सुदूरपश्चिममा मौलिक सस्कृती “पुषे पन्ध्र पर्व” मनाईदै
पौष १५, डोटी ।
डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरुमा आज पुषे पन्ध्र पर्व मनाइँदैछ । हरेक वर्ष पुस १५ गते गाउँका सबै मानिस एकै ठाउँमा जम्मा भई रातभर जाग्राम बस्ने चलन रहेको छ । यस क्रममा १५ हात लामो मुढाको आगो ताप्दै दन्त्यकथा (बात) भन्दै रात काट्ने गरिन्छ ।
विशेषगरी पुस १५ मा तरुल, सखरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । यी खानेकुरा खाएमा जाडो भाग्ने र शरीरमा स्फूर्ति आउनुका साथै तागत बढ्ने किंवदन्ती छ ।
यस दिनमा वनको पूजा गर्ने चलन छ । विशेषतः मानिसले वनजंगलमा काम पनि नगर्ने र वनमा प्रयोग गरिने बञ्चरो, हँसिया, बनारो (घाँसपात, दाउरा बान्ने डोरी) आदिको पनि पूजा गर्ने गर्दछन् । आजको दिन जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खाने दिनका रुपमा हुनाले बजार क्षेत्रमा पनि तरुल किन्नेको घुइँचो लाग्नेगर्छ । पूर्खौंदेखि पौराणिक कथाहरुलाई एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण गरी यो पर्व मनाउँदै आइएको छ ।
पुस पन्ध्रको लामो रातलाई कतै कतै कुनिकेउली खाने पर्वका रुपमा पनि लिइन्छ ।