जब म आमा बने
– ममता भट्ट
रातीको ४ बज्नै लागेको थियो। यसो हेरे उनी आफ्नो ठाउँमा सुतिरहेकी थिइन्। विस्तारै पुरै आँखा खोल्दा भोक लागेछ, आफ्नो बुढिऔँला चुस्दै थिइन् उनी। जुरुक्क उठ्न खोज्दै थिए, फेरि निदाएछु। यतिकैमा बिहानको ४ बजेर ४८ मिनेट भइसकेछ।
हिजो रातभरी राम्रोसँग सुत्न पनि पाइएको थिएन। प्रायः जसो राती उनकै हेरचाहमा बित्ने गर्छ। जब रातीको ३÷४ बज्छ अनि उनी सुत्छिन र मलाई पनि मिठो निद्रा आउँछ।
तर, त्यो निन्द्रालाई त नचाहेरै पनि भगाउनु पर्नेहुन्छ। बिहानै अफिस जानुपर्छ । एकातिर उनलाई भोक लागेको हुन्छ, अर्कोतिर अफिस ढिला भइसकेको हुन्छ। रेडियोमा काम गर्ने मान्छेले न त एकछिनपछि जान्छु भन्न मिल्ने ! समय आफ्नै रफ्तारमा हिडिरहेको हुन्छ।
न त समयलाई रोक्न मिल्ने ! समय अनुसार आफुलाई चलाउन सक्नैपर्छ। ब्रम्ह मुर्हतमै ओछ्यानबाट जुरुक्क उठेर बाथरुमतिर हानिन्छु। नित्यकर्म भ्याएर हतार–हतार रेडियोतिर दौडिन्छु। रेडियोको प्रातकालिन डिउटी प्रायः हरेक दिन मैले निभाउनु पर्छ। अचेल बिहानको ४ बजेर ५७ मिनेटमा रेडियो खुल्छ। रेडियोको डिउटी सकेर फेरी कोठा फिर्ता हुन्छु।
अनि त्यतिबेला पनि उनी मस्त सुतेकै हुन्छिन। हत्तपत्त उनलाई बिउँझाउछु। निद्रामा व्यवधान गरेपछि बल्लतल्ल उनी बिउझन्छिन। सायद मस्त निद्रा खल्बल्याएकोमा उनी म प्रति आक्रोशमा हुन्छिन होला, अपितु उनी मेरो मुखमा हेरेर निर्दोष हाँसो हाँसिरहेकी हुन्छिन। साँच्चै भनु भने त्यहि हाँसोमा म हराउँछु। त्यो हाँसोले मलाई जिन्दगीमा ठुलो खुसी दिन्छ।
त्यहि खुसी पाउनका लागि हो मैले मस्त निदाएकी उनको निद्रामा दखल पुगाउने। बिहानीको मस्त निद्रा बिथोले पनि उनी मुस्कुराउँदा मलाई असिम आनन्द प्राप्त हुन्छ। सोच्छु, अब म पनि आमाको परिबन्धभित्र रमाउँदैछु।
मेरो पहिलेको र अहिलेको दैनिकी फेरिएको छ। धेरै सुत्ने मान्छे बेलुकी ८ बजे सुतेपछि सिधै बिहान हतारमा उठेर मुखपनि नधोएर अफिस दगुर्ने दैनिकी रातभरी उनकै हेरचाहाँ र मायाँमा बाधिएर पनि पहिलेको भन्दा राम्रो चलेको छ।
रातभर आफ्नो सन्तानको सेवा र ममतामा समर्पित यी आँखा दिउँसो भने आराम खोज्छन् । तर, बिहान ४ः४५ देखि दगुर्ने दैनिकी दिनभरि यताउता गर्दा र उनकै मायाँ र आफ्नो नियमित काममा चल्छ। कामकाजी हुनुको अनुभव त मैले जिम्मेवार भएदेखि सम्हाल्दै आएकी हुँ। आमा भएको नविन अनुभव हो यो।
