क्यान्सरसँग जुध्दै डोटीका पत्रकार देवल, आर्थिक अभावले उपचारमा समस्या
असोज १, डोटी ।
डोटीका पत्रकार मुकेश देवल खुट्टाको क्यान्सरले ग्रसित बनेका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या आएको उनले पीडा पोखेका छन् ।
गएको बैशाख महिनाबाट बायाँ खुट्टामा एक्कासी दुःख्न थालेपछि उनी धनगढीको सेती अञ्चल अस्पताल, नव जीवन अस्पताल, बाँकेको कोहलपुर मेडिकल कलेज, काठमाण्डौको विर अस्पताल हुँदै अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचाररत छन् ।
देवलले भने–‘गत वर्ष बाइक दुर्घटनामा परेको थिएँ, घाउचोट त केहि थिएन, तर गएको बैशाख महिनामा एक्कासी खुट्टा दुःखेपछि उपचार गराउँदै जाँदा क्यान्सर नै देखिएको छ । आर्थिक अभावले उपचारमा पनि निकै समस्या परेको छ ।’
गत साउन २२ मा राष्ट्रिय ट्रमा सेन्टर पुगेका देवलको थप उपचारको रिपोर्ट आउन बाँकी रहेको र विश्वव्यापी कोरोना महामारीका कारण भाद्र १४ गतेबाट कोठामा बस्ने गरी उनलाई अहिले राष्ट्रिय ट्रमा सेन्टरबाट डिस्चार्ज गरिएको छ । विस्तृत रिपोर्ट अबको एक हप्तासम्ममा आउने उनले बताए । उनि अहिले डोटी घर भई टिचिङ् हस्पिटल काठमाण्डौमा कार्यरत डाक्टर दिपक महराको घरमा बसिरहेका छन् । उनको साथमा श्रीमती सिता गैरे छन् ।
सुदूरपश्चिमेली डेउडा र आधुनिक गीतका गायक समेत रहेका २९ वर्षका देवल गर्भमै छँदा धनगढीबाट डोटी फर्कने क्रममा उनका बुबाको भासु भिरमा ट्रक दुर्घटनामा परी मृत्यु भएको थियो ।
कलिलै उमेरमा श्रीमान गुमाएकी उनकी आमा हिरादेवी देवलले माइतीको साहारामा छोराको पालनपोषण गरेको र अहिले पनि माइतीकै आश्रय लिईरहेको पत्रकार मिलन परियारले जानकारी दिए ।
पत्रकार देवल ८/९ वर्षको छँदा मावली घरमै गोमन सर्पले टोक्दा दायाँ हात पनि काट्नु परेको थियो ।

पछिल्लो समयमा कैलालीको धनगढीमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका देवललाई उनको मामाको घरमा भाडामा बस्ने एक व्यक्तिले साइबर क्राइम मुद्दा लगाईदिएर ११ महिना जेल समेत भोग्नुपरेको उनले सुनाए । तर गत फाल्गुन महिनामा उनी सफाई पाएर जेलमुक्त भएका थिए ।
कैलालीको मर्निङ बेल दैनिक, डोटीको नजर नेपाली साप्ताहिक लगाएत मिडियामा काम गरेका पत्रकार देवल नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य पनि हुन् ।
उनले आफुलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन अपील सहित मोबाइल नं. ९८४८४५१०७० मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।