डोटीमा प्रदेश सभा ‘ख’ का लागि एमाले नेता भट्टको दावी

3,702

भाद्र १८, डोटी ।
सरकारले गत श्रावण १९ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने मिति घोषणा गरेसँगै सबैतिर निर्वाचनको सरगर्मी दिनानुदिन बढ्दै गएको छ ।
निर्वाचनमा उम्मेदवार सिफारिसका लागि विभिन्न राजनीतिक दलहरुले निकै कसरत समेत थालिसकेका छन् ।
उम्मेदवारका विषयमा नेकपा एमाले डोटीले भने हालसम्म औपचारिक विषय प्रवेश गरेको छैन ।
एमाले डोटीले यहि भाद्र २० गते सिलगढीमा बैठक बोलाएको छ । सोही बैठकबाट उम्मेदवार छनौटको विषय औपचारिक रुपमा प्रवेश पाउनेछ ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहमा सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिष्पर्धा गरेको एमालेले यस पटकको प्रतिनिधी सभा र प्रदेश सभाको आम निर्वाचनमा पनि एक्लै भिड्ने प्राय पक्कापक्की नै छ ।
अहिलेसम्म डोटीमा सत्तारुढ गठबन्धनका दलहरु नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आकांक्षी उम्मेदवारहरुबारे छलफल अगाडी बढाएको छ । गठबन्धनकै साझेदार दल नेकपा माओवादी केन्द्रले भने औपचारिक तवरले विषय प्रवेश गरेको छैन ।
यसैक्रममा सत्तारुढ गठबन्धनसँग प्रतिष्पर्धा गर्न एमालेले तय गर्ने उम्मेदवारबारे अत्यन्तै चासोको विषय बनेको छ ।
एउटा मात्रै प्रतिनिधी सभा निर्वाचन क्षेत्र भएको डोटीमा प्रदेश सभामा ‘क’ र ‘ख’ गरी दुइ सिट छन् । जसमध्ये प्रदेश सभा ‘ख’ का लागि एमाले नेता पदमराज भट्ट पनि तिव्र आकांक्षी देखिएका छन् ।

Нет описания.
एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य समेत रहेका नेता भट्टले नजर अनलाईनसँगको कुराकानीमा प्रदेश सभा ‘ख’ का लागि आफ्नो उम्मेदवारी स्वभाविक रहेको बताएका छन् ।
पार्टीको अनुशासन र निर्देशन अनुसार उम्मेदवारहरुले आफुखुशी उम्मेदवारी घोषणा नगर्न भनेको भएता पनि मिडियाकर्मीको प्रश्नमा मात्रै आफुले उम्मेदवारीबारे खुलेर विचार राखेको बताए ।
उनले भने–‘हाम्रो पार्टीमा आकांक्षी नेता उम्मेदवारहरु धेरै हुनुहुन्छ । कसैले पनि आफुखुशी उम्मेदवारी घोषणा नगर्न निर्देशन छ । तर मिडियाकर्मीले कोट्याएपछि मात्रै आफुलाई स्वभाविक उम्मेदवारको आकांक्षीका रुपमा उभ्याएको हुँ ।’
एमालेभित्र अनौपचारिक चर्चा भए अनुसार प्रदेश सभा ‘ख’ का लागि ३/४ जना आकांक्षी देखिएका छन् । यद्यपी ति व्यक्तिहरुबारे भदौ २० गतेको बैठकपछि मात्रै खुल्ला चर्चा शुरु हुने बुझिएको छ ।

को हुन् पदमराज भट्ट ?
डोटीको साविक घण्टेश्वर गाउँ विकास समिति–३, हाल जोरायल गाउँपालिका–१ बडाखेतमा वि.सं. २०३७ साल बैशाख २१ मा जन्मिएका भट्ट वि.सं. २०५१ सालदेखि निरन्तर एमालेमा सक्रिय युवा नेता हुन् ।
वि.सं. २०५१ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिक यात्रा प्रारम्भ गरेका उनले राजनीतिशास्त्रमा एम.ए. र नेपाली विषयमा बि.एड. गरेका छन् ।
अध्ययनका क्रममा प्रवासमा भारतको नैनिताल बस्दा वि.सं. २०५७ सालमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) सँग उनि आबद्ध भएका थिए । लगत्तै २०५८ सालमा अभानेस्ववियु जिल्ला सचिव, २०५९ मा जिल्ला अध्यक्ष, २०६० मा केन्द्रिय सदस्य, २०६३ मा केन्द्रिय सचिवालय सदस्य बनेका थिए ।
वि.सं.२०६५ मा केन्द्रिय सचिवालयसँगै संगठन विभागको समेत जिम्मेवारी पाएका उनले २०६७ सालमा अभानेस्ववियुको केन्द्रिय कमिटि अध्यक्षको नेतृत्व सम्हालेका थिए ।

