राष्ट्रिय झण्डा ओढाएर १७ औं दिनमा भागरथीको अन्त्येष्टि
फाल्गुन ७, बैतडी ।
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।
मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् भने शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए ।
भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।
शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो । गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थमा मृत भेटिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।
भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको थियो । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् । – रासस