यो वर्ष कक्षा ५ का विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षण गरिंदै
असार ४, डोटी ।
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले यस वर्ष कक्षा ५ का विद्यार्थीको राष्ट्रिय उपलब्धी परीक्षण गर्न लागेको छ ।
विद्यार्थीले हासिल गरेका सक्षमताको अवस्था पहिचान, उपलब्धिमा प्रभाव पार्ने तत्वहरु पहिचान, सिकाई स्तरमा सुधारका लागि विद्यार्थी एवं समग्र शैक्षिक प्रणालीलाई पृष्ठपोषण प्रदान गर्ने उद्धेश्यले राष्ट्रिय विद्यार्थी उपलब्धी परीक्षण गर्न लागिएको हो ।
त्यस्तै सबै प्रकारका सरोकारवाला पक्षहरुमा शैक्षिक गुणस्तर सुधारका लागि जवाफदेही र थप जिम्मेवार बनाउनुका साथै अन्तराष्ट्रिय स्तरमा पनि उपलब्धी देखाउनुपरेमा पनि यो परीक्षण महत्वपूर्ण भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सूचना अधिकारी कुमार बस्नेतले नजर अनलाईनलाई बताए ।

मनाङ जिल्ला बाहेक ७६ जिल्लाका नमूना छनोटमा परेका १८ सय विद्यालयका ४२ हजार विद्यार्थीमा विज्ञान, गणित, अंग्रेजी र नेपाली विषयमा यो परीक्षण गरिने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक अनिल मिश्रले जानकारी दिए ।
राष्ट्रिय विद्यार्थी उपलब्धी परीक्षणको जिम्मेवारी समुन्नत नेपाललाई दिईएको छ । देशभरमा करिब ५ सय जना परीक्षण सञ्चालक (Test Administrator) परिचालन गरिरहेको समुन्नत नेपालका प्रतिनिधी जयराम कुईंकेलले जानकारी दिए ।

अहिले कतिपय ठाउँमा ‘राष्ट्रिय विद्यार्थी उपलब्धि परीक्षण–२०७९’ का लागि बनेको परीक्षण सञ्चालन मार्गदर्शनबारे परीक्षा सञ्चालकहरुलाई अभिमूखिकरण गर्ने कार्य भईरहेको र अभिमुखिकरण प्राप्त गरिसकेका परीक्षा सञ्चालकहरुले विद्यालयहरुमा गई परीक्षा सञ्चालन गर्ने कार्य गरिरहेको पनि उनले बताए ।
यहि असार महिनाभित्रै परीक्षण सम्पन्न गरिने जनाईएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले वि.सं. २०६८ देखि नै विद्यालय तहमा विभिन्न कक्षा र विषयमा राष्ट्रिय परीक्षणका माध्यमबाट विद्यार्थीको उपलब्धि परीक्षण गरी सरोकारवालाहरुलाई पृष्ठपोषण प्रदान गर्दै आएको छ ।



(यहि असार ३ गते शुक्रबार डडेल्धुरामा सम्पन्न अभिमूखिकरण कार्यक्रमका तस्वीरहरु)