शिक्षा परिवर्तनको शिखर शैली हो

766

– मिन बहादुर रोकाया

हिजोको दुनियाँको परिवर्तन के, कति, कहाँ र कसरी भएको थियो ? इतिहासहरु साँक्षी नै छन् । त्यस्तै आजको दुनियाँको परिवर्तनको दायरा के, कहाँ, कति फराकिलो छ ? वर्तमान विश्व स्वयम आफैमा जानकार छ । विगतका जस्ता लडाई, झगडा र युद्ध अपराधहरुले मात्रै संसार परिवर्तनको सपना साकार पार्न सहज नहुने भएकोले अब अलि पृथक ढंग र शैली अंगिकार गर्नु आजको आवश्यकता हो । संसार परिवर्तनको शिखर शैली भनेको नै शिक्षा हो । आजको दुनियाँको शैक्षिक क्षेत्रको वास्तविकताको अवस्थालाई आँकलन गर्दै हामी अबको हाम्रो परिवर्तित संसारको भविष्य के होला भनि अनुमान गर्न सक्छौं । विगतका केही तथ्यहरुले केही समय मानवीय जगतलाई स्तब्ध तुल्याएको भएता पनि आजसम्म आइपुग्दा मुलुकले आफ्ना धेरै सिंडीहरु पार गरिसकेको प्रत्यक्ष महसुश गर्न सकिन्छ ।

सन् १९१४ जुलाइ २८ देखि सन् १९१९ जुन् २८ सम्म भएको प्रथम विश्व युद्धमा होमिएका इटाली, जर्मनी,  बुल्गेरीया, अमेरिका र रोमानियामा ५ वर्ष लामो युद्धको समयमा लगभग ३३ करोड ६० लाख अर्ब पाउण्ड नष्ट भयो भने १ करोड मानिसहरु मारिए । युद्धको अन्त्यपछि सबै मित्रराष्ट्र मिलेर जर्मनीको घोर अपमान गरे । यस युद्वमा जर्मनीले ठूलो घाटा बेहोर्नु प¥यो । यति मात्रै नभएर यस यस युद्धकै कारण विश्वका  विभिन्न मुलुकहरुमा घमण्डी र निरंकुश राजतन्त्रको अन्त्यभइ राष्ट्रपति प्रणाली लागु भयो । युद्धको कारणले सम्पत्ति, जनशक्ति, उद्योग तथा व्यापार नष्ट भएकोले विश्वमा आर्थिक संकटको स्थिति देखा प¥यो । यसका साथै हत्या, हिंसा, हातहतियार र सम्पत्तिको बलमा व्यक्तिहरु शक्तिशाली बन्ने क्रम सुरु भयो । त्यति बेला जर्मनीमा हिटलर, इटलीमा मुसोलीनी र स्पेनका फ्रान्को निकै शक्तिशाली बनेका बलिया उदाहरणहरु हुन् । अतः प्रथम विश्व युद्धका कारण धनजनको ठूलो क्षति मात्रै भएन, विश्वव्यापी आर्थिक संकट सिर्जना हुनुको साथै अधिनायकवादको उदय र राष्ट्र संघको स्थापना पनि भयो । विश्व शान्ति र आपसी सहयोगको उद्देश्य बोकेर १० जनवरी १९२० मा राष्ट्र संघको स्थापना भयो ।

प्रथम विश्व युद्धको समाप्ती संगै प्रथम विश्व युद्धमा जर्मनीले हार स्वीकार गरेकै दिन अर्थात २८ जुन १९१९ मा जर्मनीलाई भर्सेलिज सन्धिमा हस्ताक्षर गर्न बाध्य बनाइएको थियो । यो सन्धि फ्रान्सको राजधानी शहर पेरिशमा रहेको भर्सेलिज नामक दरवारमा सम्पन्न भएको थियो । यस सन्धिलाई एक पक्षिय र अपमानजनक ठानी जर्मनीले बदला लिने प्रयास ग¥यो । २० वर्षपछि अर्थात १ सेप्टेम्वर १९३९ मा फेरी दोस्रो विश्वयुद्धको विजारोपण भयो । जर्मनी, जापान र इटाली धुरी राष्ट्रको रुपमा र बेलायत, अमेरिका,  फ्रान्स र रुस मित्र राष्ट्रको रुपमा रहेर भएको दोस्रो विश्व युद्धमा करिब ६ वर्षसम्म लामो लडाई चल्यो । १४ अगष्ट १९४५ सम्म अनवरत रुपमा चलेको यस युद्धमा करिब ११०० खर्ब अमेरिकी डलर खर्च भयो भने २ करोड २० लाख जति मानिसहरुको ज्यान गएको थियो ।

