डोटीको प्रसिद्ध घण्टेश्वर देवताको मेला आज लाग्दै
असोज ३, डोटी ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाग्ने सुदूरपश्चिमको एक प्रसिद्ध घण्टेश्वर देवताको वार्षिक पूजाआजा (जाँत) अर्थात मेला आज लाग्दैछ ।
डोटीको जोरायल गाउँपालिका वडा नं. १ र ४, तथा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ र आलिताल गाउँपालिका–१ को सिरानमा महाभारत लेगमा अवस्थित मन्दिरमा उक्त मेला आज राती लाग्दैछ ।
सो मेलामा जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको बिनोडा गाउँबाट करिब ५ घण्टाको पैदल यात्रा गरि घण्टेश्वर देवताको देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ भने लक्ष्मीनगरकै सैगडा, घण्टेश्वरको सुनलेक, डडेल्धुराको आलिताल गाउँपालिकाको गांखेतको उणीबाट पनि देउरो मन्दीरसम्म पुर्याउने गरिन्छ । त्यस्तै गन्यापधुरा गाउँपालिकाको जर्माना गाउँबाट पनि भोक्कर ल्याउने गरिन्छ ।
उक्त मेलाको लागि राजा रजौटाकै पालादेखि तत्कालीन मालपोत कार्यालय (हाल भुमि प्रशासन कार्यालय) मार्फत मेला खर्च पठाइदै आएकोमा त्यसै व्यवस्था अनुसार नेपाल सरकारले पनि सानोतिनो रकम पठाउँदै आएको छ । यता मेला व्यवस्थापन समितिबाट पनि नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रुपमा ‘तिलख’ पठाउने परम्परा रहेको छ ।
घण्टेश्वर देवताको विधानमा उल्लेख भए अनुसार भारतको बद्री केदार भएर कैलाश प्रवेश गर्ने बेलामा स्थानीय पासा देवताले रोकेर त्यो ठाउँमा बास बसेको बुढापाकाहरुको भनाई छ ।
केदार श्रेणीको देवतामध्ये सबैभन्दा पहिले पूजाआजा हुने घण्टेश्वर देवताको यो मेला जोरायल क्षेत्रको महत्वपूर्ण मानिन्छ । सो मेलामा डोटी, डडेल्धुरा, कैलाली, कंचनपुर लगाएत भारतबाट समेत हजारौं श्रद्धालु भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ ।
पवित्र मनले उपवास बसि घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
मेलामा रातभर महिला र पुरुषहरूको छुट्टाछुट्टै रूपमा सुदूरपश्चिमेली देउडा खेल खेल्ने, गौरा खेल तथा भजन किर्तन गरी रमाइलो गर्ने गरिन्छ ।
घनघोर जङ्गलको प्राकृतिक मनोरम दृश्यकाबिच अवस्थित उक्त मन्दिरमा धनगढी–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गको हगुल्टेबाट करिब ४ किलोमिटरको दुरीमा पुग्न सकिन्छ ।
पछिल्लो समयमा पुर्वाधार विकास हुँदै गएपछि भक्तजनको लागि थप सहजता पनि भएको छ ।
मेला दोश्रो दिन बिहानसम्म लाग्ने गर्दछ ।