यथार्थमा जोरायल (गीति कविता)
– मिन बहादुर रोकाया
भन्नै पर्यो मनै खोली, यथार्थमा के छ ?
जोरायलको भूगोलभित्र, वास्तविकता जे छ ।
यथार्थमा जोरायल भूमि, केको कमी छ र ?
प्राकृतिक सुन्दरताले, साह्रै हराभरा ।
।।१।।
डाँडाकाँडा भीरपाखा, खोंच गाउँवेशी ,
उपत्यका टार वेंशी, के लगाउनु कसी ।
वारी वस्ती पारी वस्ती, रम्य गाउँघर हेर,
हेरी रहुँ लाग्छ मलाई, एक्लै टोलाएर ।
।।२।।
महाभारत पर्वतमाला, तेले लेक राम्रो,
चिसो पानी जडीबुटी, पहिचान हाम्रो ।
बाटुली ताल लामी ताल, आउँकी घुमीफेरी,
आँखिर लैजानु के छ, जाने चोला मरी ।
।।३।।
जोरायल भूगोल ठूलो, जिल्ला सरोवरी,
कहिं गया बिर्सने छैन, यादले घरीघरी ।
घण्टेश्वर छतीवन हुँदै, लक्ष्मीनगरसम्म,
सरस्वतीनगरका बस्ती, क्या रमाइला टम्म ।
।।४।।
निरौली गडसेरा पनि, जोरायल भूमि भाग,
गाउँपालिका विकासमा, अब सबै लाग ।
छ वटा वडाका बस्ती, क्या रमाइला वन,
ऐंसेलु काफल पाक्दा, डुलिरन्छ मन ।
।।५।।
लेखराज भट्ट, सिद्धराज ओझा, चोखाल, गौरी, आले,
राजनीतिक वैचारिक क्षेत्र, जनता सबै खाले ।
जो.गा.पा. अध्यक्ष ओझा, राजनीतिका पाका,
जोरायलको विकासका लागि, बनाइहाल खाका ।
।।६।।
जोरायल घर भै देश विदेश, बस्ने विद्वान मित्र,
के गर्न सकिन्छ होला, हाम्रा जोरायल भित्र ।
जीन्दगीभर सन्त नेता, यज्ञराज ‘दुपाय’
जोरायलको विकास गर्ने, निकालौं उपाय ।
।।७।।
गा.पा. भित्र रंगशाला, उद्योगको चर्चा,
पहल गर्ने प्रेम आले, सरकारको हो खर्च ।
गाउँपालिका उपाध्यक्ष, बोहरा जमुना,
जोरायल गाउँ पालिका बनोस्, डोटीमा नमुना ।
।।८।।
रुवसकाँडा, इखडा र रिठा बस्ती राम्रा ।
प्रेम आले माननीय, यसै ठाउँका हाम्रा ।
रिठामा लक्ष्मीराज पाठक, रुवसकाँडा आले,
दुइ नम्बर वडाको बस्ती, बस्छन् सबै खाले ।
।।९।।
रुवसकाँडा भोटे बस्ती, कुँवर आलेमगर,
राइ, लिम्बु, लामा, मल्ल, बस्ने बुडर बजार ।
धारापानी भण्डारी, भट्ट, भट्टराइको बसाई ,
मेलखोलामा बाहुल्यता, कामी, साउँद त्यसै ।
।।१०।।
केराबारी कडाँल बस्ती, गरुड ओली बसाई,
उल्झेमा ठकुरी शाह, कामी, साउँद, दमाई ।
रिठामा जेठारा, पाठक, रावल, बि.क. सार्की ,
छहरा पत्ताडा नजिक, हेर्न आउनु फर्की ।
।।११।।
ऐर र भण्डारी बस्ती, छतीवन सेरोफेरो,
सुन्दर शान्त रमाइलो छ , छतीवन ताल मेरो ।
बिछल भण्डारी, भट्ट, चौड थापा, साउँद,
कठपत्तेमा मगर बस्ती, बसेका ती क्या हुन ।
।।१२।।
आलु, मूला, बन्दा, काउली, सिमी, फर्सी लौका,
सबै थरी तरकारीको, उत्पादनको मौका ।
पकेट क्षेत्र तरकारीको, एक नम्बर वडा,
राइटर र मिम्बरको बस्ती, खार हो भन्थ्ये बडा ।
।।१३।।
खार, तोली मल्ल बस्ती, बडाखेत भट्ट ,
गैरामा सुन्दर बजार, घुमी आउँकी झट्ट ।
गोगनपानी मल्ल, बिक, आले, राइको बस्ती,
ओली डाँगी, दाहाल, खत्री, जाती कति कति ?