लडाई लडेर, एक आपसमा भिंडेर, एकले अर्कोलाई सिध्याएर, धनजनको खरानी बनाएर कोही र केही रहे केही होला र कोहीले मुलुकमा राज गरौंला भन्ने सपना बोक्नु सान्दर्भिक हुदैन भन्ने ठानेर नै आज विश्वका विभिन्न मुलुकहरुका बिचमा आपसी भाइचाराको सम्बन्धलाई मजबुद बनाउँदै लैजाने कार्य भइरहेको छ । आफ्नो देश र जातिप्रतिको घमण्डलाई एवं उग्रराष्ट्रवादको पन त्यागेर आफ्नो देशप्रतिको माया वा सदभावलाई एवं राष्ट्रवादलाई अंगिकार गरे विश्व शान्ति स्थापनाको संभावना बढ्नुको साथै विकास निर्माणमा सहयोग पुग्दै जाने र आफू सहित अरुलाई पनि कुनै हानी पुग्दैन भन्ने कुराको मनन् गर्न सघाउँने कार्य अरु कसैले गर्दछ भने त्यो शिक्षाले गर्दछ । राष्ट्रवाद र उग्रराष्ट्रवाद अनि साम्राज्यवाद र उपनिवेशवाद त्यस्तै युद्ध, अपराध र शान्ति अनि विकास र विनाश,  खोजी,  अनुसन्धान अनि ज्ञान र विज्ञान आदि सबै विषय र विधामा सहि विवेकको विकाश हुन्छ भने त्यो शिक्षाबाट मात्रै हुन्छ । संसारका सबै थरी विधाका पर्दाहरु सहजै उघारेर हेर्न , बुझ्न र बुझाउन सघाउने मानिसको एउटा जीवन्त मार्ग शिक्षा हो भन्दा अत्युक्ति नहोला ।

संसारको परिवर्तन सम्भव  छ भने त्यो केबल शिक्षाबाट मात्र सम्भव छ । एक आपसी टक्रावको धरातलमा उभिएका मुलूकहरुको बिचमा मितेरी गाँस्न सघाउने, विश्व भाइ बन्धुत्वको भावनामा सकारात्मक रहन सघाउने र आपसी मित्रतामा जोड दिने देखि लिएर विश्वमा शान्ति सु व्यवस्था कायम गर्ने, मानव अधिकारको सुश्चितता गर्ने, जीवन र जगतको सुरक्षाको प्रत्याभूति गर्ने, समानता र सुशासनको लागि मार्ग प्रशस्त गर्ने, खोज अनुसन्धान र ज्ञान विज्ञानमा उत्कृष्ठता प्रदान गर्ने र संसारलाई सिर्जनशिल एवं उत्पादनमुलक बनाउन सघाउने कार्य शिक्षाकै कारण सम्भव  रहन्छ र रहेको छ पनि । यो वाक्यांश सत्य हो भन्ने कुरा दुनियाँमा नबुझ्ने सायदै विरलै होलान् । त्यही भएर पनि होला । हरेक क्षेत्रका अगुवाईकर्ताहरुले आफ्नो मञ्चमा बोल्ने हरेक विषयवस्तुहरुको शिर्षक प्रमुखको रुपमा शिक्षालाई लिने गरेको पाइन्छ । शिक्षा गलत भयो, हामीलाई शिक्षाले गलत सिकायो, हामीले आफूलाई सहि सिकाउने शिक्षा नै पाएनौ, हाम्रो शिक्षा राम्रो हुँदै भएन, हाम्रो र हामीलाई आवश्यक पर्ने शिक्षा राम्रो, स्तरीय, युगानुकुल बनाउने शिक्षा निति नै बनेन, हामी सही शिक्षा नीति तथा कार्यक्रम कहिले पाउने ? सही  शिक्षा नीति तथा कार्यक्रमका लागि हामीले सरकार र मान्छे नै पाएनौं आदि, जस्ता प्रशस्तै लोकाचारयुक्त वाक्यांशहरु जनताका अगाडी सुन्नमा आइरहन्छन् । यति मात्रै पनि होइन । जुन शिक्षा आर्जन गरेकै कारण केही भए पनि टाठोबाँठो भएर गलत भएको ठाउँमा गलत भयो, अन्याय भएको ठाउँमा अन्याय भयो, सही भएको ठाउँमा सही भयो, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने बनेको भएर पनि हाम्रो शिक्षा बुर्जुवा भयो, यो शिक्षाको केही कामै छैन, शिक्षाको संरचना फेरिनु पर्दछ, यसले हामी र हाम्रो अवस्थालाई सधैं ज्युकात्युँ राख्छ, नौलो पनको महसुश नै गर्ने मौका दिंदैन । जस्ता थुप्रै अभिव्यक्तिहरु ओकल्ने गरेको पाइन्छ । हुन त भन्ने न हो, भन्दा वा बोल्दा के नै फरक पर्छ र भन्ने पनि लाग्न सक्छ ।

