जोरायल १ को मणिपुर–खार–तोली सडक उद्धघाटन, झण्डै डेढ सय परिवार वडा केन्द्रसँग सडक पहुँचमा
चैत १३, (जोरायल) डोटी ।
डोटीको जोरायल गाउँपालिका वडा नं. १ को मणिपुर–खार–तोली सडकको मंगलबार उद्घाटन गरिएको छ ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एक कार्यक्रमका बिच रिवन काटेर उक्त सडकको उद्घाटन गरेका हुन् ।
वडाको केन्द्रसम्म सडक ट्रयाक खुलेपछि स्थानीय निकै हर्षित भएको सो सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष यादव बहादुर मल्लले बताए ।
खार तोली क्षेत्रमा केहि वर्ष पहिले नै सडक निर्माण भैसकेको भएता पनि वडाको केन्द्र मणिपुरसम्म करिब २ किलो मिटर सडक निर्माण कार्य बाँकी रहेकोले सडक पहुँच थिएन ।
उक्त सडक निर्माण भएपछि करिब तीन सय घर परिवारका एक हजार पाँच सय जति स्थानिय बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय युवा खडक मल्लले बताए ।
वडाभित्र करिब ९५ प्रतिशत बस्तीहरु सडक सञ्जालसँग जोडिईसकेको र बाँकी रहेका बस्तीहरुमा आगामी आर्थिक वर्षभित्र सडक सञ्जालसँग जोड्ने लक्ष्य लिएको जोरायल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष जगत बहादुर मल्लले जानकारी दिए ।
स्थानीयद्वारा गाउँपालिकालाई १० बुँदे ज्ञापन पत्र
यसैबिच खार तोली क्षेत्रका स्थानीय बासिन्दाले जोरायल गाउँपालिका अध्यक्ष ओझालाई १० बुँदे माग सहित ज्ञापन पत्र पनि बुझाएका छन् । निरीक्षण तथा भेटघाटका क्रममा तिलाचौडस्थित मल्ल तरकारी फर्मको अवलोकनका क्रममा उक्त ज्ञापन पत्र बुझाइएको थियो ।
सिल्तडा गाड तिलाचौड र खोले गाड झोलुङ्गे पुल निर्माण, कृषि एम्बुलेन्स, ऐरोडा–सिल्तडा–बाल्खेत तटबन्ध, तल्लो धपडेनी खानेपानी, गोगनपानी–तिलाचौड सडक, पुरान–तल्लो तुषे विद्युत लाइन विस्तार, सिल्तडा र खार बृहत सिँचाईं, खार गाउँमा कालिका मन्दिर निर्माण लगाएत योजना माग राखि स्थानीय बासीको तर्फबाट युवा तथा अगुवा कृषक खडक मल्लले ज्ञापन पत्र बुझाएका हुन् ।
विद्यालयमा अवलोकन निरिक्षण
यसैबिच जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा सहित उपाध्यक्ष जमुना बोहरा, प्रमूख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, वडा नं. १ का अध्यक्ष जगत मल्ल, योजना अधिकृत चन्द्र बहादुर ऐडी, सब इन्जिनियर सुरेन्द्र शाह लगाएत विभिन्न सरोकारवालाहरुको सहभागितामा सो वडाको गोगनपानी स्थित जनता आधारभुत विद्यालय र गैरास्थित गौरीशंकर माध्यमिक विद्यालयमा निरिक्षण तथा भेटघाट गरेका छन् ।
जनता आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर डाँगी र गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मानन्द जोशी लगाएतको टिमले विद्यालयको वस्तुस्थितीबारे जानकारी गराउनुका साथै तत्कालका आवश्यकताहरु बारे माग गरेका छन् ।
लगत्तै उक्त टिमले बेरुवाटा–नङानी विद्युत लाइन विस्तार र बेरुवाटा–सुन्लेक सडकको समेत अनुगमन, निरिक्षण गरेको वडा नं. १ का वडा सदस्य गम बहादुर खत्रीले जानकारी दिए ।
स्थलगत निरिक्षण तथा भेटघाटका क्रममा हेरिएका विकास निर्माणका योजनाहरु सकारात्मक ढङ्गले अगाडी बढेको पाईएको र थप्रै योजनाहरुबारे माग पनि आएकाले आवश्यकता हेरी प्राथमिकता क्रममा राखेर सम्बोधन गर्दै जाने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
सिमित श्रोत साधनभित्र रहेर विभिन्न खालका योजनाहरु सञ्चालन गर्नुपर्ने भएकाले पालिकाले श्रोतका आधारमा विकासका योजनाहरुलाई गति दिने उनले बताए ।
निर्माण सम्पन्न भएका योजनाहरुको भुक्तानी प्रक्रिया अगाडी बढाउन पनि अनुगमन अनिवार्य हुने हुँदा स्थलगत अवलोकन गरिएको र कामहरु सन्तोषजनक पाईएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताईन् ।