।।१४।।
गीत गाउँछन् गमरा–डेउडा, चन्द्रप्रकाश मल्ल,
घण्टेश्वर जाँतका बेला, भेटघाट हुन्छ बल्ल ।
नौ जिल्लाकै भक्तजन, घण्टेश्वरका मेला,
पूजा खर्च सरकारबाट, बेहोर्छ त्यै बेला ।
।।१५।।
सकिन्डाँडा, सुगरखाल, ओली, डाँगी, कामी,
गोल्डेन, घोरणी, गैरा, बस्ती कति दामी ।
बेरपाटा खैगाड, सुनलेक, बस्ती रमाईले,
बोहरा, पातली, खत्री, मल्ल बस्दिनाले ।
।।१६।।
लस्कर भण्डारी, नाथ, साउँदको बस्ती,
बासमती धान फल्ने सेरो, सबैको छ मस्ती ।
कोटेलीमा भट्ट काजी, सार्की, कामी कोली ,
आज त्यहाँ छन् खरदार सुब्बा, सचिव हुन्छन् भोली ।
।।१७।।
नवलपुर सार्की टोल, सार्की बाहुल्यता,
छेउमै पर्छ खडायत गाउँ, उस्तै सुन्दर त्यता ।
भण्डारी भट्टको बस्ती, बेल्टुक्रामा सार्की,
कहिल्यै अब आई बस्लान कि, कवि निर्मल फर्कि ?
।।१८।।
पातल, कनेडी, मुड्की, ओली, थापा, कामी,
कृष्ण दाइको तरकारीमा, खुबै खुशी हामी ।
कोलामा भण्डारी, बोहरा, निगालतडा ओझा ,
सबैले जागिरी खाए, शिवराज सर सोझा ।
।।१९।।
व्यापारी ठेकेदार किसान, मल्ल सेगुनीका,
हर्के दाइले गीत गाउँछन्, कहिल्यै बैगुनीका ।
अल्याडी थापाको बस्ती, गडाखर्क ओली,
राजनीति समाजको क्षेत्र, विकास होला भोली ।
।।२०।।
शाहनी गाउँ, अवस्थी गाउँ, ऐरोडा र सेला,
क्या राम्रा मिलेका बस्ती, हेर्न जाने बेला ।
आरा र रिठारा पारी, वारी शिवपुर मा. वि.,
४ वर्ष संगै हो जागिर, निर्मल गुरु हामी ।
।।२१।।
पातल जोशीको बस्ती, रनवन हराभरा,
शास्त्री गुरु फर्किकन, आउने छैनन् वरा !
बरममा ओली, खत्री, बस्छन् त्यहीं जोशी,
बस्ती गयो पातलिदै, बसाइँ सर्दै हो की ?
।।२२।।
ठाँटीगडा, दूधेखाली, लामिखाली गाउँ छ,
ओली, चन्द, खड्का बस्ती, रहर लाग्दो ठाउँ छ ।
बेलालपानी मनोरम, प्रकृतिको काख,
जता जाउँ जे गरी बसुँ, माया लाखौं लाख ।
।।२३।।
तडामा रावलको बस्ती, चन्कट्टेमा व्यापार,
बासमती सुगाल सेरा, फल्दिन्छ अपार !