यति हुँदाहुँदै पनि नेपालको राजनीतिक इतिहासले नेपाली भूगोल भित्र थुप्रै खालका परिवर्तनहरु देखाइ सकेको छ । राजनीतिक वृत्तमा शिक्षाका सन्दर्भमा बोल्दै गर्दा पछिल्लो समयमा सबै भन्दा बढी प्रयोगमा आएको शब्द हो बुर्जुवा शिक्षा । शिक्षा आर्जन गरेकै कारण अगुवाइ र नेतृत्वमा पुगेकाहरुले पनि यो शब्दलाई नै सबैभन्दा बढी प्रयोग गरेको पाइन्छ । बुर्जुवा शब्दले समाजशास्त्र र राजनीतिक शास्त्रमा पूँजिपति वर्गको उपल्लो सामाजिक स्तर भएको वर्गलाई जनाउँछ । पश्चिमा समाजमा १८ औं शताब्तिको अन्त्यतिर देखि प्रयोगमा आएको यो शब्दले कुनै मानिससंग भएको पूँजि र त्यससंग सम्बन्धित संस्कृतिको कारण गरिएको वर्गीकरणको बयान गर्दछ । समकालिन शैक्षिक तथा राजनीतिक सिद्धान्त अनुसार बुर्जुवा भन्नाले पूँजिपति समाजको शासक वर्गलाई चिनिन्छ । माक्र्सवादी सिद्धान्तमा उत्पादनका साधनहरुमा यो वर्गको चिरस्थायी रुपमा स्वामित्व रहेको मान्यता राखिन्छ ।

नेपालको राजनीति धरातलमा भएका जे जति परिवर्तहरु छन्, ती परिवर्तनहरु गर्ने क्रममा सबै खालका आवाजहरु ठोक्किने शिक्षा प्रणाली नफेरी भएकै छैन भन्ने मुठ्ठीहरु कतै ओझेलमा पर्ने त होइनन् भन्ने प्रश्न यति बेला अलि बढी नै पेचिलो बनिरहेको छ । देशको १०४ वर्षे जहाँनिया राणाशासन फाल्ने, ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था फेर्ने, देशमा प्रजातन्त्र स्थापना गरेर प्रजातन्त्रलाई लोकतन्त्र हुँदै गणतन्त्र र संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाका रुपमा परिस्कृत र परिमार्जन गर्न सघाउने शिक्षा त्यही एउटै शिक्षा हो जो यस धरातलमा हिजो देखि आजसम्म पनि छ । यति बेला देशले पाएको सरकार तिनै शिक्षा क्षेत्रमा परिवर्त चाहानेहरुको संख्या बहुसंख्यक रहेको अवस्थामा पनि बोल्दै आएको जस्तो परिवर्तन गर्न सकिएन भने कहिले  सकिएला ? शिक्षाले अवस्था फेर्ने कि अवस्था अनुसार शिक्षा ? राष्ट्रको वर्तमान आवश्यकता, व्यक्ति, समाज एवं समुदायको चाहाना अनुसार शिक्षा उत्पादन केन्द्रित बनाइएन,  पूरानै शैलीमा निरन्तर जान खोज्यो, सीप र सिर्जनामा व्यवास्ता गरियो, शिक्षा भित्रको व्यापारीकरण अन्त्य गर्न खोजिएन र शिक्षालाई उत्पादन र जीवनसँग प्रत्यक्ष जोड्ने प्रयास गरिएन भने शिक्षा क्षेत्रभित्र पुनः पनि परिवर्तन असम्भव प्राय बढ्दै जाने देखिन्छ ।

(लेखक श्री घण्टेश्वर माध्यमिक विद्यालय जोरायल डोटीका शिक्षक हुन् ।)

Leave A Reply

Your email address will not be published.