डोटीमा कसरी मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस ?
बैशाख २०, डोटी ।
आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैछ । डोटीमा पनि दिवस मनाइएको छ ।
शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम सिलगढीमा ऐक्यबद्धता प्रभातफेरी निकालेर दिवस मनाइएको हो ।
नेपाल पत्रकार महासंघका डाेटी शाखाको आयोजनामा महासंघको कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीपश्चात कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका डाेटीका अध्यक्ष प्रकाश बमले वर्तमान सरकारले मिडियामैत्री वातावरण सिर्जना गर्न नसकेको औंल्याए ।
सम्पूर्ण मिडियाकर्मीहरुलाई पत्रकार आचारसंहिताभित्र रहेर पेशागत सक्रियता जनाउन आग्रह गर्दै पछिल्लो समयमा वर्तमान सरकारले मिडियालाई निशेधको वातावरण सिर्जना गरेको र स्थानीय सरकारले पनि जिल्लामा सक्रिय सञ्चारमाध्यमको अवस्था बुझ्नुपर्नेमा जोड दिए ।
नागरिकको सूचनाको हकलाई स्थापित गर्न मिडियालाई सशक्त बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्नेमा उनलेे जोड दिए ।
त्यस्तै नेपाल बार एशोसियन डोटीका सचिव डण्डीराज ओझाले सामाजिक सञ्जाजालले मिडियालाई झै विश्वास गर्न सकिने वातावरण नबनेको भए पनि आम सञ्चारमाध्यमहरुले पनि कर्तव्यनिष्ठ ढंगले अगाडि बढ्न नसकेको बताए ।
त्यसैगरी गैर सरकारी संस्था महासंघ डोटीका सहसचिव भक्तराज उपाध्यायले आम नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न प्रेस स्वतन्त्रता आवश्यक रहेको र मिडियाकर्मीको पक्षमा गैसस महासंघको पनि ऐक्यबद्धता रहेको बताए ।
प्रभातफेरी कार्यक्रममा डोटी जिल्लामा क्रियाशील विभिन्न संचारकर्मीहरु र नागरिक समाज संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।