाल भित्रैबाट र ७३५ जना नेपाल बाहिरबाट रहेका छन् । गाउँपालिकाका विभिन्न ६ वटा वडाहरुमा रहेका क्वारिन्टीनहरुमा राखिएका कुल ८६३ जना मध्ये १२०जना महिला, ६९९ जना पुरुष र ४४ जना बालबालिकाहरु रहेको पाइएको छ । क्वारिन्टीनमा राखिएकाहरु मध्ये ६३३ जनाको आर.डि.टी.परीक्षण गर्दा केबल ३२ जनाको मात्रै पोजेटिभ देखिएको र यस समय अवधिमा कुल ५१० जनाको पि.सि.आर.परीक्षण गर्दा ४८ जना मात्रै पोजेटिभ देखिएको पाइयो । ४८ जना मध्ये १२ जना महिला र ३६ जना पुरुष रहेकोमा त्यस मध्ये ६ जना बालबालिकाहरु रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख श्री गोविन्द विष्ट ज्युले आफ्नो तथ्याङ्कमार्फत उल्लेख गर्नु भएको छ । गाउँपालिकाले यस प्रयोजनमा गत चैत्र देखि हालसम्म करिव ७५,८८,९३३ रुपैयाँ बराबरको व्ययभार व्यहोरी सकेको देखिन्छ ।
गाउँघरका बस्तीहरु सुनशान बनेका देखिन्छन् । बालबालिकाहरु पढ्न, लेख्न, बस्ने विद्यालयका कक्षा कोठाहरुमा कोरनाका संक्रमित पो हुन कि भनि शंकास्पद लाहुरेहरुलाई थुनेर राखियो । बाहिर सुरक्षा कर्मीको कडा निगरानी र टाढा बाटैको बोलचाल र उठबस केही समय निकै चल्यो । आर.डि.टी. परीक्षण अनि पि.सी.आर. परीक्षण गरी दुवै खालका परीक्षणका कार्यहरु धमाधम गर्दै गर्दा कतै कोही मात्रै पाजेटिभ देखिए नत्र प्रायः धेरै जसो नेगेटिभ नै देखिए । जोरायल गाउँपालिकाभित्र उल्लेखित संख्यामा क्याम्पस, विद्यालयहरु, बालविकास केन्द्रहरु र सिकाइ केन्द्रहरु भएता पनि यो विचमा केही विद्यालयहरुले मात्र बालबालिकाहरुको सिकाइ वातावरणको खोजी गरेको देखिन्छ । यसै क्रममा सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसले स्नातकतर्फ तोकीएका सेमेष्टरका केही अनलाइन परीक्षाहरु सञ्चालन गरेको छ । गाउँपालिका शिक्षा शाखाले पालिका स्तरमा प्र.अ.हरुको बैठक आह्वान गरी विद्यालय स्तरको पठनपाठनको विकल्पका लागि राय संकलन गर्ने कार्य गरेको छ । नेपाल सरकारको पछिल्लो निर्णयानुसार शैक्षिक सत्र खेर जान नदिने गरी नियमित औपचारिक कक्षाको विकल्पको खोजी गरि सिकाइ गतिविधिमा सहभागि हुन देशैभर निर्देशन जारी गर्यो । नेपाल सरकारको विद्यालय सिकाइ सहजीकरण निर्देशिका बमोजिम विकल्पहरुको खोजी गर्ने क्रममा भौगोलिक कठिनाइ र रेडियो तथा टेलिभिजनको सुविधाको अभावका कारण घण्टेश्वर मा.वि. लगाएतका केही विद्यालयहरुले यस गाउँपालिका भित्र ‘कुनै दिन कोही कक्षा’ का हिसाबले सम्पर्क कक्षा सञ्चालन गरे । यो कार्य २०७७ असोज पहिलो साता देखि २८ गते सम्म मात्रै चल्यो । यसै बिचमा दशैं तिहार केन्द्रित लाहुरेहरुको आगमन चल्दा कुल २८ जना भारतबाट आएका लाहुरेहरुको पि.