पहिलाको भन्दा फरक चल्दैछ मेरो दैनिकी र खुसि पनि छ यसमा निकै। दैनिकी जति ब्यस्त भए पनि मनभरी उनकै माया र हेरचाहमा आफुलाई समर्पित गर्न पाउँदा उल्लासमय दैनिकी व्यतित गरिरहेकी छु। एकदिन लुगा धुँदै गर्दा मलाई एकजना भाउजु पर्नेले सोध्नुभयो,–“तिमीलाई यसरी दिशा हातले छुदाँ, धुदाँ घिन लाग्दैन रु” मैले हाँस्दै भने ‘अहँ पटक्कै लाग्दैन ।’
यहि प्रसंगले मलाई आफ्नो विगतका घटनाक्रम याद आयो। एकपटक दाईको छोराले दिशा गरेको रहेछ। उसलाई बोक्दा मेरो हातभरी लाग्यो। मलाई दिशा यति गन्हायो की मैले उल्टी नै गरे। भन्नाले मलाई धेरै घीन लाग्यो। अनि एकदिन यात्रा गर्दै गर्दा दुई÷तीन जना आमाहरु आफ्नो साना नानीबाबु लिएर हिन्दै थिए।
एक जना महिलाको बच्चाले बान्ता गरिहाल्यो अनि उनले हात थापिन्। यस्तो दृश्य देख्दा मलाइ निकै अनौठो लाग्यो। छाद जस्तो कुरा कसरी हातमा थापेको होला भनेर मनमनै सोच्दै थिए। तर, मैले त्यो ममतालाई कहाँ बुझेकी थिए र ? बच्चाले छाँदे, पादे, जे गरेपनि घीन लागि हाल्थ्यो। तर, समय ठ्याक्कै उल्टो भयो।
विवाहपछि आमा हुने सौभाग्य मैले पनि पाएँ। पेटमा बच्चा हुँदा अनौठो लाग्थ्यो। अनि घरिघरि लात्ताले हान्दा त झन म झसंग हुन्थे। कहिलेकाहीँ उसले खुट्टाले नहान्दा मलाई टेन्सन हुन्थ्यो। निकै पानी खान्थे। अनि उसको कार्य निरन्तर नै चल्थ्यो।
एक दिनभरीको कठोर प्रसव वेदनापछि जब बच्चाले रोएको मेरो कानमा गुञ्जीयो तब मेरो त्यो दुःखाइ र भोगाइ एकक्षणमै हरायो। र संसारको सारा खुसी म संगै छ, मलाइ महशुस भयो। मातृत्वको असिम आनन्दका अगाडी प्रसव वेदना निकै क्षणिक हो जस्तो अनुभुती मैले पहिलो पटक आमा बन्दा गरे। सृष्टिकर्ता नारीले शिशु जन्माएको अवसर दुनियाँमा सबैभन्दा महान् क्षण हो भनेर विद्धानहरुले भनेको त्यत्तिकै रहेनछन्।
जतिखेर मैले उनलाइ यो धर्तीमा पाइला टेकाउनका लागी निकै संघर्ष गर्नु परेको थियो। अझ भनुँ निरन्तर काममा खटिने कामकाजी जिम्मेवारीसँगै आमा बन्ने गहन कर्तत्य निर्वाह गरिरहेकी थिए, तब मैले एक पटक पनि बच्चालाई सम्झिएन।
मात्र मेरो शारिरिक दुःखाईतिर ध्यान केन्द्रित हुने गर्दथ्यो। बच्चाले रोएको मात्रै सुनाएर उनको बाबाको हातमा दिएछ। मलाई बेडमा सारेपछि बल्ल मैले बच्चालाई देखे, अनि मात्र मैले उनको अनुहार चिहाएर राम्ररी हेरे। उनलाई पहिलो पटक धर्तीमा स्वागतगर्दै काखमा समातेर दुध खुवाउन थाले। अनि म भित्रबाट कता–कता आफु पनि आमा भएको अनुभुति हुनथाल्यो। मेरो समुल मातृत्व पग्लिएर पोखिन थाल्यो।
