कविता : सायलको महिमा
– रविन्द्रप्रसाद जोशी
कालाढुङ्गा भगवती र देव जति छन – आवश्यकै आजको ।
प्रणामै पनि गर्दछु घरी घरी – मष्टा महाराजको ।।
सत्कर्मै पनि गर्दछन जनहरु – छैनन कुनै निचमा ।
चारैतर्फ बिराज छन भगवती – शैलावती बिचमा ।।
सर्वाङ्गै हरियो छ बिचबिचमा – फाँट खेतबारीहरु ।
कृषिमै दिनरात तल्लीन भए – पुरुष र नारीहरु ।।
साँस्कृतिक चलनै बडो छ रसिलो – पृथक चलनको पनि ।
जाग्दैछन नव युवयुवतीहरु – गरौ जगेर्ना भनी ।।
भूवा पर्व दशै र ओल्के पनि छन – बिसौं र माघी अरु ।
गौरा पर्व सहित तीज पनि छन – छन उत्तराइनीहरु ।।
अर्बुदेश्वर बस्दछन गण सहित – शैलावती तिरमा ।
देखिन्छन मनमोहकै लुटीपुटी – भेल्छेडना शीरमा ।।
गौरीघाट भएर बग्दछ जलै – सिन्चित म गर्छु पनि ।
त्रिवेणी पनि बग्दछिन खुशी हुँदै – जानेछु सायलै भनी ।।
खप्तडको हरियोपना छ नजिकै – हावा छ स्वच्छै यहाँ ।
स्वर्गैतुल्य भएर प्राकृतिक धन – आनन्द आउँछ जहाँ ।।
धानबाली गहुँ ती आलु र मकै – कोदो र भट्मास अरु ।
फल्दैछन यी खुबै सगर्व सहितै – फर्सी र काँक्राहरु।।
ब्राह्मण क्षेत्री दलित सबै जनहरु – बस्छन रमाइकन ।
प्रशस्तै जल अनि जङ्गलहरु – सारै लोभ्याउने मन ।।