सुदूरपश्चिममा गौरा :आज गौराघरमा भित्र्याईंदै

483

भाद्र ९, डोटी ।

सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिन । ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय स्तरमा आजको दिन गौरालाई भितरीकी गौरा अथवा ठूली गौरा पनि भन्ने गरिन्छ । ठूली गौराको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् ।

बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ । गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् ।

ब्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने गरिन्छ ।
गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ ।
गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौराघरबाट गौराखलामा लगेर गौराको पूजा गर्ने गरिन्छ । यस वर्ष कोरोना महामारीका कारण सबै मानिस एकै ठाउँमा जम्मा भएर कुनै पनि चाडवाड मनाउन नपाईएकाले खल्लो महशुस भएको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.