कविता शीर्षक : प्रह्लाद कहिले जन्मिन्छ ?
– गीता ‘स्मृति’ कठायत
वासुदेव !!
हृरण्यकस्यपुको घरमा
प्रह्लाद कहिले जन्मिन्छ ?
म आमा हुँ
मेरो प्रजनन क्षमता
अझै सकिएको छैन
सगरमाथा जस्तो शिर
पचाल जस्ता केश
हिउँ जस्ता दाँत
माछापुच्छ्रे जस्तो चेहरा
कञ्चनजंघा जस्ता नितम्ब
कान्तिपुर जस्तो छाती
गुराँस जस्ता गाला
गोसाइँकुण्ड जस्ता आँखा
कालीगण्डकी जस्तो मन
पशुपति जस्तो हृदय
दुधकुण्ड जस्ता स्तन
पोखरा जस्तो सौर्न्दर्य
लुम्बिनी जस्तो यौवन
र
पृथ्वी जत्रो गर्भाशय
अझै ताजा र तन्दुरुस्त छ
म कयौंलाई जन्म दिन सक्छु
गौतमबुद्ध सीता जन्माएँ
पृथ्वी नारायण
जंग बहादुर जन्माएँ
भिमसेन बलभद्र
भृकुटी जन्माएँ
मैले नै जन्माएको हुँ भानुभक्तलाई
मैले नै जन्माएको हुँ
बिपी, मदन र पुष्पलालहरुलाई
मैले नै जन्माएको हुँ
सन्दूक र कुलमानहरुलाई
र मैले नै जन्माएको हुँ
प्रचण्ड, केपी, शेर वहादुरहरुलाई
अझै म एक हुल
जन्माउन सक्थ्ये
तर त्यो जंग बहादुर हुनेछैन
त्यो वलभद्र हुने छैन
बरु मैले
राजतन्त्रको घरमा
प्रजातन्त्र जन्माउन सक्छु
प्रजातन्त्रको घरमा
गणतन्त्र जन्माउन सक्छु
र गणतन्त्रको घरमा
स्वतन्त्र जन्माउन सक्छु
मेरो प्रजनन क्षमता
अझै सकिएको छैन
म कयौंलाई जन्माउन सक्छु ।
तर मैले जन्माउन नसकेको
बस त्यहीँ एउटा छोरो मात्र त हो ?
वासुदेव !!
हृरण्यकस्यपुको घरमा
प्रह्लाद कहिले जन्मिन्छ ?
(लेखकको फेसबुक वालबाट)