डोटीमा छ महिना अवधीमा १ हजार २९२ सवारी साधन कारवाहीमा

235

पुस २९, डोटी ।
डोटीमा चालु आर्थिक वर्ष २०८०/०८१ मा ६ महिनाको अवधीमा मात्रै एक हजार २९२ सवारी साधन कारवाहीमा परेका छन् । गएको साउनदेखि पुस मसान्त अर्थात् आज आइतबारसम्म उक्त संख्यामा सवारी साधनहरु कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी नायब निरिक्षक (सइ) सुरज बहादुर खड्काले नजर अनलाइनलाई जानकारी दिए ।
कारवाहीमा पर्नेमध्ये ९१५ वटा चार पाङ्ग्रे र ३७७ वटा दुइ पाङ्ग्रे सवारी साधन रहेको उनले बताए ।
जसबाट ८ लाख १० हजार ५ सयको जरिवाना रसिद काटिएको छ । त्यसमध्ये पनि १ हजार १५३ वटा सवारी साधनबाट ७ लाख १८ हजार ५ सय राजश्व रकम दाखिला भैसकेको र १३९ वटा सवारी साधनको राजश्व संकलन गर्ने प्रक्रियामै रहेको जनाईएको छ ।
विशेष गरी ओभर लोड, बिना इजाजत पत्रका, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका, सडक नियम उलंघन गरेका सवारी साधनहरु कारवाहीमा परेका छन् ।
ट्राफिक नियमको पालना गराई सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी सजग भएर लागिरहेको सइ खड्काले दावी गरे ।

चालु आ.व.मा सवारी दुर्घटना संख्या २०
यसैबिच चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधीमा २० वटा सवारी दुर्घटना भएका छन् ।
साउनमा ५, भदौमा १०, कार्तिकमा ४ र पुसमा १ गरी जम्मा २० वटा सवारी दुर्घटना रेकर्डमा रहेको जिल्ला ट्राफिक कार्यालय डोटी प्रमूख सइ खड्काले जानकारी दिए ।
सम्भावित सवारी दुर्घटना न्यूनिकरणका लागि विशेष गरी चालक, सवारी धनी, सवारी सम्बन्धी समिति र यात्रु लगाएत सरोकारवाला सबैले सचेत हुनुपर्नेमा उनले जोड दिए ।

Leave A Reply

Your email address will not be published.