इलेक्ट्रिक बाइक बनाएर चर्चित १६ वर्षे वैज्ञानिक पारसले बनाए FPV ड्रोन
मंसिर २३, डोटी ।
सामान्यतया वैज्ञानिक भनेपछि केहि उमेर पुगेको र पढेलेखेको व्यक्ति होला भन्ने अनुमान गरिन्छ । तर कक्षा १० मा पढ्दै गरेका १६ वर्षे वैज्ञानिक भनेपछि आश्चर्य लाग्नसक्छ ।
कलिलो उमेरमै सबैलाई आश्चर्य चकित पार्ने व्यक्ति हुन् डोटीको पूर्विचौकी ५ काँडामाण्डौ घर भइ हाल कैलालीको गोदावरी नगरपालिका–५, गेटास्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत पारस साउँद ।
साधारण परिवारमा बुबा तेज बहादुर साउँद र आमा भगवतीदेवी साउँदको कोखबाट जन्मिएका पारसले पहिलो पटक गत असार ५ गते इलेक्ट्रिक बाइक बनाएर सबैलाई चकित पारेका थिए ।
करिब १ लाखको लगानीमा चाबी बिना कार्डबाट स्क्यान गरी स्टार्ट गर्न मिल्ने ब्याक गेयर सहितको चार्जिङ्ग बाइक बनाएपछि पारस चर्चामा छन् । एकपटक चार्ज गरेपछि ६० किलोमिटर भन्दा बढी दुरीसम्म चलाउन मिल्ने पिकअप क्षमता पनि बलियो रहेको इलेक्ट्रिक बाइक बनाएका पारसले मोबाइलको ब्लुटुथबाट बाल्न मिल्ने स्मार्ट दियो, फुटबल खेल्न र वार गेम खेल्न प्रयोग गरिने रोवर्ट कार, ग्याँस लिक भएको एलार्म बज्ने ग्याँस डिटेक्टर यन्त्र बनाएका छन् ।
यसका साथै पारसले भर्खरै मात्र FPV (First Person View) ड्रोन बनाएका छन् । झण्डै ७० हजारको लगानीमा करिब ४/५ किलोमिटरसम्म काम गर्नसक्ने गरी ड्रोन बनाएको र त्यसमा जिपिएस जडान गर्न बाँकी रहेको उनले नजर अनलाइनलाई बताए । उक्त ड्रोन चलाउँदा प्रयोग गरिने गगल्स (चश्मा) को मात्रै ६० हजार जति मूल्य पर्ने र सो चश्माको प्रयोग गरी ड्रोन चलाउँदा आकाशमा उडेकै अनुभूति गर्न सकिने उनले दावी गरेका छन् । 
आफु साधारण परिवारमा जन्मिएको र पढदै गरेको विद्यार्थी भएकाले आर्थिक अभावमा नयाँ आविष्कारका लागि काम गर्न कठिनाई रहेको पारसले बताए ।
सानै उमेरमा विभिन्न इलेक्ट्रिक चिज बिगार्ने र बनाउने रुची भएका पारसले कक्षा ९ मा पढ्ने बेलादेखि यन्त्र बनाउन शुरु गरेका हुन् । उनि भन्छन्–‘कक्षा ९ मा पढ्दै गर्दा गत वर्ष विज्ञानको प्रदर्शन (Science Exibition) भयो । साथिहरुका innovation देखेपछि आफुलाई पनि केहि आविष्कार गर्नुपर्छ भन्ने लाग्यो । त्यसमा पनि नेपालीहरुको समस्या के छ त भनेर सोच्दा इलेक्ट्रिक सवारी साधन बनाउन पाए राम्रो हुन्छ भन्ने लागेर यसैमा रिसर्च गरी पहिलो यन्त्र इलेक्ट्रिक बाइक बनाएको थिए ।’

भविष्यमा एक वैज्ञानिक बन्ने सपना बोकेका पारसले नेपालमै नयाँ नयाँ खोज आविष्कार गर्ने र सिकेका कुरा अरुलाई पनि सिकाउने आफ्नो चाहना रहेको बताए ।
यस पटक एसइइ दिने भएकाले नयाँ यन्त्र उपकरण बनाउन कमै चासो दिएका पारसको त्यसपछिको नयाँ आविष्कारको योजना भने अझै रोचक छ ।
यो वर्षको दशै तिहार बिदामा आफ्नो जन्मभूमि डोटी आएका पारसले स्थानीय समस्याबारे अध्ययन गरेपछि उनमा त्यो विचार पलाएको हो । गाउँमा कृषकहरुलाई जङ्गली जनावरले खेतीबालीमा निकै समस्या गर्ने गरेको र धेरै जग्गाजमीन बाँझै राख्नुपर्ने बाध्यतालाई कम गर्न खेतबारीमा आउने जङ्गली जनावर धपाउने यन्त्र बनाउने उनको योजना छ ।
यति मात्रै होइन निकट भविष्यमै एउटा कार बनाउने, पहिरो गएको क्षेत्रमा वृक्षारोपण गर्ने यन्त्र बनाउने, एसइइ दिईसकेपछि जन्मभूमि डोटीको पूर्विचौकीमा फर्किएर रोबर्टिक तालिम सञ्चालन गर्ने लगाएत उनका आगामी योजना रहेका छन् ।
उनको आविष्कारको कदर गर्दै गोदावरी नगरपालिकाले नगद रु. ५० हजार सहित सम्मान गरिसकेको छ भने एसपिए कलेज धनगढीले शतप्रतिशत छात्रवृत्तिका साथै प्रोजेक्ट सपोर्टको घोषणा गरिसकेको छ ।
यसैगरी डोटीको पूर्विचौकी गाउँपालिकाले नगद रु.५० हजार सहित सम्मान गरेको छ भने सो गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले व्यक्तिगत लगानीमा डेढ लाखको ल्यापटप सहयोग गरेका छन् ।
त्यस्तै नेकपा एमाले पूर्वीचौकी गाउँपालिका कमिटिले पनि दशैं–तिहारको शुभकामना आदानप्रदानका अवसरमा सम्मान गरेको छ ।
आफुलाई यन्त्र उपकरण निर्माणका लागि पार्टपूर्जा किन्न आर्थिक सहयोग प्राप्त भएमा कम लगानीमा नयाँ नयाँ आविष्कार गर्न सकिने उनले बताएका छन् ।


