सिलगढीका वेवारिसे सडक युवा रामचन्द्रको उद्धार, मानव सेवा आश्रम धनगढी पठाईयो
असार ११, डोटी ।
वषौंदेखि डोटी सदरमुकाम सिलगढीमा वेवारिसे अवस्थामा रहेका एक सडक युवाको विहीबार उद्धार गरिएको छ ।
वास्तविक नाम थर र ठेगाना केही थाहा नभएका रामचन्द्र भनेर चिनिने अन्दाजी ३५/३६ वर्षका ति युवाको उद्धार गरी धनगढीस्थित मानव सेवा आश्रममा पठाईएको छ ।
ति युवा बारेमा नजर अनलाइन डोटीका सम्पादक पत्रकार झलक पालीले हिजो बुधबार फेसबुक पोस्टमार्फत खबरदारी गरेपश्चात उनको उद्धार गरिएको हो ।
फेसबुकमा पोष्ट देख्ने वित्तिकै दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले वडा कार्यालय र जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक कागजात सहित ति युवाको उद्धारका लागि प्रक्रिया अगाडी बढाएका थिए ।
विहीबार बिहानै अध्यक्ष मलासी, पत्रकार पाली र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले रामचन्द्रको खोजी गरेका थिए ।
दिनभर खोजी गर्ने क्रममा सिलगढीको नाचन्थली मोडमा दिउँसो २ बजेर ३६ मिनेटमा पत्रकार झलक पालीले नै ति युवालाई फेला पारेपछि उनको उद्धार गरिएको हो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी दिउँसो साढे तीन बजेतिर वडा अध्यक्ष नरेश मलासी आफैले धनगढी लगेर गएका हुन् । मानवीय सेवा गर्नु एक मानवको धर्म भएको र त्यसमा पनि आफ्नै वडा क्षेत्रमा वर्षाैंदेखि सडकमा देखिने युवाको व्यवस्थापन गर्नु आफ्नो दायित्व भएको वडा अध्यक्ष मलासीले बताए ।
मानसिक स्वास्थ्य समस्या भएका र खासै नबोल्ने स्वभावका ति युवालाई सिलगढीमा विभिन्न काममा बिना पारिश्रमिक कडा परिश्रममा समेत प्रयोग हुने गरेको थियो ।
अब ति युवालाई भोलि शुक्रबार विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई आवश्यक औषधोपचार सहित पालनपोषण गरिने मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकालले बताए ।
ति युवाको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बझाङको जयपृथ्वि नगरपालिका ३ केतुवाडाका खड्का परिवार सम्पर्कमा आएका छन् । राजमल बहादुर खड्का र जमुना खड्काका हाल धनगढी बस्ने छोरी कल्पना खड्काले फोटो हेर्दा आफ्नो दाइको जस्तै लागेकाले सम्पर्क गरेको नजर अनलाइनलाई बताईन् । उनले भनिन्–’हाम्रो एक जना मात्रै दाजु थिए । वि.सं.२०५९/६० सालतिर हो । नेपालमा संकटकाल थियो । हाम्रा दाजु कक्षा ९ मा भर्ना भएको अवस्थामा जेठ महिनाको पहिलो हप्तातिर घरबाट भागेर भारत केदारनाथ पुगेका थिए । त्यसपछि बुबा पनि भारत पुगेर दाजुलाई भेट्नु भएको थियो । एक नेपालीकै होटलमा काम गर्दै गरेका उनी दुइ तिन दिनमै त्यहाँबाट भागेपछि भने सम्पर्क भएन ।’
लामो समयसम्म सिलगढीमा देखिएका युवाको नाम पनि रामचन्द्र नै रहेको र आफ्नो दाजुको नाम पनि रामचन्द्र खड्का रहेकाले आफ्नो परिवारलाई चासो बढेको उनले सुनाइन् ।
‘चार दिदिबहिनीमध्ये दुइ बहिनीको विवाह भैसकेको छ भने दुइ बहिनी र आमाबुबा मात्रै छन्’- कल्पनाले भनिन्–’घरमा आमा बिरामी छन् । बुबा र एक बहिनी इण्डियामै छन् । घर परिवार पीडामा छ ।’
फेसबुकमा फोटो देखेपछि आफ्नै दाजु हो कि भन्ने लागेर हाम्रो परिवारमा हिजोबाट एकातिर आशा पलाएको छ भने अर्काेतिर झन् पीडा बोध भएको उनले सुनाईन् । सिलगढीबाट उद्धार गरिएका ति युवा आफ्ना दाइ हुन वा होइनन् भनि अब धनगढीमै भेटेर बुझ्ने कल्पनाले बताईन् । कल्पनासँगै अन्य ४/५ जना खड्का परिवारका सदस्यहरु हाम्रो सम्पर्कमा आएका छन् ।
कल्पनाले उनका दाजुको २२ वर्ष अगाडीको फोटो समेत नजर अनलाइनलाई पठाएकी छन् ।
हेर्नुहोस् रामचन्द्र खड्काको २२ वर्ष पहिलेको तस्बिर : 