प.प.मा.वि.को ४ कोठे छात्राबास भवनको शिलान्यास
फाल्गुन १३, डोटी ।
वि.सं. २००४ सालमा स्थापित डोटी सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको छात्राबासको ४ कोठे भवन विहिबार शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख बजेटमा बन्ने भवनको सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले शिलान्यास गरेका हुन् ।
सो बजेटबाट ४ कोठे पक्की भवनसँगै २/२ कोठाका २ वटा पक्की शौचालय समेत निर्माण गरिने पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज जोशीले बताए ।
स्वयं विद्यालय व्यवस्थापन समितिले नै निर्माण कार्य गरिरहेको उक्त भवन निर्माणको काम आगामी बैशाखभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष जोशीले जानकारी दिए ।
वि.सं. २०४० सालमा स्थापना भएको उक्त महिला छात्राबासमा २० जना छात्राहरु राख्ने गरिन्छ । जहाँ सेती अञ्चलका पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामका ५/५ जना छात्राहरुलाई राख्ने गरिन्छ । छात्राबासमा पहिले कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई राखिन्थ्यो । बिचमा कक्षा ९ र १० का छात्राहरुलाई राख्ने गरिएकोमा अहिले कक्षा ९ देखि १२ का माध्यमिक तहका छात्राहरुलाई राख्ने गरिएको विद्यालयका प्रधानाध्यापक गीता जोशीले जानकारी दिइन् ।
