आज साउने संक्रान्ति, सु.प.मा पनि पर्वका रुपमा मनाइदै

392

श्रावण १, डोटी ।
आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्वका रुपमा मनाईँदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणायनतिर गई कर्कट रेखामाथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
आजका दिन, असारे वर्षा र हिलोबाट आउन सक्ने विभिन्न रोगहरुबाट बच्न लुतो फाल्ने परम्परा रहेको छ । छालाजन्य रोग दाद, लुतो, खटिरा आदिबाट बच्न कुकुरडाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी जस्ता बनस्पति जलाएर घरको आँगनबाट साँझ चारै दिशातर्फ अगुल्टो अर्थात लुतो फाल्ने प्रचलन छ । यसैबीच सुदूरपश्चिममा पनि आज साउने संक्रान्ती पर्व धुमधामका साथ मनाईदैछ ।
आजका दिन यस क्षेत्रमा खेतबारीमा रोग ब्यादी नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेल लगाएतका हरिया बनस्पतीको हर्यालो हाल्ने प्रचलन छ । त्यस्तै हरेलो (वर्षातका कारण स्वास्थ्यमा असर) नलाग्ने विश्वासका साथ हरिया सागपातहरु पकाएर खाने गरिन्छ, भने ब्रामण र चेलीबेटीहरुलाई दान दक्षिणा दिने गरिन्छ । त्यस्तै साउन महिनाभरीमा खिर पकाएर खाने तथा पराई घर गएका चेलीबेटीहरुलाई मिठा–मिठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ ।
साथै आजकै दिनदेखि महिनाभरि नै हिन्दु नारीहरुले हातमा हरिया चुरा, हरियो सारी र मेहन्दी लगाउने गर्दछन् । साउनमा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, विद्या, धन लगायत विषयमा सफलता प्राप्त हुने विश्वास वैदिकशास्त्रमा उल्लेख गरिएको संस्कृतिविद्हरु बताउँदछन् ।
विशेषगरी शिवजीलाई साउनको सोमबार जल, दूध, भाङ, धतुरो चढाइने गरिन्छ । सुदुर पश्चिमका धेरै जसो जिल्लाहरुमा धार्मिक विश्वासका साथ बत्ति बाल्ने अर्थात स्थानिय भाषामा कालो महिना आजदेखि सुरु भएको छ । साउन सक्रान्तिदेखि सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा साउन महिनालाई बत्ति बाल्ने अर्थात विषेश धार्मिक महिनाको रुपमा लिई मन्दिरमा पाठपुजा गर्ने काम सुरु भएको छ । यहाँका जिल्लाहरुमा आजको दिनदेखि भक्तजनहरुले बिहानै उठि नुहाईधुवाई गरि १ महिनासम्म एक छाक व्रत बसि पालो अनुसार स्थानिय सबै मन्दिरमा पुगि पुजा पाठ गर्ने चलन रहेको छ । आजको दिनदेखि करिब एक महिनासम्म ब्रत बसि मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुरा हुनुका साथै अन्जानमा गरिएका पाप कर्महरु नष्ट हुने धार्मिक विश्वास छ । साउनमा अधिकांश मानिसहरूले माछा मासुजन्य खानेकुरा पनि नखाने चलन रहेको छ ।

Leave A Reply

Your email address will not be published.