दिनहरु बित्दै छन्। उनले दिनभरी नै आँची गरिरहन्छिन। म उनको आँची पुछिरहन्छु। कतै चिसो पो लागिहाल्छ की ? भनेर छिन–छिनमा टालो फेरी रहन्छु। बच्चाको दिसा र पिसाब गरेको लुगा फेर्दाफेर्दै दिनरात बित्न थालेका छन, आजभोली।
मलाई आफ्नो बच्चाको दिशा किन हो पटक्कै घिन लाग्दैन। कसरी यो भयो मलाई अचम्म लाग्छ। अरुको बच्चा र आफ्नो बच्चाको दिशा त दिशा नै हो नि ! तर, अरुको घीन लाग्ने आफ्नो नलाग्ने कस्तो अनौठो अनुभुती हो यो ? उनको जिउमा लगाएको तेल अरुलाई सुत्केरी गन्हाउछ रे ! तर मलाई त बासना आउँछ।
वास्तवमै यो एउटा अचम्मको सम्बन्ध र अनुभुती रहेछ। पहिलो पटक आमा हुनेहरुका लागि यो विलकुल नयाँ अनुभव हो। लिंग विभेदको व्यवहार म आफू छोरी हुँदा भोगेकाले म छोरीको भावनाप्रति बढी संवेदनशील थिएँ।
दाजुभाइको माझमा हुर्केकाले मलाई समाजमा रहेको छोराप्रतिको अनुराग बुझ्न नारीवादका ठेली पढ्नुपर्ने आवश्यकता थिएन। अपेक्षाकृत खुकुलो पारिवारिक ‘स्पेस’मा हुर्केको अनुभव रहे पनि वयस्क हुँदा जब मैले आफ्नो खुम्चिँदै गरेको ‘स्पेस’का लागि आवाज उठाएँ, लाग्यो घरभित्रको विभेद निराकरण गर्न सकियो भने घरबाहिरको संसारमा स्वतन्त्र उडान भर्न सजिलो हुन्छ।
मलाई लाग्छ, हाम्रो समाजका बहुसंख्यक महिलामा रहेको पुत्रलालसा प्राकृतिक नभएर लिंग उपासनाबाट निर्मित सोचको परिणाम हो। किनकि जहाँ महिलाको आकांक्षा अमान्य हुन्छ, त्यहाँ आमा हुने वा नहुने रोजाइ महिलाको हुँदैन। र पितृसत्तात्मक व्यवस्थामा मातृत्व अनुभवभन्दा पनि छोरा जन्माउने संस्थाका रूपमा स्थापित भएको हुनाले छोराको जन्मको उत्सव हुन्छ। छोरा जन्मिँदा मातृत्व सार्थक मानिन्छ।
झण्डै एक दशकको मेरो पत्रकारिता अनुभवले भन्छ–जबसम्म राज्यव्यवस्थामा महिलाका मुद्दाले प्राथमिकतामा पाउँदैनन्, महिलालाई समान दर्जाको नागरिक मानिँदैन, भयमुक्त र हिंसामुक्त वातावरण बनाउन पहल हुँदैन, राजनीतिमा सम्मानपूर्ण सहभागिता हुँदैन, तबसम्म छोरीको जन्मलाई, ‘हारेको कर्म’ भन्नेहरूको मानसिकता परिवर्तन हुँदैन।
छोरीको जन्मले घरमा जति उत्साह र उमंग भित्रिएको थियो, छोरी र मलाई भेट्न आउने केही आफन्तका सान्त्वनाका शब्द त्यति नै मुटु कोपर्ने खालका थिए। ‘यसपालि घरमा लक्ष्मी आइन् । पीर नगर्नु, अर्को पाली छोरा नै हुन्छ।’
