आज ३० औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
जेठ ३, डोटी ।
नेकपा एमालेले आज बुधबार मदन भण्डारी र जीवराज आश्रितको ३० औं स्मृति दिवस मनाउँदैछ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।
सोही दु:खद दिन अर्थात हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ।
दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र नेकपा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितसँग खिचाइएको तस्वीर सामाजिक सञ्जालमा राख्न अपील गरेका छन् ।
भण्डारी र आश्रितसँगको तस्वीर हुनेले भोलि जेठ ३ गते ‘मदन–आश्रित’ स्मृति दिवसका दिन सामाजिक सञ्जालमा पोष्ट गरेर उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न हिजो मंगलबार नै अपील गरेका हुन् ।
अध्यक्ष ओलीले भण्डारी र आश्रितसँगको एक पुरानो तस्वीर सार्वजनिक गर्दै यस्तो अपील गरेका हुन् ।
यस अवसरमा देशभर एमालेले विभिन्न कार्यक्रम सहित स्मृति दिवस मनाउने भएको छ ।
नेकपा एमाले डोटीले पनि आज बिहान ८ बजे सिलगढीस्थित पार्टी कार्यालयमा मदन–आश्रितको फोटोमा माल्यार्पण सहित श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गर्न लागेको एमाले डोटीका उपाध्यक्ष मन्जु मलासीले नजर अनलाइनलाई जानकारी दिईन ।
दासढुङ्गा रहस्यमय जिप दुर्घटनामा मदन–आश्रितको निधन भएपनि घटनाको सत्यतथ्य छानबिन नभएको भन्दै पटक-पटक आलोचना हुँदै आएको छ।
जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो । तर चालक अमर लामा भने बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना अहिलेसम्म पनि रहस्यमय नै रहेकोे छ ।