डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, चारै जना धनगढी रिफर
फाल्गुन १०, डोटी ।
डोटीको बोगटानमा आइतबार जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट सिलगढीतर्फ आउँदै गरेको सु.प.प्र.०३ –००१ च ००१४ नम्बरको जीप कानाचौरको धौलाबस्ती नजिकै ढुङ्गाझडे भन्ने स्थानमा दिउँसो करिब साढे १२ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३ मेल्टा घर भएकी वर्ष ६६ कि जुनधारा साउँद, वर्ष २१ कि शारदा साउँद, वर्ष १७ कि सिता साउँद र बोगटान फुड्सिल ६ का अन्दाजी ३०/३१ वर्षका जीप चालक तीर्थ बोगटी रहेका छन् ।
घाइतेमध्ये जुनधारा र शारदाको अवस्था गम्भीर रहेको स्थानीय युवा लक्ष्मण बोहराले जानकारी दिए ।

घाइते सबैलाई कानाचौर स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि धनगढी पठाईएको उनले जानकारी दिए ।
गाडीमा चार जना मात्रै यात्रु रहेको र दुर्घटना भएको जीप सडकबाट करिब दुइ सय मिटरभन्दा तल खसेको बताईएको छ ।
जीप डबल बोगटीको रहेको जनाईएको छ ।


नोट : नजर अनलाइनमा समाचार प्रकाशित भैसकेपछि प्रहरीको रिपोर्ट प्राप्त भएकोले जस्ताको त्यस्तै विवरण यहाँ अपडेट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटी ।
बिषयः सवारी दुर्घटना सम्बन्धी ।
मिति २०८२।११।१० गतेको अं. १२:५५ बजेको समयमा जि. डोटी बोगटान फुड्सिल गा.पा. वडा नं. ०३ धौलाबस्ती स्थित दिपायल बोगटान भित्री सडकखण्डमा मेल्टा बाट दिपायल तर्फ जाँदै गरेको चालक जिल्ला डोटी बोगटान फुड्सिल गा.पा वडा नं. ६ पलाडी बस्ने बर्ष २७ को तिर्थ बोगटीले चलाएको सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जिप साईड दिने क्रममा ब्याक हुन गई सडकबाट अं. १५० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार चालक सहित निम्न ४ जना ब्यक्तीहरु घाईते भई उपचारको लागी मायामेट्रो अस्पताल धनगढी कैलाली पठाएको, प्र.स.नि. राम ब. कार्कीको कमाण्डमा ३ जनाको टोली खटिई दुर्घटना बारे थप अनुसन्धान भईरहेको ।
निम्नः-
१. जिल्ला डोटी बोगटान फुड्सिल गा.पा वडा नं. ६ पलाडी बस्ने बर्ष २७ को तिर्थ बोगटीको टाउको र घाँटीमा चोट अवस्था मध्यम (चालक) ।
२. ऐ.ऐ. वडा नं. ०३ मेल्टा बस्ने बर्ष ६६ कि जुना देवी साउँदको टाउको, दुवै खुट्टा र छातीमा चोट अवस्था सिरियस ।
३. ऐ.ऐ. बस्ने बर्ष १७ कि सिता साउँदको टाउको, खुट्टा र छातीमा चोट अवस्था सिरियस ।
४. ऐ.ऐ. बस्ने बर्ष १९ कि सारदा साउँदको कम्मर, दुवै हात र वाँया खुट्टामा चोट अवस्था मध्यम ।