Нет описания.
वि.सं. २०५५ सालमा प्रवासबाटै नेकपा एमालेको साधारण सदस्यता लिएका उनले २०५७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेको बताए ।
विद्यार्थी राजनीतिक जीवनकै क्रममा उनी वि.सं. २०६५ सालमा शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुरबाट एक वर्षे बि.एड. अध्यययनका क्रममा स्ववियु सभापतीको उम्मेदवार समेत बनेका थिए ।
२०६१ सालमा प्रवासमै पार्टी जिल्ला सदस्य, २०६४ मा जिल्ला किमिटि सचिवालय सदस्य, २०६७ मा विशेष अञ्चल समन्वय कमिटी सदस्यको जिम्मेवारी पाएका थिए ।
त्यसपछि २०६७ सालदेखि २०७२ सालसम्म पार्टीको पूर्णकालिन सदस्य भएर काम गरेका थिए । यसबिचमा उनले विशेष अञ्चल समन्वय कमिटी सचिवालय सदस्य र प्रचार तथा प्रकाशन विभाग प्रमूखको समेत जिम्मेवारी बहन गरेका थिए ।
नेकपा एमालेको पहिलो प्रकाशित मुख पत्र ‘सिमाना पारी’ मा २०६७ देखि २०७२ सम्म प्रधान सम्पादकको पनि नेता भट्टले जिम्मेबारी बोकेका थिए ।

Нет описания.
नेपाली भूगोलको राजनीति हेर्दा उनी २०६७ सालमा एमालेको राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बनेका थिए भने २०७२ सालमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि सदस्यको जिम्मेवारीमा पुगेका हुन् । उनि एमालेको आठौं, नवौं र दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधी पनि हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच २०७५ जेठ ३ मा भएको पार्टी एकतापछिको नेकपामा पनि प्रदेश कमिटि सदस्य रहेका उनी नेकपा फुटेर दुवै पार्टी पूर्ववत अवस्थामा फर्केपछि उनी एमाले प्रदेश कमिटिकै जिम्मेवारीमा रहे भने । २०७९ साउन १४ गतेको एमाले प्रदेश कमिटिको निर्णयबाट अहिले उक्त कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
सन् २०११ मा युरोपको पोर्चुगलमा सम्पन्न विश्व प्रजातान्त्रिक युवा संगठनको सम्मेलनमा समेत सहभागि भएका एमाले युवा नेता भट्ट युरोपका ८ वटा देशहरु र भारतका २२ वटा प्रान्तमा राजनीतिक भ्रमण गरिसकेका छन् ।
वि.सं. २०७० सालमा भएको संविधान सभा निर्वाचन, वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचन, प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन तथा २०७९ साल बैशाख ३० को स्थानीय तहको निर्वाचनमा निकै सक्रिय बनेर पार्टीलाई जिताउन भट्टले अहम्  भूमिका निर्वाह गरेका थिए ।

Нет описания.
पारिवारिक पृष्ठभूमि हेर्दा उनका जेठा बुबा महादेव भट्ट नेकपा एमालेको पूराना संगठित कम्युनिष्टका रुपमा चिनिन्छन् । उनको देहान्त भएको केहि वर्ष मात्रै बितेको छ । वि.सं. २०४९ तिर एमाले नेता मनमोहन अधिकारी हालको जोरायल गाउँपालिका १ को गैराबजार नजिकै स्वर्गीय महादेव भट्टको घरमै पुगेका थिए । एमालेको त्यति ठूलो नेता मनमोहन अधिकारी आफ्नै घरमा पुगेर आफुसँग भेटघाट भएपछि राजनीतिमा लाग्न आफुलाई झनै प्रेरणा जागेको नेता पदमराज भट्टले बताए ।
पार्टीभित्रका अन्तरसंघर्ष, गुट, उपगुटमा खुलेर नलाग्ने युवा नेता भट्ट सरल र मिजासिलो स्वभावका व्यक्तिका रुपमा परिचित छन् । यसकारण पनि आगामी निर्वाचनमा जनमत उनको पक्षमा रहेको बताइन्छ ।
यद्यपी उम्मेदवारीका बिषयमा पार्टीको निर्णयलाई सिरोपर गरेर मात्रै आफु अगाडी बढ्ने उनले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.