सरकारी कामकाजको अड्डा, रावतकट्टे छ मुकाम,
घण्टेश्वर बाबाको मन्दिर, लाग्छ झुकम झुकम ।
।।२४।।
तीन नम्बर वडाको संगै, चारको चर्चा गरौं,
शैक्षिक गन्तव्यस्थल, कुँडीकोटलाई हेरौं ।
शाहुघाट, भजना, डुब्की, चुचुनढुङ्गा, सिराड,
छर्केर रहेका बस्ती, बग्याको ठूलीगाड ।
।।२५।।
अहिले सुनसान मेलापर्व, समय कालले,
शाहुघाट्का टिका सिंह शाहु, स्वर्गे भइदिनाले !
जगत कपड्याल, दुर्गा बोहरा, अरु डेउड्या छैन,
संस्कार र संस्कृति हाम्रो, गरिहाल्या चैन ।
।।२६।।
केदार बाबा देउथलामा, थली गुफा केदार,
जीजीकोट, धनराश सेरा, बासमती छ दमदार !
पिपलकण्डे, काफली र, गोल्ला, खैरखोला,
क्या राम्रा मिलेका बस्ती, बयान कम्ति होला ।
।।२७।।
सैगडा, बिनोडा, खैगाड, सिस्याडी, गाँजरी,
पीनाकेश्वर दर्शन गरी, आउँकी घुमीफेरी ।
कुमरा, बगस्ती हुँदै, पिपलकोट सेरा,
बिनोडा पत्रकार बन्धु, झलक पाली मेरा ।
।।२८।।
कोई कोई बसाई सरेका छन् कञ्चनपुर कैलाली,
फर्केर जोरायल आउनु कहिल्यै कुनै पाली ।
धनरास छोडी तारा भट्ट, डिल्लीराज हाट,
रावतकट्टेका दामोदर, सुनीखोलाका भाट ।।
।।२९।।
शाहु, जोशी, ओली, थापा, खड्का, मडै, कामी,
बोहरा, बोगटी सँगै, ओझा, भट्ट, थामी ।
चार नम्बर वडाका बस्ती, थरीथरी जाती,
रावल, ध्याडी, पुनमगर, ओली, डाँगी कति ।
।।३०।।
जोरायल बासमती धान, सुन्तलाको चर्चा,
निरौली, गडसेरा पनि, यहि भित्रका गर्खा ।
अब चर्चा गडसेराको, अन्तिम निरौलीको,
ठूलाबडा नेतागण, मन्त्री विसौनीको ।
।।३१।।
नकुँराडा देउवाको बस्ती, विष्ट हरणानी,
चौकीमा शाहु, बडु, पाठक, विष्ट, भट्ट पनि ।
रजवार, बोगटी बस्ती, गडसेराका चौकी,
यसै ठाउँमा विद्युत खानी, थाहा पायाका छौकी ?
।।३२।।
खत्याडामा देउवा, शाहु, विक र ओखडा ,
कठायत र बोहरा बस्ती, क्या राम्रो बोकडा ।
भूलिखेत भट्टको बस्ती, चोखाल गाउँमा चोखाल,
मिल चल्छ विजुली बल्छ, चलाउदैनन् ओखल ।
।।३३।।
स्यालकोटीला, विषफारा र, फलेदाका गाउँ छन्,
ज्युन बस्दा पातली गाउँ, क्या रमाईला ठाउँ छन् !
धामीगाउँ मनोहर बजार, ओल्कट्टे सिमडा,
धौलाकाँडा खहडा र, नबिर्सिउँ धिमडा ।
।।३४।।
माननीय लेखराज भट्ट, स्यालकोटीला गाउँका,
टेकबहादुर चोखाल पनि, यहि चोखाल गाउँका ।
भामगाउँ हो सिद्घराज बस्ने, कुनै कालको हिरो,
छुट्यो बयान केही गाउँको, नमान्दिनु पिरो ।
।।३५।।
निरैपाल राजाको दरवार, नागी मल्ल पाला,
निरौली भण्डारी बस्ती, धेरै घरमा ताला !
