डोटीका सहायक प्रमुख जिल्ला अधिकारी शर्माको काज फिर्ता, आउलान् त डोटी ?
रामहरि ओझा/ असार ३, डोटी ।
डोटीका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको काज फिर्ता भएको छ ।
गृह मन्त्रालयले गएको हप्ता सोमबार ६ उपसचिव, १६ अधिकृत सहित ३७ जना कर्मचारीहरुको काज फिर्ता गर्ने निर्णय गरेसंगै शर्माको पनि काज फिर्ता भएको हो । २०८० साल पुष ६ गतेदेखि बैतडीको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत शर्मालाई गृह मन्त्रालयले २०८१ साल कात्तिक ७ र ८ गते १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित २७ जना उपसचिवको सरुवा गर्दा डोटीको सहायक प्रमुख जिल्ला अधिकारी वनाएको थियो ।
डोटी सरुवा भएपनि शर्माले डोटीमा पाईला टेक्नु परेको थिएन । मन्त्रालयले उनलाई सरुवाकै क्रममा डोटीमा सहायक प्रमुख जिल्ला अधिकारीको दरवन्दीमा राखी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाज गर्ने गरि खटाएको थियो ।
शर्माले बैतडीबाट २०८१ साल कात्तिक १२ गते जिल्ला प्रशासन कार्यालय, बैतडीबाट डोटीका लागि रमाना बुझेका थिए । सोही मितिमा उनलाई जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लागि रमाना दिएको थियो ।
काज फिर्ता गर्ने गृहको निर्णय कार्यान्वयन भएमा सरुवा भएर पनि रमाना लिन समेत नआएका शर्मालाई डोटी आउनै पर्ने वाध्यता आईलाग्ने छ । तर, डोटीमा सरुवा भएर आउने कयौं अधिकृतहरु बाटोबाटै सरुवा भई फर्किने रोग भएका कारण शर्माका लागि पनि यो निर्णय वाध्यकारी नहुन सक्छ । यद्यपी अख्तियारले कर्मचारीको काज फिर्ता नभए भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७(क) अनुसारको कारवाहीको चेतावनी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी राखिएको र अनावश्यक काज खटाइएको भन्दै सात दिनभित्र व्यवस्थापन गर्न निर्देशन दिएपछि गृह मन्त्रालयले काजमा रहेका कर्मचारीलाई फिर्ता गरेको हो ।
यसअघि कर्मचारीहरुलाई अन्यत्र काजमा राखेर सेवा प्रवाहमा अवरोध भएकोले काजमा रहेका सवै कर्मचारीहरुलाई दरवन्दी भएको ठाउँमा फिर्ता पठाउनु पर्ने माग सहित अख्तियारमा उजुरी परेको थियो ।
को को परे अरु उपसचिव ?
गृह मन्त्रालयले काज फिर्ताको निर्णय गरेका अन्य पाँच उपसचिवको सूचीमा जिल्ला प्रशासन कार्यालय, रोल्पा दरवन्दी भई हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सन्ध्या सिग्देश पनि परेकी छन् ।
यस्तै, सल्यान जिल्ला प्रशासन कार्यालमा दरवन्दी भई हाल प्राधिकरणमै कार्यरत ज्ञाननाथ ढकाल, दैलेख जिल्ला प्रशासन कार्यालयमा दरवन्दी भई प्राधिकरणमै काजमा रहेका रामबहादुर केसी र जिल्ला प्रशासन कार्यालय बैतडीमा दरवन्दी भई हाल प्राधिकरणमै कार्यरत रहेका बेदनिधि खनालको पनि काज फिर्ता भएको छ ।
जिल्ला प्रशासन कार्यालय, जुम्लामा दरवन्दी भई हाल कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत नारायण खतिवडाको पनि काज फिर्ता भएको छ ।