डोटीका तीन स्थानीय तहमा विधुतिय सुशासन प्रविधि हस्तान्तरण
झलक पाली
भाद्र २३, डोटी ।
डोटीका तीन वटा स्थानीय तहहरुमा विधुतिय सुशासन प्रविधि हस्तान्तरण गरिएको छ ।
जोरायल गाउँपालिका, के.आई.सिंह गाउँपालिका, शिखर नगरपालिका तथा सम विकास केन्द्र (ईडीसी) नेपाल डोटी र सेल एप प्रा.ली. बिच गत वर्ष भएको त्रिपक्षिय सम्झौता बमोजिम शुरु गरिएको स्मार्ट पालिकाका लागि विधुतिय सुशासनको एप निर्माण गरि डिजीटल माध्यममार्फत नै हस्तान्तरण गरिएको हो ।
इडिसीले सञ्चालन गर्दै आएको परिवर्तन परियोजना अन्तरगत नागरिक र नागरिक समाज सँस्थाहरुको क्षमता विकास गर्दै सुशासनका हरेक प्रक्रियामा उनिहरुको अर्थपूर्ण सहभागिता बृद्धि गरी स्थानीय तहको सुशासन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्धेश्यले प्रविधीको शुरुवात गरिएको इडिसिका जिल्ला संयोजक महेश परियारले बताए ।
भद्र १६ गते शिखर नगरपालिका, भाद्र १८ गते जोरायल गाउँपालिका र भाद्र २३ मंगलबार के.आई.सिंह गाउँपालिकामा उक्त प्रविधि हस्तान्तरण गरिएको परियारले बताए ।
सन् २०१९ मा तीन वटै पालिकालाई विधुतिय सुशासन प्रविधिमार्फत स्मार्टपालिकाको रुपमा विकसित गर्न भएको त्रिपक्षिय सम्झौता बमोजिम तीन वटै स्थानीय तहको डिजीटल प्रोफायल, ई–गर्भनेन्स ड्यासबोर्ड र मोबाईल एप्सको कार्य सम्पन्न गरी कार्यान्वयनका लागि अनौपचारिक रुपमा हस्तान्तरण गरिएको जनाईएको छ ।
सम्बन्धीत स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सूचना प्रवृधि अधिकृत लगायत इडीसीका कर्मचारीहरुको सहभागितामा डिजीटल प्रोफायल, ई–गर्भनेन्स ड्यास बोर्ड र मोबाईल एप्सको प्रस्तुतीकरणसंगै डिजीटल प्रविधिमार्फत हस्तान्तरण गरिएको हो ।
यूरोपियन यूनिएन, डिसीएको आर्थिक सहयोग र स्थानीय तहहरुको सहकार्यमासम विकास केन्द्र नेपालले ति तीन वटै स्थानीय तहहरुमा गत वर्षदेखि परिवर्तन परियोजना संचालन गर्दै आएको छ ।