आदर्श देहीमाण्डौको दुर्गा मन्दिर विकास र प्रचारप्रसारको पर्खाइमा
– गोपाल बिष्ट
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ देहीमाण्डौमा रहेको दुर्गा मन्दिर विकास र प्रचार प्रसारको पर्खाइमा रहेको छ ।
धार्मिक, पर्यटकीय एवं ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर वरिपरि द्यार (रुखको प्रजाती) का रूखले घेरेको, डाडाको बीचमा फराकिलो ठाउँ भएको प्राकृतिक रूपमा पनि सौर्न्दर्यपूर्ण ठाउँमा अवस्थित छ । दुईवटा ऐतिहासिक देवल र एक भण्डार पेटिका सहित रहेको दुर्गा मन्दिर विकास र प्रचार प्रसारमा सरकारको ध्यान जान नसक्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।
पर्यटकीय सम्भावना बोकेको दुर्गामाता मन्दिरमा परम्परागत रूपमा पहिले देखि नै दुर्गाकी देवीको पूजा आराधना गरिन्छ । वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाका दिन विशेष गरेर देहि जात्रा मनाउने गरेको स्थानीय राम बोहरा बताउँछन् । इतिहास बोकेको उक्त क्षेत्रमा अहिलेसम्म उचित पुर्वाधार विकास, संरक्षण, सम्बर्द्धन र प्रचारप्रसार भएको पाएको छैन। धार्मिक महत्त्वको दृष्टिकोणले यसको बेग्लै पहिचान रहेको स्थानीय बताउँछन्।

पुरानो किवदन्ती अनुसार जुम्लाका राजाले यहाँ राज गरेका हुनाले यहाँको मन्दिर निर्माण गरेको बताइन्छ । गोलो आकृतिको पुरानो ढुङ्गामा तरवारले बीचमा काटेर दुई वटा टुक्रा पारेको रोचक दृश्य अहिलेसम्म पनि हेर्न सकिन्छ । यसैगरी दुर्गाकी देवीको पूजापछि मनले चिताएको मनले चाहेको पूरा हुँदै आएको धार्मिक विश्वास पाइन्छ । मन्दिरको दिगो विकासका लागि मन्दिर व्यवस्थापन समितिले अहिलेसम्म आवश्यक पहल गर्नसकेको देखिदैन । सम्बन्धित वडा र स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन। यो मन्दिरलाई अझ व्यवस्थापन गर्न स्थानीय सरकार र वडा सरकारको महत्वपूर्ण भूमिका हुनु जरुरी छ । यो मन्दिरलाई भगवती देवी अथवा देहीमाणु कि देवी भनेर पनि चिन्ने गरेको पाइन्छ। यस मन्दिरलाई १२ गाउँकी जाँत भनेर चिनिदै आएको पाइन्छ। पहिले पहिलेका पुस्तामा १२ गाउँका देउरा ल्याउने हुनाले १२ गाउँकी जाँत भनिएको हो र अहिले भने तीन गाउँको मात्रै देउरो आउने चलन छ। यहाँ साँझकाे बेला बाजागाजा बजाउने, धामी झाँक्री नचाउने, काम्ने गाँज नचाउने, लालछाता नचाउने, चौलो हान्ने प्रचलन रहँदै आएको पाइन्छ। पूर्णिमाको दिनमा जात्रा बिहान पूजा आराधना गरिन्छ। यहाँ दिउँसोतिर विभिन्न ठाउँबाट मेला हेर्न आउनेको लर्को देखिन्छ। विभिन्न ठाउँबाट स्वदेश तथा विदेशबाट भक्तजन दर्शनार्थी तीर्थयात्री मेला हेर्न टाढा टाढाबाट आउने गर्दछन्। देही जात्राको लागि विभिन्न कलाकारहरूले गीतमा पनि समेटेको पाइन्छ । जस अनुसार देहिमाणु द्यारका रुख ,एक दुई बासो र साली भिनाजुकी ठौर, हुन्या रैछ हासै हाँसो लगायतका गीत निकाले रहेका छन् । तथापि सम्बद्ध जिम्मेवार पक्षबाट उचित प्रचारप्रसार र दिगो विकास हुन नसकेको स्थानीय बासीहरू दुखेसो पोख्छन्।
धार्मिक एवं पर्यटकीय महत्त्व बोकेको दुर्गा मन्दिरको दिगो विकास र प्रचारप्रसार गर्न सके यस क्षेत्रमा पर्यटन प्रवर्द्धन हुने देखिन्छ । यस ठाउँबाट देखिने सैपाल हिमालको पनि अवलोकन गर्नुका साथसाथै शान्त वातावरणमा पर्यटक भित्र्याउन सकियो भने मन्दिर विकासमा टेवा पुग्नेछ र आदर्श गाउँपालिकाको पहिचान बढ्दै जानेछ । यति मात्रै नभएर यस क्षेत्रमा व्यापार व्यवसायमा वृद्धि भइ आर्थिक विकासमा समेत सहयाेग पुग्ने देखिन्छ।
(लेखक डोटीको आदर्श गाउँपालिका -४, देहि गाउँका स्थानीय बासिन्दा पनि हुन् ।)