डिल्लीराज भण्डारी लफ्टन, लडाईंका सिपालु,
समैजी ग्वाँसीको मन्दिर, रहेका कृपालु ।
।।३६।।
निरौली भागेश्वर मन्दिर, लाग्छ दशैं मेला,
वर्ष दिनमा भाइ बन्धुको, हुन्छ राम्रै भेला ।
गुँनड मालिका मन्दिर, वार्षिक पूजाआजा,
दोहोरी डेउडा र खेलमाल, खुबै बज्छन बाजा !
।।३७।।
गुनड, सिर्सि, जडेपानी, तेलपारा गावर,
रजवार, साउँद ओली, कामी, छेडाल र मगर ।
वडाको सरकारी मुकाम, ग्वानी खसरे हो,
सिरोडा, बसौटी राम्रो, साउँद बसेर हो ।
।।३८।।
बि.क. दमाई, मगर, खत्री, सार्की बोहराको,
निरौली भण्डारी तराई, बस्ती जेठाराको ।
सित्तोला सुनारी दह, अनरकट्टे गाउँछन्,
बोहरा, ताम्राकार, छेडाल, त्यसै ठाउँ रम्छन् ।
।।३९।।
पिपलतोला फाँट राम्रो, झूल्ने धानका बाला,
बिच फाँट गडसेरी गाड, बग्याको सलल !
केरा च्युरी आँप अदुवा, मह, खसी, बोका ,
लाखौंको व्यापार हुन्छ, सुन्तलाका डोका !
।।४०।।
ट्राउँट माछा, किवि खेती, गडसेराका ताजा,
सुन्तला, अदुवा, मह, केरा निरौलीका ।
तरकारीको पकेट क्षेत्र, छतीवन, घण्टेश्वर,
बास्मती धान पकेट क्षेत्र, जोरायलका सेरा ।
।।४१।।
तिहारमा देउँसी र भैलो, गला फूलकी माला,
दशैंमा बिनोडा जाँत, पिनाकेश्वर मेला ।
भिमशिला भिमछेदन शिला, पाण्डवकालीन काया,
ब्रह्मछडा छहरा र, रानी गुफा आहा ।
।।४२।।
कोही क्रिश्चियन, कोही हिन्दु–बौद्घ, धर्म थरी–थरी,
मन्दिर, गुम्बा, चर्चमा छन्, कृतन घरीघरी ।
कयौं डाक्टर कयौं वकिल, शिक्षक पत्रकार ,
ईन्जिनीयर, प्रध्यापक जन्मे, कोही चलाउँछन् कार ।
।।४३।।
दाइना दमाउ दुत्ते मेला, चडेउलाका थान,
भस्सिरे भस्साइका स्वर, रन्की जाँदा कान ।
ज्वालावान ताल केदार गुफा, गुवेणा मालिका,
सुन्दर शान्त सभ्य लाग्छ, जोरायल गाउँपालिका ।
।।४४।।
सडक सञ्जाल बाटोघाटो, बस्ती रमाइलाले,
जता जाउँ जे गरी बसुँ, फिर्छ सौंराइलाले ।
शहरका सुविधा सबै, पाइन्छन् जति खेर,
गरु लाग्छ शिवजीको, दर्शन एकै फेर ।
।।४५।।
खेलग्राम, अद्यौगिक ग्राम, बन्दै जोरायलमा,
बाटोघाटो पुलपुलेसा, सडक सञ्जालमा ।
पक्की पुल, सडक बनाउँ, विद्युत विस्तार यहाँ
जोरायलको विकासमा जुटौं, जो छौं जता जहाँ ।
।।४६।।
(लेखक जोरायल गाउँपालिका-३ सरस्वतीनगर (रावतकट्टे) घर भइ हाल श्री घण्टेश्वर माध्यमिक विद्यालय डोटीमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।)