नेपाल, युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा छनोट
बैशाख १९, काठमाण्डौ ।
नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भएको हो ।
प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्ने छ । पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने खेल तालिका छ ।
गुलशन झा र भीम सार्कीले अविजित अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गर्यो । झा र सार्कीले ९६ रनको साझेदारी गरेका थिए । गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेली ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।
गुलशनले दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गरेका हुन् । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै अविजित ५० रन बनाएका थिए ।