निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भुमिकाबारे अन्तरक्रिया सम्पन्न
फाल्गुन ६, डोटी ।
आगामी बैशाख १७ र २७ गते दुइ चरणमा तोकिएको मध्यावधी निर्वाचनलाई लक्ष्यित गरी निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भुमिकाबारे अन्तरक्रिया कार्यक्रम विहीबार सिलगढीमा सम्पन्न भएको छ ।
आचारसंहिताको मस्यौदामाथि सरोकारवालाहरुबाट सुझाव संकलनका लागि जिल्ला निर्वाचन कार्यालय डोटीको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय डोटीका जिल्ला निर्वाचन अधिकारी दल बहादुर मलासीले निर्वाचन आयोगले बनाएको मस्यौदा आचारसंहिता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष वेणिमाधाव जोशीले आचार संहितामा जेसुकै उल्लेख भए पनि साँढेहरुका कारण स्वतन्त्र मतदान हुनै नसक्ने धारणा राखे । आचारसंहिता मिच्ने, मतदाता बिरामी भएको वा आँखा देख्न नसक्ने बाहनामा दलका प्रतिनिधीले भोट हाल्नेहरुलाई नेता जोशीले साँढेको संज्ञा दिएका हुन् ।
त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका डोटी अध्यक्ष चक्र मल्लले प्रतिनिधी सभाको निर्वाचन हुन करिब २ वर्ष बाँकी रहेकाले विस्तारै मतदाता परिचय बनाउँला भनेर बसेका मतदाताहरुका लागि अन्याय भएको बताए । एकाएक गत पुष ५ गते प्रतिनिधी सभा विघटन भई मध्यावधी निर्वाचनको मिति घोषणा भएकाले मतदाता परिचय पत्र बनाउन नपाएका मतदाताहरुले मतदान गर्न नपाउने अवस्था आएको उनले बताए ।
त्यस्तै आचारसंहिताको मस्यौदामा रहेका प्रचारप्रसार सम्बन्धी विषयवस्तु र सरकारी सवारी साधनको प्रयोगका विषयमा पनि सहभागिहरुले छलफल गरेका छन् । निर्वाचनमा सरकारी सवारी साधनहरु दलका कार्यक्रममा समेत प्रयोग हुने गरेको
सरोकारवालाहरुले सवाल उठान गरेका हुन् ।
आचारसंहिता सबैका लागि नैतिक बन्धन भएकाले आचारसंहिता पालना नगर्नेहरुलाई कानुन बमोजिम कानुन हुनुपर्ने सहभागिहरुको जोड थियो ।
कार्यक्रमको समापन गर्दै प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले आचारसंहिताबारे निर्वाचनमा हुने अभ्यास तथा त्यसमा रहेका त्रुटीहरुका आधारमा सुधार गर्दै अगाडी बढ्नुपर्ने र आचारसंहिता पालनामा सबै जिम्मेवार बन्नुपर्ने बताए ।