डोटीका ८ पालिकामा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम’ सञ्चालन हुदै
मंसिर १२, डोटी ।
डोटीका ८ वटा पालिकाहरुमा २ चरणमा मतदाता नामावली संकलन गरिने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय डोटीले आइतबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त जानकारी सार्वजनिक गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय डोटीको कार्यतालिका अनुसार पहिलो चरणमा यहि मंसिर १७ गतेदेखि २६ गतेसम्म पूर्वीचौकी गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार गाउँपालिका र सायल गाउँपालिका गरी ४ वटा पालिकामा मतदाता नामावली संकलनको कार्यक्रम सञ्चालन हुनेछ ।
त्यस्तै दोश्रो चरणमा यहि मंसिर २९ गतेदेखि पौष ९ गतेसम्म शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका, जोरायल गाउँपालिका र आदर्श गाउँपालिकामा मतदाता नामावली संकलनको कार्यक्रम सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय डोटीका नायब सुब्बा दल बहादुर मलासीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक पालिकाको केन्द्र रहेको स्थानमा कार्यक्रम सञ्चालन गरिनेछ ।
मतदाता नामावली नियमित संकलन हुने स्थानहरु जिल्ला निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालय दिपायल सिलगढी नगरपालिकामै पर्ने भएकाले उक्त नगरपालिकामा भने विशेष कार्यक्रम लागु नगरिएको हो ।
आठ स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रमका लागि प्रमूख नाम दर्ता अधिकारी, दर्तास्थल व्यवस्थापक, दर्ता कर्मचारी, सहायक दर्ता कर्मचारी, दर्तास्थल सहयोगी लगाएतको व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालय डोटीका जिल्ला निर्वाचन अधिकारी करुणाकर पन्तले जानकारी दिए ।
मतदाता नामावली दर्ता र संकलनको कार्यलाई प्रचलित कानुन बमोजिम नियमित र व्यवस्थित गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन र कुनै पनि मतदान गर्न योग्य मतदाताहरु मतदाता नामावलीमा नछुुटुन् भन्ने मूख्य उद्धेश्यकासाथ मतदाता नामावली संकलन विशेष कार्यक्रम गर्न लागिएको हो । यसका साथै मतदाता नामावली संकलन तथा दर्ता कार्यमा आम मतदाताको पहुँचलाई सहज बनाउने,
मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका प्रचलित कानुन बमोजिम मतदाता हुन योग्य नेपाली नागरिकहरुको नाम मतदाता नामावलीमा दर्ता गराउन सहज अवसर प्रदान गर्ने उद्धेश्यले पनि विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको जनाईएको छ ।

जिल्ला निर्वाचन कार्यालय डोटीको २०७७ पौष ५ गतेसम्मको तथ्यांक अनुसार डोटीमा ५५ हजार २ सय ७६ पुरुष र ६२ हजार ३ सय ४१ महिला गरी कूल १ लाख १७ हजार ६ सय १७ मतदाता रहेका छन् । यद्यपी पछिल्लो समयमा यो संख्या बढेर १ लाख २९ हजार नाघिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ बारे व्यापक प्रचारप्रसार गरिदिनका लागि जिल्लामा क्रियाशील राजनीतिक दल, स्थानीय तह, आम सञ्चारमाध्यम लगाएत सबै सरोकारवालाहरुलाई डोटीका प्रमूख जिल्ला अधिकारी एवं मतदाता नामावली विशेष कार्यक्रमका जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति संयोजक शंकर बिष्टले सहयोग गरिदिन विशेष आग्रह गरे ।
जसबाट आगामी हुने विभिन्न तहका निर्वाचनहरुमा ठूलो सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
यसैबिच मतदाता नामावलीमा नाम दर्ता गराईसकेका तर त्रुटी रहेका मतदाताहरुले भने जिल्ला निर्वाचन कार्यालयबाट मात्रै सच्याउन सक्नेछन् भने मतदाता नामावली स्थानान्तरण गर्न चाहनेले पनि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै गर्नसक्ने जनाईएको छ ।
कार्यक्रममा सहभागि विभिन्न जनप्रतिनिधी, डोटीमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधी, विभिन्न सरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधी र पत्रकारहरुले आ–आफ्ना सुझावहरु पनि औंल्याएका थिए ।
यस्तो छ कार्यतालिका हेर्नुहोस् –