उसो त मैले बच्चा पाउनु अघिनै ‘छोरा पाउँछेस’ भनेर अनुमान गर्नेहरु पनि थिए। कतिपयले तैले छोरा पाउँछेस भनेर अडकलबाजी सुनाउँदा झनक्क रिस उठथ्यो मलाई। तर, उनीहरुको कुराको ठाडै विरोध गरिनँ।
म मनमनै सोच्थे, पहिलो पटक आमा बन्नुपर्दा मैले छोरी पाउन पाए हुन्थ्यो। मलाई छोरीकै आमा हुनुमा गर्व छ। म पहिलो पटक छोरीकी आमा बन्न पाउँदा हर्षविभोर छु। मेरो घर परिवारका सबैमा मैले छोरीकी आमा बन्दा पनि खुसी र उमंगनै देखेकी छु।
जीवनको आरम्भ जन्मबाट हुन्छ। जन्म कुनै यन्त्रबाट हुँदैन। शरीरमा प्राण भर्ने शक्ति आमामा मात्र हुन्छ। आफ्नो प्राण आहुति दिएर आमा सन्तानको जीवन जोगाउँछिन्। सन्तानलाई चरित्रवान्, गुणवान् तथा नैतिक बनाउन सर्वाधिक योगदान आमाको हुन्छ। आमाको त्याग, तपस्या तथा मायाको तुलनामा पृथ्वीमा अर्को उदाहरण पाइन्न।
संसारका हरेक आमाहरुलाई सायद यस्तै लाग्छ होला आफ्ना सन्तानप्रति। जस्तोसुकै तनाव भएपनि बच्चाको मुहारमा झल्केको त्यो बालापन र उसको हाँसो देखेपछि मन प्रफुल्लित हुँदो रहेछ। म छोरीको मुहारमा सदैव हाँसो र उमंग देख्न चाहन्छु। छोरीलाई सक्दो शुखदिने प्रयत्नशील रहिरहनेछु।
मेरी सानी छोरीले भर्खरै हाँस्न सुरु गरेकी छिन्। यो त झन कस्तो रमाइलो कुरा। अनि म सम्झन्छु मेरी आमालाई। मैले मेरो बच्चालाई जस्तो माया गर्छु, उनी विरामी हुँदा जसरी रातभर अनिदो हुन्छु, मेरी आमालाई पनि मैले यस्तै दुःख दिएकी हुनसक्छु मैले। मेरी आमाले अहिलेसम्म मलाई यो वास्तविकता भन्नुभएको थिएन।
यहि त मातृत्वको सबैभन्दा बैभवशाली यथार्तता हो। आज म आफै जब आमा बने अनि बुझ्दैछु आमाको गरिमा, ममता र त्याग। मातृत्वको यो मेरो पहिलो अनुभवले मलाई जीवनबोध हुन थालेको छ। जीवनको सार्थकता खोज्न थालेकी छु मैले। जीवनलाई बुझ्ने गहिरो अनुभव मलाई मातृत्वले प्रदान गर्न थालेको छ।
मेरी छोरी ४५ दिनको हुँदा उनलाई खोप लगाउन खोप केन्द्र पुगाए। पहिलो पटक खोप लगाउदा उनको रुवाई सहन नसकेर मैले आँशु खसाले। उनलाई लगाएको खोपले मलाई चसक्क दुख्यो। उनले एक दिन खाना कम खाँदा मन भक्कानिन्छ।
उनलाई सानो बिरामी हुदाँ आफै बिरामी भएको महशुस हुन्छ मलाई। आखिर नहोस पनि कसरीरु जब उनीनै मेरो बाँच्ने साहारा बनिरहेकी छन् अहिले। त्यसैले आमा शब्द नै महान छ। संसारका आमाहरु प्रति मेरो नमन !
(लेखक डडेल्धुराको सामुदायिक रेडियो अमरगढीमा कार्यरत हुनुहुन्छ।)