सि.आर. परीक्षण गर्दा ८ जना पोजेटिभ देखिन पुगे । क्वारिन्टीनमा बसेका लाहुरेहरु नै पोजेटिभ देखिए पछि अब त फेरी विद्यालय चालु रहने कुरो नै भएन । एकातिर विद्यालयको सुरक्षित क्वारेन्टीनमा बसाइएका लाहुरेहरुमा कोरना पोजेटिभ देखिनु र अर्कोतिर गाउँमा सेल्फ होम क्वारेन्टीनमा बसेका लाहुरेहरुमा पनि कोरना पोजेटिभ देखिनुले विद्यालय देखि गाउँघरसम्मकै वातावरण निकै भयभित बनायो । लामो समय करिब ५/६ महिनासम्म विद्यालयको ढोकासम्म पुग्न नपाएका बालबालिकाहरुले मुस्किलैले सम्पर्क कक्षासम्ममा के आउन पाएका थिए संक्रमणमा पर्ने डरले पुनः विद्यालय बन्द भए पछि उनीहरु आ–आफ्नै घरमा बस्न बाध्य भएका छन् । सम्भवत: मुलुकभरका शिक्षालय एवं विद्यालय स्तरका बालबालिकाहरु सबैले यही अवस्थाको मार भोगिरहनु परेको छ ।
भनिन्छ विपदमा पनि अन्य समयमा जस्तै धैर्यताको निकै खाँचो पर्दछ । त्यसैमा राष्ट्रिय बाल दिवश २०७७ कालागि नेपाल सरकारले तय गरेको नारा–‘विपद्मा बाल अधिकारको सुनिश्चतता : हामी सबैको प्रतिबद्वता’ बाट पनि प्रष्टै छ , बालबालिकालाई जोगाउनु भनेको उनिहरुको बाँच्ने अधिकारको सुनिश्चितता गर्नु हो । आजका बालबालिकाहरु भोलीको मुलुकका संवाहक भएकाले उनिहरुले बाँच्न पाउँनु भनेको मुलुक सुरक्षित हुनु नै हो । अत: कोरना भाइरस कोभिड–१९ को संक्रमणले पनि बालबालिका र बृद्वबृद्वाहरु नै बढी प्रभावित हुने भएकोले यस घडीमा विद्यालय उमेरका बालबालिकाहरु पनि सुरक्षित रहनु निकै आवश्यक छ, त्यसका लागि सबै तह र तप्काबाट आवश्यक पहल हुनुपर्दछ । उनिहरुको भौतिक शरिर रहे, अन्य पुरक जीवनशैली त आर्जन गर्ने मौका त एक पटक होइन, जीवन रहेसम्म पटक पटक मिलिरहन्छ । यति बेला बालबालिकाहरुको लागि विद्यालयको औपचारिक सिकाइको ढोका मात्रै बन्द भएका हुन् । हरेक घरपरिवारका दैनिक जीवन शैलीहरु एवं भोगाइहरु अनौपचारिक तवरबाट उनिहरुको सिकाइका प्रेरणाका स्रोतहरु बन्न सक्छन् । त्यसैले आम अभिभावक, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुले बालबालिकाहरुको आगामी भविष्यलाई मध्यनजर गर्दै आ–आफ्नो स्थानबाट सिकाइ अनुकुलको वातावरण सिर्जना गर्नुपर्दछ । औपचारिक जीवन शैलीबाट मात्रै सिकाइ जिवन्त रहन्छ भन्ने छैन, स्वतन्त्र जीवनबाट देखिने फराकिलो संसारबाट त्यसको लाखौं गुणा बढी सिकाइको संभावना रहन्छ । धैर्यता राखौं र बालबालिकाहरुको जीवन रक्षामा लागौं ।
(लेखक श्री घण्टेश्वर माध्यमिक विद्यालय जोरायल डोटीका शिक्षक हुनुहुन्छ ।)

Leave A Reply

Your email address will not be published.