डोटीमा मुक्त हलियाका समस्या कायमै
मंसिर १९, डोटी ।
डोटीमा मुक्त हलियाका समस्याहरु फेरि पनि कायमै रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
एक्शन एड नेपालको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले हलियाका सवालहरुमा सरोकारवालाबिच परामर्श बैठक कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
सबै मुक्त हलियाको तथ्यांक अँझै पनि संकलन हुन नसकेको, संकलन भएर प्रमाणिकरण भैसकेकाको तथ्यांक पनि पुनरावलोकन हुनपर्ने, नेपाल सरकारले ल्याएको पुनस्र्थापना प्याकेज न्यायोचित र प्रभावकारी बन्न नसकेको, पुनस्र्थापनामा परेका मुक्त हलियाको पछिल्लो अवस्था अध्ययन हुन नसकेको, पुनस्र्थापना हुन बाँकी रहेकाहरुको अवस्था अन्यौलमा रहेको, मुक्त हलियाको व्यवस्थापनबारे कानुन बन्न नसकेको र छुट्टै आयोग बनाई काम गर्न नसकेको, अँझै पनि हलिया भएर काम गर्न बाध्य भएकाहरुले न्यायिक उपचार पाउन नसकेको, पछिल्लो समयमा स्थानीय सरकार गठन भएर पनि मुक्त हलियाका समस्या समाधान गर्ने विषय प्राथमिकतामा नपरेको, मुक्त हलियाका अगुवाहरु र अधिकारकर्मीहरुले सवाल उठान नगरिदिंदा मुक्त हलियाका समस्याहरु ओझेलमा परेको जस्ता विषयमा सहभागिहरु एकमत भएका छन् ।
कार्यक्रममा उच्च अदालत बार एशोसियशन दिपायलका अध्यक्ष शंकरदीप मडैले मुक्त हलियाको वर्तमान अवस्थाबारे आधारपत्र प्रस्तुत गरेका थिए ।
मुक्त हलियाको पुनस्र्थापनाका क्रममा हिजोका दिनमा भएका कमिकमजोरीहरुलाई सिकाईका रुपमा लिंदै आगामी दिनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा सबैले लाग्न डोटीका सहायक प्रमूख जिल्ला अधिकारी पुस्कर खड्काले जोड दिए ।
हिजोका दिनमा श्रोत साधनको अभावका बिचमा पनि हलिया मुक्तिको आन्दोलनमा सबैको सहयोगले उपलब्धी हासिल भएकोमा अहिले विभिन्न श्रोत साधनको सम्भावना भएकाले वास्तविक हलियाको पुनस्र्थापना र आयआर्जनमा जोड्न आवश्यक रहेको सम विकास केन्द्रका अध्यक्ष अधिराज बिसीले जोड दिए ।
कार्यक्रममा विभिन्न जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधी, गैरसरकारी संघ सँस्थाका प्रमूख तथा प्रतिनिधी, मुक्त हलिया समुदायका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
सम विकास केन्द्रले डोटीमा करिब २ वर्षसम्मका लागि नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना लागु भईरहेको सो परियोजना अधिकृत नरेन्द्र बहादुर बि.क.ले जानकारी दिएका छन् ।