वडा अध्यक्ष मलासीले गरे २१ औं पटक रक्तदान
मंसिर १८, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले २१ औं पटक रक्तदान गरेका छन् ।
मलासीले २१ औं पटकमा विहीबार रक्तअल्पताले तड्पिरहेकी दिपायल सिलगढी नगरपालिक-५, निवासी नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा केन्द्रिय विभागीय सदस्य कुमार सिंह टेलरकी श्रीमती कुसुम टेलरलाई रक्तदान गरेका छन् । जिल्ला अस्पताल डोटीमा दुई दिनदेखि भर्ना भएर उपचाररत टेलरलाई उनलेे `ओ´ पोजेटिभ रगत दान गरेका हुन् ।
बिरामीको रक्त समूह मिल्ने भएमा आफैं रक्तदान गर्ने र नभए सुरक्षाकर्मी लगाएत अन्य रक्तदाता सङ्ग समन्वय गरिदिने भएकोले जिल्लामा बिरामीलाई रगतको आवश्यकता पर्ने बित्तिकै वडा अध्यक्ष मलासीलाई सम्पर्क गर्ने गरिन्छ ।
जिल्ला अस्पतालमा उपचाररत बिरामीको रगतमा हेमोग्लोबिनको मात्रा निकै कम भएकोले अहिले रगत दिएर उपचार भैरहेको र थप उपचारका लागि अन्य जाँच पनि भैरहेको जिल्ला अस्पताल डोटीका एमडिजीपी डाक्टर श्रवण कुमार यादवले बताए ।
बिरामी टेलरलाई दुई पिन्ट रगत आवश्यक रहेकोमा वडा अध्यक्ष मलासीले १ पिन्ट रगत दिएको र थप १ पिन्ट रगत आवश्यक रहेको जिल्ला अस्पताल डोटीमा कार्यरत ल्याब असिस्टेन्ट हरिष खड्काले बताए ।